अमेरिकामा नेपाली समुदायले आयोजना गरे पहिलो पटक चङ्गा मेला — OSNepal

अमेरिकामा नेपाली समुदायले आयोजना गरे पहिलो पटक चङ्गा मेला

LC (KTM) October 25, 2021 0

विजय थापा । डिसी महानगर क्षेत्र । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर क्षेत्र वरपर बसोबास गर्ने नेपालीहरुले चङ्गा मेलाको आयोजना गर्न सफल भएका छन् । अमेरिकामा नेपाली समुदायको इतिहासमा बाल्टिमोरमा सम्भवत पहिलो पटक चङ्गा मेलाको आयोजना गरिएको छ ।

मेरिल्याण्ड राज्यको गनपाउडर फल्स स्टेट पार्क (राज्य उद्यान)मा अक्टोबर २४ आइतबारका दिन दिउसो चङ्गा मेला (उत्सव )कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । कार्यकमको आयोजना लायन्स क्लब अफ बाल्टिमोर नेप्लिजले गरेको हो भने चङ्गा मेला दशैँ समाप्तसंगै आयोजना गरेको हो । अमेरिकामा रहेका दोश्रो पुस्तालाई बिशेष केन्द्रित गरि नेपालका चाड पर्व कला संस्कृति आदी ईत्यादीमा उनीहरुलाई सहभागिता गराई रहेको अवस्थामा चङ्गा उत्सवलाई पनि महत्व दिदै आयोजना गरिएको लायन्स क्लब अफ बाल्टिमोर नेप्लिजका संस्थापक बैकुण्ठ मान श्रेष्ठले बताए ।

यसै गरि क्लबका पूर्व अध्यक्ष विजय श्रेष्ठले हामीले हाम्रा चाड पर्व ,संस्कृति,परम्परा र उत्सवलाई विदेशमा जन्मेका दोश्रो पुस्ताका बालबच्चा तथा हाम्रा सन्तानलाई सिकाउनु पर्छ र यसलाई जगेर्ना गरि रहनु पर्ने भएकोले यो चङ्गा मेलको आयोजना गरिएको जनाए । दुवै पूर्व सभापतिहरुले बालबालिकाका अभिभावकलाई मेलामा लिएर आउनु भनि अनुरोध सामाजिक संजाल,संचार माध्यम र नेपाली समुदायका सदस्यहरुको माध्यमद्वारा सूचना गरिएको थियो ।

मेलामा दर्जनौ भन्दा ज्यादा परिवारहरुले आफ्ना बालबलिकाहरु सहभागिताको लागि त्यहा ल्याएका थिए । उत्सवमा राम्रा प्रकारका चङ्गाहरु ल्याएका थिए भने नेपालबाट समेत चङ्गा र लट्टाई मगाईएको थियो । बालबालिकाहरु अत्यन्तै रमाएर चङ्गा उडाएका थिए भने अभिभावकहरुले पनि आफ्ना बाल्यकाल सम्झदै चङ्गा उडाउदै बच्चाहरुलाई सिकाएका थिए । अभिभावकहरुले पनि लट्टाई र बिशेष प्रकारका चङ्गा मज्जा मान्दै खुशी हुँदै उडाएका थिए।

मेलामा एकै पटक सबैलाई एकै स्थानमा राखी सबैलाई एकै पटक चङ्गा उडाउन भने पछि बालबालिकाहरु चङ्गा लिएर दौडेका थिए । उक्त मेलामा चङ्गा उडाउने मात्र नभई मनोरंजन प्रदान गर्न बच्चाहरुको लागि डोरी तान्ने खेल लगायत खेल गराईएको थियो । साथै सबैलाई सेलरोटी सहितको खानपिनको व्यवस्था समेत बन्दोबस्त गरिएको थियो ।

चङ्गा उडाउन अगाडी आवेदन पत्र समेत भर्नु परेको थियो । अमेरिकामा चङ्गा १५० फिट भन्दा माथि उडाउन पनि नपाइने र चङ्गा जुधाउन पनि नपाइने भनि आयोजकले बताएका थिए । चङ्गा चेट भएर राजमार्गमा पुगेर सवारी साधनमा लागेमा सडक दुर्घटना हुने हुँदा नियम कडा र त्यसो समेत नगर्न अनुरोध गरिएको थियो । कल्बका अध्यक्ष लायन महेन्द्र थापा मगरले स्वागत मन्तब्य राखेका थिए भने प्रथम उपाध्यक्ष लायन गणेश लामिछानेले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम संचालन महिला सामाजिक कार्यकर्ता सीता पाण्डेले गरेकी थिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर