पाँच वर्षअघि सुरु गरिएको गल्छी–रसुवागढी सडकको काम ४५ प्रतिशत सम्पन्न — OSNepal

पाँच वर्षअघि सुरु गरिएको गल्छी–रसुवागढी सडकको काम ४५ प्रतिशत सम्पन्न

LC (KTM) October 20, 2021 0

रसुवा, ३ कात्तिक-गल्छी–त्रिशुली–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकको ४५ प्रतिशत काम सम्पन्न भएको छ । पाँच वर्षअघि सडक निर्माणसहित मर्मतको काम सुरु गरिएको सडकको हालसम्म ४५ प्रतिशत काम सम्पन्न भएको हो । २०७२ मा भारतले लगाएको अघोषित नाकाबन्दीको समयमा भारतको एकाधिकार व्यापार हटाउन उत्तर चीनसँग पनि व्यापार बढाउन तत्कालीन मन्त्रीपरिषदले गल्छी त्रिशुली मैलुङ रसुवागढी सडक स्तरोन्नति गर्ने निर्णय गरेको थियो ।

२०७३ देखि ५ मंसिर २०७८ सम्म ५ वर्षमा गल्छीदेखि रसुवागढीसम्मको ८२ किलोमिटर सडक स्तरोन्नति गर्ने भनिएको थियो । सडक स्तरोन्नतिको काम सम्पन्न हुने लक्ष्यको समय सकिन लागेको छ । तर, समयमै काम सम्पन्न नहुने देखिएपछि असार २०८० सम्ममा स्तरोन्नतिको काम सम्पन्न गर्ने गरि संशोेधन भएको छ । दुई वर्षमा स्तरोन्नतिको काम सम्पन्न गर्ने लक्ष्य रहे पनि जग्गा प्राप्तिमा विवाद लगायतका कारण कामले गति लिन नसकेको गल्छी–त्रिशुली–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाका तत्कालीन प्रमुख नारायणदत्त भण्डारीले बताए ।

हालसम्म समग्र ४५ प्रतिशत काम सम्पन्न भएको उनले बताए । उनका अनुसार हालसम्म ८२ किलोमिटरमध्ये २५ किलोमिटर सडक कालोपत्रेको काम सम्पन्न भएको छ । ५७ किलोमिटर कालोपत्रेको काम अझै बाँकी छ ।त्यसैगरी, ३२ वटा पक्की पुल निर्माण गर्नुपर्नेमा हालसम्म ८ वटा पक्की पुल निर्माणको अन्तिम चरणमा छ । २४ वटा पक्की पुल निर्माण गर्न बाँकी छ । त्यसैगरि फ्लाइओभर निर्माण, रकसेट निर्माण, नेटआर्ट निर्माण, फुटपाथ निर्माण अझै बाँकी छ ।

त्यसैगरी, पहिरो रोकथामका कार्यहरू गर्न अझै बाँकी रहेको बताइएको छ । त्यसैगरी, २ हजार ५ सय कित्ता जग्गा अधिग्रहण गर्नुपर्नेमा करिब १ हजार ६ सय कित्ता जग्गा अधिग्रहण गरिएको गल्छी त्रिशुली रसुवागढी सडक योजनाले जनाएको छ । योजनाका तत्कालीन प्रमुख भण्डारीका अनुसार स्थानीय प्रशासनले तीन महिनाभित्रमा अधिग्रहणको जग्गा प्राप्त गरिसक्ने भनेको थियो । जग्गा प्राप्ति ऐन २०३४ को दफा २५ प्रयोग गरी प्रमुख जिल्ला अधिकारीले जग्गा प्राप्त गर्न सक्नेछ । जग्गा प्राप्त गर्न तीन महिनामा सक्ने गरि धादिङ, नुवाकोट र रसुवाका सिडियोलाई निर्देशन पनि दिइएको थियो । तर, तत्कालीन सिडियोहरूले जग्गा प्राप्ति ऐन २०३४ को दफा २५ नलगाई दफा १३ अनुसार साधारण जग्गा प्राप्ति ऐन लगाउँदा कामले गति लिन नसकेको हो । भण्डारीले भने, ‘जनताले पैसा पाएपछि जग्गा दिने भए, सबै प्रक्रिया पु¥याएर काम गर्दा कामले गति लिन सकेन् ।’

त्यसैगरी, बिजुलीका पोलहरू समयमा नसार्नु, अदालतको स्टे अर्डरका कारण कालले गति लिन नसकेको उनको भनाइ छ । अदालतको स्टे अडरका कारण अझै पनि ६ किलोमिटरमा काम गर्न नपाएको उनले बताए । कोरोना महामारी, वर्षायामका कारण, रसुवा नुवाकोटको भौगोलिक अवस्था कमजोर भई पहिरो जानु लगायतका कारण पनि कामले गति लिन नसकेको उनले बताए ।

गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक रुपान्तरणकारी (गेम चेन्जर) राष्ट्रिय गौरवको उच्च प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना हो । गल्छीदेखि रसुवागढीसम्मको सडक स्तरोन्नतिको काम गर्नका लागि तीन खण्डमा विभाजन गरेर काम भएको छ । पहिलो खण्ड गल्छीदेखि मैलुङ, दोस्रो खण्ड मैलुङदेखि स्याफ्रुबेशी र तेस्रो खण्ड स्याफ्रुबेसीदेखि रसुवागढीसम्मको रहेको छ ।

हालसम्म पहिलो खण्ड अन्तर्गत ७० प्रतिशत काम सम्पन्न भएको बताइएको छ । दोस्रो खण्ड अन्तर्गत २० प्रतिशतकाम सम्पन्न भएको छ । तेस्रो खण्ड अन्तर्गत काम सुरु हुन सकेको छैन् । तेस्रो खण्ड चीन सरकारको सहयोगमा चिनियाँ पक्षले नै सडक निर्माण गरिदिने बताएको छ । तर, चिनियाँ पक्षले हालसम्म काम सुरु गरेको छैन । नेपाली पक्षले घर टहरा, बिजुलीका पोल लगायत सबै प्रक्रिया पूरा गरेपछि मात्र काम अघि बढाउने बताएको छ । नेपाली पक्षले बिजुलीका पोलहरू सार्ने काम सम्पन्न गरिसकेको छ । तर, चिनियाँ पक्ष निर्माण स्थलमा आएको छैन् । भण्डारीका अनुसार नेपाली पक्षले गर्ने काम हेर्ने हो भने ६० प्रतिशत काम भइसकेको छ ।

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट नेपालको राजधानी जोड्ने सबैभन्दा छोटो दूरीको हुने गरि सडक स्तरोन्नतिको काम भएको भण्डारीले बताए । यो एसियाली मापदण्डको सडक रहेको समेत उनले बताए । यो सडकको चौडाइ ११ मिटरको छ । यो सडकको डिजाइन गति ६० किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ । सडक सीमा ३० मिटर छ । २० अर्बको लागतमा स्तरोन्नति हुने गल्छीदेखि स्याफ्रुबेसीसम्मको सडकको हालसम्म ९ अर्ब खर्च भइसकेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर