उदयपुर-जिल्ला ट्राफिक कार्यालय उदयपुरले चालु आर्थिक वर्ष भित्रै आफ्नो भवन पाउने भएको छ । गाईघाटमा सवारी चाप अत्याधिक बढेकाले ट्राफिक समस्या समाधान गर्न त्रियुगा नगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका लागिई जग्गासहित भवन बनाई दिने भएको हो ।
दुई दशक यता भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको जिल्ला ट्राफिक प्रहरीलाई त्रियुगा नगरपालिकाले चालू आर्थिक वर्षको बजेटबाट भवन बनाउने भएको हो ।
त्रियुगा नगरपालिका-१३ स्थित पूर्व–पश्चिम बरुवा बसपार्कको ५ कठ्ठा जग्गामा नगरपालिकाले भवन बनाउन लागेको हो । नगर प्रमुख बलदेव चौधरीले भवनको शिलान्यास गरी सकेका छन् । दुई तले बहुवर्षीय योजनाअन्तर्गत बनाउन लागिएको भवन छिटै सक्नु पर्ने भए पनि आवश्यक बजेट भने अपुग हुने ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक लिलकुमार श्रेष्ठले जानकारी दिए ।
त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालका अनुसार भवन बनाउन चालू आर्थिक वर्षमा नगरपालिकाले १५ लाख बजेट विनियोजन गरेको छ ।