भकारीमा थन्काउने बेलाको धान खेतमै उम्रेर जमरा बन्यो , पुर्पुरो समाएर बस्न बाध्य छन् किसान — OSNepal

भकारीमा थन्काउने बेलाको धान खेतमै उम्रेर जमरा बन्यो , पुर्पुरो समाएर बस्न बाध्य छन् किसान

LC (KTM) October 22, 2021 0

नेपालगञ्ज, ५ कात्तिक- बाँके नेपालगञ्ज–२२ पुरैनीका धर्मु गोडिया चिन्तित अवस्थामा देखिन्छन् । उनको यो अवस्था हुनुको कारण गत आइतबारदेखि निरन्तर भएको वर्षातले धान सखाप पारेपछिको हो । आठ जनाको परिवार रहेको गोडिया परिवारको वर्षभरी खान पुग्ने धान हेर्दाहेर्दै लगातारको हावाहुरीसँगैको पानीले डुबाएर सखाप पारेको छ ।

‘पाकेर काटेको धान उठाउन नपाउँदै पानी परेर डुबायो । केही काट्न नपाउँदै हावाहुरीले ढलाएर पानीमै डुबायो । काटेको पनि क्षति, नकाटेको धानमा पनि क्षति भयो’, उनले आफ्नो पीडा पोखे ।उनले करिब एक विगाह जमिनमा लगाएको धान पानीका कारण सखाप भएको बताए । खेतमै उम्रेर जमरा बनेको धानका बाला देखाउँदै उनले भने, ‘नकाटौँ वर्षभरी खाउँला भनेर गरेको दुःख, काटाँै जमरा जस्तो उम्रेको धान, के गरौँ ।’

बाँकेमा लगाइएको धानखेतमा यतिबेला पानीले भरिएको छ । किसानहरू आफ्नो मिहेनत जोगिन्छ कि भन्दै पानीमै डुबेर भए पनि डुबेको धान काटेर अग्लो ठाउँमा सुकाउन व्यस्त छन् ।

‘अलिकती भए पनि केही जोगिन्छ कि भनेर पानीमा डुबेको धान ओभानो ठाँउमा सार्दै छु । पानीमै कुहेर गन्हाउन थालेको छ । तै पनि झिनो आशले यो दुःख गर्दै छु’, बाँके डुडुवा–४ खालेमसाहका माताप्रसाद कुर्मीले भने ।लागतार चार दिनसम्म परेको पानीले उनको १३ कठ्ठामा लगाएको धान सबै सखाप पारेको छ । ‘वर्षभरी खाएर बचेको धान बेच्ने गरिन्थ्यो, तर यो वर्ष के खाने हो ? फलेको धान केही खेतको पानीमा डुबेर उम्रेको छ । केही कुहेर गन्हाएको छ’, उनले भने । कुर्मीकै छिमेकी साईना साईले काटेर खेतमा छाडेको धान कुहेर गन्हाउन थालेको बताइन् ।

माथिका गोडिया, कुर्मी र साई त बाँकेका किसानका प्रतिनिधि पात्र मात्र हुन् । उनीहरूको जस्तो पीडा जिल्लाका सबै किासनले भोग्नु परेको छ । असोजको अन्तिम सातादेखि परेको पानीका कारण बाँकेका किसानले लगाएको धान सखाप भएको छ । काटेको धान होस् वा नकाटेको धान खेतका गह्रामै उम्रिएको तथा कुहेर गन्हाएको अवस्थामा छ ।

जिल्ला कृषि ज्ञान केन्द्र बाँकेका अनुसार करिब १७ हजार पाँच सय हेक्टर जमिनको धानखेती पूर्ण रूपले डुबेर नष्ट भएको अनुमान गरिएको छ । लगातारको वर्षातको कारण किसानले काटेर खेतमै छाडेको करिब सात हजार पाँच सय हेक्टर जमिनको धान र हावाहुरीका कारण करिब १० हजार हेक्टर जमिनको धान खेतमै ढलेर पानीमा डुबेको कारण नष्ट भएको कृषि ज्ञान केन्द्र बाँकेका बाली विकास अधिकृत शकिल अहमदले जानकारी दिए ।

बाँकेमा ३६ हजार पाँच सय हेक्टरमा धानखेती गर्ने गरिएको जानकारी दिँदै उनले भने, ‘करिब १० प्रतिशत किसानले मात्र हारबेस्ट गरी धान भित्र्याएको अवस्थामा आएको पानीले बाँकेमा धानखेती अत्यन्त प्रभावित बनाएको छ ।’

उनले वर्षात हुनुअघि केन्द्रले बाँकेमा गरेको प्रारम्भिक सर्भेक्षण अनुसार प्रति हेक्टर ४ दशमलभ ५ मेट्रिक टनका दरले उत्पादन हुने आंकलन गरिएकोमा वर्षातपछि काटेको धान पानीमा डुब्दा र नकाटेको धान खेतमा भरिएको पानीले डुबाउँदा करिब ६० प्रतिशतभन्दा बढी धान नोक्सान हुने आंकलन गरिएको बताए ।जिल्लाका आठवटै पालिकाका कृषि शाखा र ज्ञान केन्द्रले वर्षातले पारेको क्षतिको तथ्यांक संकलनको लागि किसानको खेतखेतमा जाने गरी खटिएका छौँ । करिब एक साताभित्र पूर्ण तथ्यांक आउन सक्छ’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर