पार्टीलाई नयाँ उचाइमा पुर्याउन राजनीतिक दृष्टिकोणलाई गाउँ-टोलसम्म पुर्याउन कार्यकर्तालाई निर्देशन — OSNepal

पार्टीलाई नयाँ उचाइमा पुर्याउन राजनीतिक दृष्टिकोणलाई गाउँ-टोलसम्म पुर्याउन कार्यकर्तालाई निर्देशन

LC (KTM) January 13, 2024 0

काठमाडौँ, २८ पुस : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीलाई नयाँ उचाइमा पुर्याउनका लागि राजनीतिक दृष्टिकोण गाउँ र टोलसम्म पुर्याउन कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

पार्टीको शङ्खरापुर नगरस्तरीय कार्यकर्ता भेलामा अध्यक्ष नेपालले जनताका समस्या समाधान गर्दै उनीहरूको सेवालाई केन्द्रमा राखेर अघि बढ्न सबै नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । सिङ्गो मुलुकको विकासको खाका आफ्नो पार्टीले तयार गरेको बताउँदै उहाँले नेता–कार्यकर्ताले जनतामाझ गएर त्यसलाई बुझाउन सक्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष नेपालले सातै प्रदेशमा पार्टीको अस्तित्व देखिएको भन्दै अब पालिकामा देखिने गरी सङ्गठन विस्तारमा जोड दिन निर्देशन दिनुभयो । विगतमा गठबन्धनको साथमा चुनाव लड्दा अपेक्षित नजिता हासिल गर्न नसकेकाले अब आफ्नै शक्तिमा चुनाव जित्ने गरी तयारी गर्नुपर्ने उहाँको भनाइ थियो ।

सत्तारूढ दलका उम्मेदवारलाई विजय गराउन पार्टीप¬ङ्क्तिलाई निर्देशन दिँदै उहाँले वर्तमान गठबन्धन पाँच वर्षसम्म कायम रहनेमा आशङ्का नगर्न आग्रह गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले जनतालाई रोजगारी उपलव्ध गराउने, कृषि, उद्योग, जलस्रोत, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान प्रविधिलगायत क्षेत्रको विकास गरी देशलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भ्रष्टाचार गर्नेहरू जुनसुकै पार्टीका नेता वा विशिष्ट व्यक्ति भए पनि उन्मुक्ति पाउन नहुने बताउनुभयो ।

सत्तारूढ दलका उम्मेदवारलाई विजय गराउन निर्देशन

एकीकृत समाजवादीले यही माघ ११ हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारूढ दलका उम्मेदवारलाई विजय गराउन पार्टीपङ्क्तिलाई परिचालन गर्ने भएको छ । पार्टीले गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका सबै उम्मेदवारलाई जिताउन मातहतका प्रदेश, जिल्ला, क्षेत्र, वडा तथा पार्टी निकट जनवर्गीय सङ्गठनलाई क्रियाशील गराउन निर्देशन दिएको पार्टी कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित भूगोलमा सम्बन्धित उम्मेदवारको पक्षमा मतदानका लागि आवश्यक समन्वय र सहजीकरण गर्न पार्टी आबद्ध नेतालाई जिम्मेवारीसमेत दिइएको छ । पार्टीले गठबन्धनबाट प्राप्त गरेको दुई सिटमा कर्णाली प्रदेशबाट सावित्री मल्ल र बागमती प्रदेशबाट घनश्याम रिजाललाई उम्मेदवार बनाएको छ ।

यसैबीच पार्टीको आसन्न विधान सम्मेलनका लागि पार्टी केन्द्रले सुझाव सङ्कलनका लागि मस्यौदा प्रदेश, जिल्ला कमिटीमा पठाएको छ । विधान संशोधनबारे पार्टीको मातहतका प्रदेश र जिल्ला कमिटीबाट सुझाव आएपछि विधान मस्यौदाको अन्तिम रूप दिइने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर