कालीगण्डकी नदीको अवैध दोहन रोक्न प्रहरीको सक्रियता, ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्ने ट्र्याक्टर नियन्त्रणमा — OSNepal

कालीगण्डकी नदीको अवैध दोहन रोक्न प्रहरीको सक्रियता, ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्ने ट्र्याक्टर नियन्त्रणमा

LC (KTM) June 03, 2022 0

बलेवा, २० जेठ – कालीगण्डकी नदीको अवैध दोहन रोक्न प्रहरीले सक्रियता बढाएको छ । प्रहरीले बुधबार राति अवैधरुपमा कालीगण्डकी किनारबाट ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा ओसारपसार गरिरहेका दुई ट्र्याक्टर नियन्त्रणमा लिएको छ ।यसअघि बुधबार बागलुङ नगरपालिका–१ कालीगण्डकी किनारमा अवैधरूपमा ढुङ्गा र बालुवाको उत्खनन तथा ओसारपसार गरिरहेका तीन ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको थियो । सर्वोच्च अदालतले नदीजन्य पदार्थको उत्खनन नगर्न आदेश दिएपछि प्रहरीले कालीगण्डकीको दोहन रोक्न सक्रियता बढाएको हो ।

पाँचवटै ट्र्याक्टर र सामग्री बागलुङ नगरपालिकालाई बुझाइएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो । बुधबार प्रहरीले कालीगण्डकी किनारबाट ध१त ४१७ र लु४त ८३६३ नंको ट्र्याक्टर नियन्त्रणमा लिएको हो । “अदालतले नदीजन्य पदार्थको उत्खनन रोकेको छ, सोहीअनुसार सहयोग गर्न प्रहरीलाई भनेका छौँ”, बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले भन्नुभयोे ।

प्रहरीले बुधबार ध१त ३५५, ध१त २३७ र ध१त ४५८ नंको ट्र्याक्टर नियन्त्रणमा लिएर बागलुङ नगरपालिकालाई बुझाएको छ । ट्र्याक्टर चालकबाट पहिलोपटक रु पाँच हजार, दोस्रो पटक रु १० हजार र तेस्रोपटकमा रु २० हजार जरिवाना असुल्ने कानुनी व्यवस्था छ ।

जैमिनीमा आइतबार पनि सेवा प्रवाह
बागलुङको जैमिनी नगरपालिकाले आइतबारको बिदा नदिने निर्णय गरेको छ । नगर कार्यपालिकाको बिहीबारको बैठकले नगर क्षेत्रभित्र आइतबार बिदा नदिने निर्णय गरेको हो ।नगर क्षेत्रका सरकारी तथा संस्थागत कार्यालय खुला गर्दा इन्धन खपतमा असर नपर्ने भएकाले सेवा प्रवाह नरोक्ने निर्णय गरिएको उपप्रमुख हरिहर शर्माले बताउनुभयो । जैमिनीले वडा तहमा योजना सम्झौता र फरफारकका लागि तयारी गरेको छ । जैमिनीले गर्भवती र सुत्केरी स्वास्थ्यचौकी जानुपर्दा यातायातको साधन चाहिएमा नगरपालिकाले प्रबन्ध गराउने गरी कार्यविधिसमेत बनाउन लागेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर