बाँझो रहेको जग्गामा गरिएको सयपत्री फूलखेतीबाट मनग्य आम्दानी खुसीले दंग छन्,गोविन्द अधिकारी — OSNepal

बाँझो रहेको जग्गामा गरिएको सयपत्री फूलखेतीबाट मनग्य आम्दानी खुसीले दंग छन्,गोविन्द अधिकारी

LC (KTM) November 05, 2021 0

तनहुँ १९ कात्तिक तनहुँका कृषकले फूलखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । सयपत्रीको फूल विक्रीबाट आम्दानी हुन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । भिमाद नगरपालिका–८ धारापानीका गोविन्द अधिकारीले वर्षौदेखि बाँझो रहेको जग्गामा सयपत्री फूलखेती सुरु गरेका छन् ।

मुस्किलले एक मुरी कोदो नफल्ने बारीमा गत वर्ष रु ६० हजारको फूल फूलेपछि उनी उत्साहित भएका थिए । यो वर्ष उनले साढे चार रोपनी बारीमा व्यावसायिक रुपमा सयपत्री फूल लगाएका छन् ।

चितवनबाट कलकत्ते सयपत्रीको दश हजार बिरुवा ल्याएर उनले बाँझो बारीमा सयपत्री रोपेका हुन् । भदौ दोस्रो साता लगाएको सयपत्रीको फूल यतिबेला ढकमक्क छ । कोदो समेत फूल्न छाडेको बारीको गह्रामा ढकमक्क फूल फुल्दा मनमोहक देखिएको छ ।

एउटै बोटमा ८० वटासम्म सयपत्रीको थङ्गा फुलेको छ । तिहारमा मात्रै सयपत्री बेचेर रु दुई लाख बढी आम्दानी हुने उनले बताए । माग धेरै आएपछि आफूले लगाएको फूलले मात्र नपुग्ने भएकाले चितवनबाट ल्याएर विक्री गर्ने गरेको उनले बताए । गत वर्ष पनि लगाएको सयपत्री फूल सबै घरबाटै विक्री भएको उनले सुनाए ।

सयपत्रीमा सम्भावना देखेका उनी अब फूल खेतीलाई निरन्तरता दिने पक्षमा छन् । यसपाली व्यावसायिक तरिकाले लाग्नुभएका उनी अर्को वर्ष फूल खेतीलाई अझै विस्तार गर्ने सोच रहेको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर