राष्ट्रपतिको कदमले नेपालका लागि नेपाली चकित — OSNepal

राष्ट्रपतिको कदमले नेपालका लागि नेपाली चकित

LC (KTM) May 23, 2021 0

काठमाडौं, जेठ ९ । कोरोनाले दैनिक दशौंहजार संक्रमित भइरहेको र सयौं नागरिकले ज्यान गुमाउन परिरहेको शोकले देशभरी सन्नाटा छाइरहेको अवस्थामा पनि राजनीतिमा एकपछि अर्को रूपमा आएका अस्वभाविक घटनाहरूप्रति नेपालकालागि नेपाली पार्टीले एक विज्ञप्ति जारी गर्दै चिन्ता व्यक्त गरेको छ ।

नेपालीलाई कोविडको दोस्रो लहरले धेरै ठूलो सङ्कटमा पु¥याएको अवस्थामा राज्यका सबै संयन्त्रले स्वास्थ्य संवेदनशीलतालाई मूल बिषय बनाएर स्वास्थ्य उपचारमा ध्यान दिने र निषेधाज्ञाका कारणले रोजगारी गुमाएका परिवारहरूलाई राहतको प्याकेज तत्काल व्यवस्था गर्न पनि सो पार्टीले अनुरोध गरेको छ । राहत वितरणमा सरकारले एकद्वार प्रणाली अपनाउँदा र सरकारको भ्रष्टचारी आचरणले गर्दा सरकारमार्फत राहत उपलब्ध हुन् नसकी राखेको अवस्थामा गरिब, असहाय, दीनदुःखीलगायतका सम्पूर्ण पिडित व्यक्तिहरू उपर राहत उपलब्ध गर्न अग्रसर समाजसेवीहरूलाई सहज वाताबरण सुनिश्चित गर्न पनि सरकारसँग सो पार्टीले अनुरोध गरेको छ ।

‘सरकार नभएको जस्तो अनुभूति नागरिकले गर्नु नपरोस् भनि सचेत पनि गराउन चाहान्छौं । साथै अक्सिजन नपाएर, उपचार गर्न नसकेर, उपचारकालागि बेड नपाएर वा खोप र औषधि नपाएर नागरिकले ज्यान गुमाउनु परिरहेको विदारक परिस्थितिको जिम्मेवारी सत्ताको खेलमा चुर्लुम्म डुबेका सम्पूर्ण दल र नेताहरूले लिनु पर्दछ भन्ने हाम्रो ठहर छ’ विज्ञप्तिमा भनिएको छ ।

अहिलेको संसदीय व्यवस्था नेपालको लागि अफापसिद्ध भएको सो पार्टीको निस्कर्ष रहेको छ । संसदीय प्रणालीमा धेरै कठिनाई तथा कमिकमजोरीहरू आउने कुरालाई वर्तमानले देखाइसकेको हुनाले यसको विकल्पमा निर्बाचन प्रणालीमा व्यापक सुधार गरी भ्रष्टाचारलाई निर्मुल गर्ने विशेष व्यवस्थाको प्रत्यक्ष प्रधानमन्त्रीय प्रणालीमा जानुपर्ने सो पार्टीको धारणा रहेको छ ।

यही जेठ ८ गते पार्टी राष्ट्रिय अध्यक्ष बालकृष्ण न्यौपाने, अध्यक्ष डा. सुरेन्द्र भण्डारी र प्रवक्ता डा. विजयप्रसाद मिश्रमार्फत एक विज्ञप्ति जारी गरी परिवर्तित राजनीतिक स्थितिको बारेमा पार्टीले धारणा सार्वजनिक गरेको हो ।

विज्ञप्तिमार्फत नेपालकालागि नेपाली अभियानलाई तीन वर्षको अनुभब पश्चात राजनैतिक दल (पार्टी)मा रूपान्तरण गरिएको जानकारी पनि गराइएको छ । अहिलेसम्म राज्यको बागडोर समालेका दल र नेताहरू पूर्ण रूपमा असफल भएको हुँदा बिभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तित्त्वहरूले मुलुकका यावत समस्याहरू समाधान गरी मुलुक बचाउने र समृद्ध बनाउने जिम्मेवारी बहन गर्ने अठोठका साथ सो दल स्थापना गर्न आफूहरूबाध्य भएको व्यहोरा उल्लेख गरिएको छ । पृथ्वीपथ (नेपालवाद) मा आधारित भई नेपालको माटोबाटै नेपालको मौलिक आवश्यक्ता अनुरूपको पार्टी “नेपालकालागि नेपाली” गठन गरेका छौं, विज्ञप्तिमा उल्लेख छ ।

यसै गरी नेपालमा भइरहेको चरम राजनैतिक विश्रृङ्खलता र राजनैतिक असफलताका घटनाक्रमलाई नेपालकालागि नेपालीले गम्भिरतापूर्वक हेरिरहेको उल्लेख छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार बहुमत पु¥याउने आधार सहित प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसदहरूलाई २१ घण्टा समय दिएर आह्वान गरे बमोजिम दावी गर्न पुगेका सांसद शेरबहादुर देउवा र प्रधानमन्त्री तथा सांसद केपी शर्मा ओलीले पेश गरेको सांसदहरूको दावीमा पार्टीले एकथरिको हस्ताक्षार बुझाउने र व्यक्तिगत रूपमा सांसदहरू अर्कोतिर हस्ताक्षर गर्ने जुन अमर्यादित र संसदीय मान्यता विपरितको चरम अराजक प्रवृति देखियो त्यो लज्जास्पद भएको मात्रै होइन त्यस बाट संसदीय व्यबस्थाको उपादेयता सिद्धिएको आभाष भएको र यसको जिम्मेवारी पनि यही प्रवृतिको नेतृत्व गर्नेहरूले लिनु पर्ने कुरालाई पनि विज्ञप्तिमा उठाइएको छ ।

नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालका गरी ३८ जना सांसदहरूको समर्थन दुबै प्रधानमन्त्रीका दावेदारलाई देखिएको प्रसङ्गलाई उदृत गर्दै नेपालकालागि नेपालीले त्यसलाई संसदीय व्यवस्थाको विकृतिको रूपमा लिएको र पार्टीगत मूल्य मान्यताभन्दा अलग जाने सांसदहरूको प्रवृत्तिले वर्तमानको संसदीय व्यवस्था नै नेपालका लागि अफापसिद्ध प्रमाणित भएको सो पार्टीको बुझाइ देखिन्छ ।

सम्माननीय राष्ट्रपतिज्यूले राजनीतिक पार्टीहरू बीचको खिचातानीका कारण दुबैतर्फ समर्थन रहनेहरूको हस्ताक्षरलाई मान्यता नदिने ठहर गरे पश्चात मध्यरातमा मन्त्रिपरिषदको बैठक बसी प्रधानमन्त्रिको सिफारिशमा राति करिब पौने दुई बजेतिर प्रतिनिधिसभा बिघटन गरेको बिषयले हामीलाई चकित पारेको छ, सो विज्ञप्तिमा लेखिएको छ ।

कोभिडको खोप नपाएर, कमिसनको खेलले खोप आयात हुन् नसकेर, उपचार गर्न बेड नपाएर, अक्सिजन नपाएर र औषधि उपचारमा कालोबजारी भएर नागरिकहरूले ज्यान गुमाएको बिषय सरकार र राष्ट्रपति महोदयको प्राथमिकताको बिषय नबन्ने तर प्रतिनिधिसभा बिघटन गर्ने बिषय प्राथमिकताको बिषय हुने, दलहरू पनि सत्ताको खेलमा फ्लोरक्रस लगायतका सबै हत्कण्डा प्रयोग गर्न उद्धत हुने तर नागरिकको स्वास्थ्य र जीवनप्रति उदाशीन हुने जुन खेल मुलुकमा मञ्चन भइरहेको छ त्यो खेदपूर्ण मात्रै नभएर मुलुकको राजनीतिको बागडोर सम्हालेका सबै नेता तथा दलहरू निराशाजनक रूपमा असफल भएको प्रमाणित समेत भएको सो पार्टीको आरोप छ ।

यी सम्पूर्ण घटनाहरूले मुलुकमा संविधान, व्यवस्था, नेता र ठूला दलहरू असफल भएकोे प्रस्टिएको र राजनैतिक असफलताले मुलुकलाई नै संकटमा पुर्याएको यस घडीमा नागरिकलाई यस संकटबाट मुक्त गर्न सम्पूर्ण नेपाली नागरिकहरू एक जुट हुन सो पार्टीले आव्हान पनि गरेको छ ।

‘नेपालकालागि नेपाली’ पार्टीले आफू निर्वाचन आयोगमा विधिवत दर्ता भई नागरिकको घरदैलोमा नयाँ साँेचका साथ मुलुकमा हिंसा, भ्रष्टाचार र लुट्तन्त्रमा आधारित राजनैतिक वेथितिलाई अन्त्य गरी मानवतावाद स्थापित गर्न अपरिहार्य भएकोे महसुस गरी मुलुकको राजनैतिक बिकल्पमात्रै नभएर मौलिक राजनैतिक मूलधारको पार्टीको रूपमा स्थापित हुने लक्ष्यकासाथ अघि बढेको पनि जानकारी गराएको छ ।

नेपालको राजनीतिको मूल समस्या नै विदेशी वाद, सिद्धान्त र विदेशीसँग यहाँका नेताहरूको साँठगाँठ भएको हुँदा नेपाल एकिकरण एवं नेपाललाई सदासर्वदा स्वाधीन र गौरवान्वित राख्ने पृथ्वीनारायण शाहका विचार अर्थात् पृथ्वीपथलाई मार्गनिर्देशक मानी नेपाली मौलिक चिन्तनमा आधारित नेपालवादमा विश्वास गरी मुलुकलाई आर्थिक रूपान्तरणको साथमा नेपाल र नेपालीको पहिचानलाई विश्वमा नै पुर्नस्थापित गर्नकालागि वर्तमान सत्ता र गलत प्रणालीलाई शान्तिपूर्ण एवं अहिंसात्मक आन्दोलन र निर्वाचन दुवैका माध्यमबाट अन्त्य गर्न जरुरी भएको ठानी आउँदो निर्बाचनमा भाग लिने निर्णय गरेकोसमेत सो पार्टीबाट जारी सो विज्ञप्तिमा जनाइएको छ ।

राजनैतिक बिकृति, राजनैतिक असफलता र नातागोता एवं जोडाजोडीले भरिएको संसद, सरकार र ठूला दलहरूको कारण असफल भएको अवस्थामा प्रतिनिधिसभालाई जीवित राखी सत्ता सञ्चालन गर्न दिनुको कुनै पनि उपादयेता नदेखिएको, भ्रष्टचारी एवं मुलुक र राजनीतिलाई असफल बनाउने सम्पूर्ण व्यक्तिलाई आगामी निर्वाचनमा हराई मतदाताले मुलुक र नागरिकको हितमा विवेक गरी न्याय दिनु पर्ने कुरामा सो पार्टीको विश्वास भएकोले २०७८ कार्तिक २६ र मंसिर ३ गतेका लागि घोषणा गरिएको निर्बाचनमा निम्न बमोजिम सुधार गरी निर्बाचनलाई स्वच्छ, स्वस्थ र नागरिक मुखी बनाउनका लागि सम्पूर्ण नेपाली नागरिकहरूले दबाब सिर्जना गर्न सो पार्टीले आव्हान पनि गरेको छ ।
१. प्रत्यक्ष निर्बाचित प्रधानमन्त्रीको व्यवस्था कायम गर्ने ।
२. सांसद मन्त्री बन्न नपाउने व्यवस्था गर्ने ।
३. बिदेशमा बस्ने नेपाली नागरिक समेतले मतदान गर्न पाउने व्यवस्था गर्ने ।
४. निर्वाचन प्रचार प्रसारमा आमुल परिबर्तन गरी पैसा, गुण्डा, छलकपट र मतदाता किनेर चुनाव जित्ने प्रणालीको अन्त्य गर्ने ।
५. सानो, छरितो र मितव्ययी अर्थात् प्रधानमन्त्रीसहित ११ जनाको मन्त्रीमण्डल बनाउने ।
६. सांसद संख्या ११५ मात्रै कायम गर्ने ।
७. स्थानीय तहको निर्वाचन दलिय आधारमा नभएर व्यक्तित्वका आधारमा गर्ने ।
८. मुलुकमा आम निर्बाचन घोषणा भएको अवस्थामा गृह प्रशाशन लगायतका निर्वाचनमा असर पार्नसक्ने एवं सरोकार राख्ने सबै मन्त्रालय र निकायले निर्वाचन आयोगको निर्देशन पालना गरी कार्य गर्ने व्यवस्था गर्ने ।
९. श्री सर्वोच्च अदालतसमेतले निर्णय गरी सकेको अवस्थामा निर्वाचनमा मत दिन्न भन्ने व्यवस्था राखिनु पर्ने ।
१०. निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन उम्मेदवार हुनेहरूको सम्पत्ति छानविन गरी भ्रष्टचारी एवं कालोबजारी गरी अकुत सम्पत्ति कमाएकाहरूलाई निर्वाचनमा भाग लिनबाट बञ्चित गर्ने व्यबस्था गर्ने ।

साथै विज्ञप्तिमार्फत सो पार्टीले तपसीलबमोजिमका मुद्दा लिएर निर्वाचनमा जाने घोषणा समेत गरेको छ–
१. पञ्चायतकालदेखि अहिलेसम्म सत्तामा बसेका राजनीतिकर्मी र उच्च तहका कर्मचारीहरूको सम्पत्तिको छानबिन गरी दोषीलाई कानूनबमोजिम कडा सजाय गरी घुष खाएर, भ्रष्टचार गरेर वा राज्य संयत्रको दुरूपयोग गरेर कमाएको सम्पत्ति जफत गरी गरिबी निवारण, युवाहरूको रोजगारी एवं शिक्षा र स्वास्थ्यमा लगाउन एक शक्तिशाली र निष्पक्ष नागरिक आयोग स्थापना गर्ने ।
२. प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख जस्ता राज्यका तीन प्रमुख अङ्गका प्रमुखहरूलाई कानुनको शासनप्रति उत्तरदायी बनाउन नागरिकको स्वतन्त्र आयोग (एभयउभि’क क्ष्लमभउभलमभलत ऋयmmष्ककष्यल) को व्यवस्था गरी उत्तरदायी बनाउने । यस किसिमको अधिकार राष्ट्रिय सभालाई प्रदान गरी राष्ट्रिय सभालाई अधिकार सम्पन्न बनाउने ।

३. नेपाललाई ॐकार परिवार (वैदिक, बौद्ध, किराँत, शिख, जैन सहित) नेपालमा बसोबास गर्ने सबै धार्मिक समुदायको सह–अस्तित्त्व रहने गरी सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र बनाउने ।
४. धार्मिक, सांस्कृतिक र वाताबरणीय पर्यटनको विकास गरि रोजगारी सिर्जना गर्ने ।
५. संघीयताको बिकल्प खोजि मुलुकलाई स्थानीय र केन्द्रीय गरी दुई तहको सरकारका संरचनामा लैजाने र स्थानीय सरकारलाई शक्तिशाली बनाउने ।
६. राष्ट्रिय एकताको प्रतिकको रूपमा संविधान र संसदको अधिनमा रहने लोकतन्त्र सहितको आधुनिक राजसंस्था स्थापना गर्ने ।
७. शिक्षा र स्वास्थ्यलाई निःशुल्क, गुणस्तरीय र सर्वसुलभ बनाई मानव श्रम र साधनको विकास मार्फत मुलुकलाई समृद्ध बनाउने ।
८. सस्तो व्याजदरमा सहज रूपमा युवाहरूलाई ऋण उपलब्ध गराई, तालिम दिई, समुदाय स्तरमा कम्पनि समेत खोल्न मद्दत गरी लगानी र रोजगारीको वातारण सिर्जना गर्ने ।
९. राज्य र राज्यका निकायमा भएको दलीयकरण र सबै किसिमका भेदभाव अन्त्य गर्न क्षमता, दक्षता, निष्पक्षता र योग्यताका आधारमा पुनर्नियुक्ति गर्ने ।

सो पार्टीको विस्तृत कार्यक्रम र राजनैतिक दस्ताबेज क्रमशः आउने र उपर्युक्त समयमा ( कोविडको संक्रमण कम भए पश्चात) नेपालकालागि नेपाली पार्टीको सार्वजनिक घोषणा कार्यक्रम आयोजना गरिने समेत जानकारी गराइएको छ । यसै गरी विगतमा नेपालकालागि नेपाली अभियानलाई न्यानो माया, साथ र समर्थन गरेकोमा सम्पूर्णलाई हार्दिक रूपमा धन्यवाद दिँदै सम्पूर्ण देशभक्त, लोकतान्त्रिक एवं प्रगतिशील शक्ति एवं व्यक्तिहरूलाई नेपालकालागि नेपाली पार्टीमा आबद्ध भइ नेपाल र नेपालीको भविष्य सुनिश्चित गर्ने ऐतिहसिक जिम्मेवारी बहन गर्नसमेत सो पार्टीले सबैलाई आव्हान गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर