तराईमा सबैको साझा बन्दै दसैं — OSNepal

तराईमा सबैको साझा बन्दै दसैं

LC (KTM) October 13, 2021 0

महोत्तरी, २६ असोज – महोत्तरी पशुपतिनगरका धनीराम महतो दसैंलाई पनि छठ जस्तै रमाइलो गरी मनाउँछन् । पहिले–पहिले छठलाई विशेष पर्वका रुपमा मनाउने उनी आजकाल दसंैका लागि पनि विशेष योजना बनाउँछन् । आफू भन्दा ठुलाबाट दसैंमा टीका थापेर आशिष लिने रिवाज महतोलाई विशेष लाग्ने गर्छ ।

महतो जस्तै बर्दिबास पथलैयाका रामसेवकले पनि दसैं फरक तरिकाले मनाउने तयारी गरेका छन् । दसैं मनाउनेगरी उनको परिवारका सबै सदस्य घरमा भेला पनि भइसकेका छन् । सबैजना एकै ठाउँमा भेला हुने भएकाले उनले यो पर्व विशेष लाग्ने गर्छ । पहाडे तथा तराइबासीको सँस्कृतिहरूको अन्तरघुलनले अहिले हरेक चाडपर्व सबैको साझा बन्न थालेको उनको अनुभव छ । अघिल्लो वर्षको दसैं कोरोना माहामारीका कारण निकै खल्लो बन्यो । मन्दिर तथा शक्तिपीठहरूमा पूजाआजा बन्द भएको र छरछिमेक, नातेदारहरूको घरमा समेत टीका थाप्न जान नपाएका कारण देशभर नै यसवर्षको दसैं विशेष बनेको छ ।

मुस्लिम समुदायमा पनि दसैं रौनक
मुस्लिम समुदायमा पनि दसैंको रौनक छ । मुस्लिमहरूको बाहुल्यता रहेको महोत्तरीस्थित सम्सी गाउँपालिकामा छिमेकका हिन्दुहरूले मनाउने पर्वमा आफुहरू पनि सहभागी बन्ने गरेको मोहम्मद फरान बताउँछन् । ‘हामी निराहार बसेर पर्व मनाउछौं तर दसैंमा मीठो–मीठो खाएर मनाइन्छ । यसैमा त छ मज्जा ।’ उनी भन्छन् ।

तराईमा छठ पर्वको अली बढी नै महत्व हुने भए पनि पशुपतीनगर, किसाननगर, पथलैयाका बासिन्दा दसैं पनि छठ जत्तिकै धुमधामका साथ मनाउँछन् । उनीहरुले यस वर्ष घटस्थापनाका दिन दुर्गा मन्दिरमा कलश यात्रा समेत गरेका छन् ।

पहिला र अहिलेको तुलनामा तराइमा पर्व मनाउने तरिका फरक बन्दै गएको धेरैको बुझाइ छ । पहिले तराईमा दसैंको महत्व खासै नहुने भए पनि अहिले छठभन्दा पनि दसैंको महत्व बढी हुने गरेको धेरैको बुझाइ छ ।

दसैंलाई मध्यनजर गर्दै सुरक्षाकर्मीहरूले समेत जिल्लामा सुरक्षित वातावरण सुनिश्चित गर्न योजना बनाएका छन् । दसै अवधीभर कुनै अप्रिय घटना रोक्न हरेक पालिकामा हेल्पडेस्क र सुरक्षाकर्मीहरुलाई थप संवेदनशील बन्न निर्देश दिएको महोत्तरीका प्रवक्ता दिनेश आचार्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर