विकास निर्माणमा विलम्ब नगर्न जनप्रतिनिधिको आग्रह — OSNepal

विकास निर्माणमा विलम्ब नगर्न जनप्रतिनिधिको आग्रह

LC (KTM) April 28, 2023 0

बाँके-बाँकेको खजुरा गाउँपालिकामा सडक तथा पुल निर्माणमा भएको ढिलासुस्तीप्रति स्थानीय तहका जनप्रतिनिधिले चासो र चिन्ता व्यक्त गरेका छन् ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत खजुरामा निर्माणाधीन चारलेन सडक, परसपुर गौघाट सडक र किरणनाला पुलमा ढिलाइ हुँदा जनताले सास्ती बेहोर्नुपरेकाले यथाशीघ्र काम सञ्चालन गराउन जनप्रतिनिधिले सडक डिभिजन कार्यालय नेपालगञ्जलाई आग्रह गर्नुभएको छ ।

निर्माण व्यवसायीले सम्झौताअनुसार कार्य सम्पन्न नगरी पटक–पटक म्याद थप गर्ने काम नगर्ने प्रवृत्ति देखिएकाले सडक डिभिजन कार्यालय पुगेर विकास निर्माणमा विलम्ब नगर्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष डम्बर विकले बताउनुभयो । गाउँपालिकाभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत भइरहेका विकास निर्माणका आयोजनामा भइरहेको ढिलाइप्रति चिन्ता र चासो व्यक्त गर्दै अध्यक्ष विकले बिहीबार उपाध्यक्ष मञ्जु मल्ल, प्रवक्ता धनीराम वलीसहितका वडाध्यक्षलाई साथमा लिएर सडक डिभिजन कार्यालय नेपालगञ्ज पुगेर सडक तथा पुल निर्माणमा ढिलाइ हुनुको कारण बारेमा जानकारी लिनुभएको थियो ।

“सडक र पुल निर्माणका काममा वर्षौंदेखि ढिलासुस्ती भएपछि जनता आक्रोशित भएका छन्”, अध्यक्ष विकले भन्नुभयो, “सङ्घीय सरकारअन्तर्गतका योजना भए पनि जनताले गाउँपालिकामा गुनासो र आक्रोश पोख्ने भएकाले बाध्य भएर सडक डिभिजन पुगेका हौँ ।” खजुरामा छ वर्षअघि निर्माण सुरु भएको चारलेन सडकको निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाही गर्नुपर्ने, पेडारी नालामा चारलेन पुल बन्नुपर्ने र परसपुर–गौघाट सडकको काम तत्काल सञ्चालन गर्नुपर्ने मागसहित जनप्रतिनिधिको टोलीले सडक डिभिजन प्रमुख नीरज शाक्यलाई भेटेर तत्काल काम सुरु गर्न ध्यानाकर्षण गराईएको अध्यक्ष विकले बताउनुभयो ।

निर्माण कम्पनीले पटक–पटक म्याद थप गर्दा पनि सडक निर्माण प्रक्रिया अघि नबढाएकाले अब कुनै पनि हालतमा सोही निर्माण कम्पनीलाई सडक निर्माणको म्याद थप नगर्न उहाँले अपिलसमेत गर्नुभएको छ । परसपुर–गौघाट सडक निर्माणको काम सम्झौता भएको ११ महिनासम्म जम्मा सात प्रतिशत मात्रै कार्यप्रगति भएको भन्दै खजुराका जनप्रतिनिधिले निर्माण व्यवसायीप्रति आक्रोश व्यक्त गरेका छन् ।

“सम्झौता भएको ११ महिनासम्म पनि सात प्रतिशत मात्रै काम भएको छ । यस्तो गतिमा काम भएको खण्डमा बाँकी १३ महिनामा ९३ प्रतिशत काम हुन्छ भनेर हामीले कसरी विश्वस्त हुने ?”, गाउँपालिका उपाध्यक्ष मञ्जु मल्ले भन्नुभयो, “यसकारण हामीलाई समयमै निर्माण सम्पन्न गर्न सकिने खालको कार्यतालिका उपलब्ध भयो भने मात्रै हामी विश्वस्त हुन्छौँ ।”

उहाँले खजुरा बजारमा निर्माणाधीन चारलेन सडक निर्माण कार्य थोरै सुरु गर्ने अनि बन्द गर्ने प्रवृत्ति देखा परेको बताउँदै यसको निराकरणको लागि सरोकारवाला सङ्घीय सरकारको निकाय सडक डिभिजनमा आफूहरु पुगेको बताउनुभयो ।

सडक डिभिजन प्रमुख शाक्यले खजुरा गाउँपालिका क्षेत्रमा चारलेन सडक, परसपुर–गौघाट सडक र किरणनाला पुल निर्माणमा निर्माण व्यवसायीबाट ढिलाइ भएको स्वीकार्दै विधिसम्मत तरिकाले कारबाहीको प्रक्रिया अघि बढाइने बताउनुभयो । डिभिजन प्रमुख शाक्यले खजुरामा चारलेन सडक गत पुस मसान्तमा सकिसक्नुपर्ने सम्झौतामा उल्लेख भएको बताउँदै निर्माण कम्पनीलाई अहिले प्रतिदिन शून्य दशमलव शून्य पाँचका दरले जरिवानामा राखेको उल्लेख गर्नुभयो ।

निर्माण कम्पनीलाई आफूले धेरै पटक ताकेता गरिसकेको बताउँदै शाक्यले अति भएपछि विभागमा समेत जानकारी गराई छलफलसमेत गरिसकेको जानकारी दिनुभयो ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर