महाकालीको झोलुङ्गे पुल मर्मतका लागि बजेटको व्यवस्था मिलाउँछु : मुख्यमन्त्री भट्ट — OSNepal

महाकालीको झोलुङ्गे पुल मर्मतका लागि बजेटको व्यवस्था मिलाउँछु : मुख्यमन्त्री भट्ट

LC (KTM) September 25, 2021 0

कञ्चनपुर, ९ असोज – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जीर्ण अवस्थामा रहेको महाकाली नदीमाथिको झोलुङ्गे पुल मर्मतका लागि बजेटको व्यवस्था मिलाइने बताउनुभएको छ । आज दोधारा चाँदनी नगरपालिकामा भइरहेका विकास निर्माण कामको अवलोकन गर्न आइपुग्नुभएका मुख्यमन्त्री भट्टले नगरपालिकाका बासिन्दाको एकमात्रै महाकाली नदीमाथिको आवतजावतमा सहजता प्रदान गर्न बनाइएको झोलुङ्गे पुल मर्मतसम्भारका लागि छिट्टै बजेटको व्यवस्था मिलाइने बताउनुभयो । सीमा क्षेत्रका जनताको जीवनस्तरलाई सहज बनाउनका लागि विकास निर्माणका काम अगाडि बढाइएको बताउनुभयो ।

महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको अवलोकन गर्दै उहाँले पुल निर्माण निर्धारित समयमै पूरा गर्न ठेकेदारलाई निर्देशन दिनुभयो । पुल निर्माणमा आइपर्ने समस्या समाधान गर्नका लागि सहयोग गर्न तत्पर रहेको बताउनुभयो । पुल जोड्ने चारलेनको सडक गड्डाचौकीसम्म मात्रै निर्माण हुने भए पनि उक्त सडक चिसापानीसम्म विस्तारका लागि प्रदेश सरकारले पहल गर्ने बताउनुभयो ।

मुख्यमन्त्री भट्टसहित भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरी र राज्यमन्त्री मानबहादुर सुनारलगायतले निर्माणाधीन चार लेनको सडक, पक्की पुल, कृषि कार्यक्रमअन्तर्गत गरिएको मसला खेती, सुक्खा बन्दरगाहका लागि प्रस्तावित मायापुरी र गौरीशङ्कर सामुदायिक वन क्षेत्रसँगै महाकाली नदीमा निर्माण गरिएको तटबन्धको अवस्थाका बारेमा अवलोकन गर्नुभएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर