यसवर्ष बिक्री भएनन् दुर्गा मूर्ति, कालिगढकाे मिहेनत खेर गयाे — OSNepal

यसवर्ष बिक्री भएनन् दुर्गा मूर्ति, कालिगढकाे मिहेनत खेर गयाे

LC (KTM) October 09, 2021 0

बुटवल, २३ असोज- रुपन्देहीको मायादेवी-७ का गोवरी केवटले यसपाली सोंचेजस्तो दुर्गाको मूर्ति बेच्न सकेनन् । केवटकाे परिवारसहित अन्य कामदार मिलेर दशैँका लागि भन्दै दुर्गासहित अन्य भगवानका मूर्ति बनाएपनि साेचे जस्ताे बिक्री नहुँदा मेहनत खेर गएकाे उनले सुनाए ।

‘कोरोनाका कारण यसपाली दुर्गाकाे मूर्ति किन्न ग्राहक खासै आएनन्, मिहेनत त्यत्तिकै खेर गयो’, केवटले भने, ‘विगतमा जस्तै सामूहिक रुपमा दुर्गा पूजा समारोह हुन्छ र मूर्तिहरू बिक्री पनि हुन्छन् भन्ने साेचेर बनाइयाे काेही किन्न आउँदैनन् ।’

माटोसहित विभिन्न सामग्री प्रयोग गरी बनाइने देवीसहित अन्य भगवानका मूर्तिहरू घटस्थापनाका दिनदेखि शहर बजार र ग्रामीण क्षेत्रका सामूहिक दुर्गा पूजा समारोहमा पुजनको लागि राखिन्छ । तर कोरोना महामारीले गर्दा यसवर्ष धेरै दुर्गा मन्दिरहरूमा सामूहिक पूजा समारोह नहुँदा सोंचेजस्तो बिक्री गर्न नसकिएको केवटले बताए ।

मायादेवीका गोबरी केवट पनि १२ वर्षदेखि देवीका मूर्ति बनाई बिक्री गर्दै आएका छन् । उनले भारत आनन्दनगरमा पाँच वर्ष माटोको प्रयोग गरी देवीकाे मूर्ति बनाउन सिकेपछि नेपालमा आएर देवी लगायतकाे मूर्ति बनाएर बिक्री थाले । ५१ वर्षीय केवटले श्रीमती र दुई छोराका साथ ५० भन्दा बढी दुर्गा मूर्ति बनाए तर २०-२२ वटामा मात्रै बिक्री भएको बताए ।

यस पटकको दशैँमा हुने सामूहिक दुर्गा पूजाका लागि उनले जेठ महिनादेखि नै मूर्ति बनाउन सुरु गरेका थिए । एउटै मूर्ति १५ हजार रुपैयाँ सम्ममा बिक्री गरेको केवटले सुनाए । एक सेट मूर्तिमा दुर्गा, देवीसहित भगवान् गणेश, कार्तिके, सरस्वती, लक्ष्मी, बाघ र राक्षसलाई समावेश गरिएको हुन्छ ।

मूर्तिका लागि बाँस, माटो, पराल, सुतरी धागो र काँटी प्रयोग हुन्छ । दिनमा १२ घण्टा र रातमा समेत काम गरेकोमा मेहनत खेर जाँदा दुःख लागेको उनले बताए । दुई वर्ष अघिसम्म मूर्ति बेचेरै तीनलाख बढी कमाएका केवटले पोहोरसाल र यसवर्ष खर्च पनि उठाउन नसकेको बताए ।

रूपन्देहीको मर्चवार, बेथरीलगायतका धेरै क्षेत्रमा कालीगढहरूले सयौं दुर्गा मूर्ति बनाएका छन् । बिगतमा नेपालमा मूर्ति कम बन्दा भारतबाट ल्याइन्थ्यो । अहिले नेपालमै बन्न थालेपछि आयातमा केही कमी आएको छ । कोरोनाको कारणले भारतको नाका बन्द हुँदा उताबाट यसपल्ट दुर्गा मूर्ति भित्रिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर