हराउदै दसैँको मौलिकता र रौनकता : न पिङ हाल्नेछन् न खेल्ने — OSNepal

हराउदै दसैँको मौलिकता र रौनकता : न पिङ हाल्नेछन् न खेल्ने

LC (KTM) October 16, 2021 0

तनहुँ, ३० असोज- दसैँ तिहारको विशेषतामा पर्दछ, पिङ । पिङले दसैँको मौलिकता र रौनकतालाई थप्छ । एक दशकअगाडिसम्म भञ्ज्याङ, चौतारी, गाउँ सहर जताततै दसैँअगावै लिंगे पिङ, पिर्के पिङ, जाते पिङ, लठ्ठे पिङ हालिन्थ्यो । र चचहुई गर्दै पिङमा मच्चिँदै खेल्नेको भिड देखिन्थ्यो ।

बुढापाकाले दसैँको दिन त एक पटक धर्ती छोड्नलाई पनि पिङ खेल्नुपर्छ भनेर भन्थे । बुढापाकाको भनाइलाई सार्थक बनाउन युवापुस्ताले गाउँ गाउँमा पिङ हाल्ने प्रचलन थियो । एक दशकयता वर्षेनी दसैँ तिहारमा पिङ हाल्ने प्रचलन घट्दै गएको छ । कारण गाउँघरमा न पिङ हाल्ने युवा छन्, न मच्चिँदै खेल्नेहरू ।

वर्षेनी पिर्के पिङमा मच्चिने राईपुरस्थित भुस्नापुर फुलपाती डाँडा यसपालि शुनसान बन्यो । केही वर्षदेखि यहाँ पिङ हाल्न छाडिएको छ । गाउँ बसाइसराइले रित्तिँदो छ । बुढापाका मात्रै छन् गाउँमा । युवा सबै सहर बजार र विदेशमा छन् । गाउँमा पिङ नहुँदा दसैँ खल्लो महसुस हुने ७४ वर्षीय चित्रबहादुर हमाल बताउँछन् । उनी भन्छन्, ‘पिङ नभएपछि त दसैँ दसैँ जस्तो नहुँदो रैछ । पिङ हँुदा कति रमाइलो हुन्थ्यो । अहिले खल्लो भइराछ, पिङ नहुँदा दसैँको महत्व कम भएको छ ।’

उनका अनुसार राईपुरका सबैजसो गाउँमा पिर्के पिङ हालिन्थ्यो । पिर्के पिङ नहालेको गाउँमा लिंगे र जाते पिङ हुन्थे । हरेकजसो घरको आँगनमा बाबियोको लठ्ठाले हालिएको पिङमा केटाकेटी झुम्मिएर दसैँदेखि तिहारसम्म खेलिरहन्थे । त्यो दृश्य अहिले एकादेशको कथा जस्तै बनेको छ । शुक्लागण्डकी–११ राईपुरको थामडाँडामा मात्रै पिर्के पिङ हालिएको छ । अहिले गाउँमा युवा नहुँदा पिङ हाल्न कठिन भएको हमालको भनाइ छ ।

गाउँमा युवा नभएपछि शुक्लागण्डकी–१० कोलम्फेको जनचेतना युवा क्लबले ज्यालामा कामदार खटाएर पिङ हालेको छ । २५ हजार रुपैयाँ खर्चेर पिङ हालेको क्लबका सचिव अभिषेक थापाले बताए । ‘पछिल्लो समय पिङ हाल्ने संस्कृति हराउँदै गइरहेको छ । हामीले जगेर्ना गर्न आर्थिक संकलन गरेर ज्यालामा कामदार खटाएर पिङ हाल्यौँ’, उनले भने । जंगलबाट काठ काटेर ल्याएर पिङ ठड्याउनलाई धेरै जनशक्ति चाहिन्छ । तर, बसाइसराइ, वैदेशिक रोजगारका कारण गाउँ सुनसान बनिरहेको छ ।

बडो कष्टकरपूर्ण तरिकाले जिल्लाका केही स्थानमा यसपालिको दसैँमा संस्कृति जोगाउनकै निम्ति पिर्के पिङ हालिएको छ । एकाध स्थानमा लिंगे पिङ ठडिएको छ । जाते पिङ भने लोप भइसक्यो । संस्कृति जोगाउनैका निम्ति हालिएका पिङ हाल्ने मात्रै नभएर खेल्नेको समेत कमि छ । खेल्न आउनेको प्रतिक्षामा बसेका छन्, पिर्के र लिंगे पिङ ।

गाउँमा पिङ हालेपनि पहिला जस्तो पिङ खेल्नेहरू नआएको शुक्लागण्डकी–३ कालीम¥याङका वीरेन्द्र थापाले बताए । ‘संस्कृति जोगाउनलाई पिङ हालेका छौँ । छिटफुट मात्र पिङ खेल्न आएका छन् । पहिला जस्तो माहोल छैन । गाउँ गाउँबाट पिङ खेल्न आउनेको भिड हुँदैन आजभोलि’, उनले भने । मेला महोत्सवका पिङले गाउँका पिङमा आकर्षण कम गराइदिएको उनको भनाइ छ । आधुनिकतामा रमाउँदा युवापुस्ताले मौलिक संस्कृतिलाई बिर्सेको थापाको भनाई छ ।

पर्यटकीय नगरी बन्दीपुरमा लिंगे पिङ हालिएको छ । टुँडिखेलमा एउटा लिंगे पिङ र अर्को रुखमा लठ्ठा हालेर लठ्ठे पिङ बनाइएको पर्यटन व्यवसायी विपिन प्रधानले जानकारी दिए । प्रधानका अनुसार पिङ खेल्नेको भिड लागेको छ ।

‘ंसंस्कृतिको जगेर्नासँगै पर्यटकीयलाई आकर्षित गर्न पिङ हालेका छौँ । राति पनि बत्ति राखिएको छ । यतिबेला पर्यटक बढेका छन् । त्यसैले पनि बिहानदेखि बेलुकासम्म पिङ खेल्नलाई लाइन हुन्छ’, उनले भने । पिङ हाल्ने र खेल्ने संस्कृति मात्रै होइन समग्र दसैँको मौलिकता र रौनकतासमेत गुम्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर