सरकारले बंगुर पाल्न नदिने भएपछि बंगुर व्यवसायी चिन्तामा, करोडौको लगानी डुब्ने भएपछि पर्पुरोमा हात समाउन बाध्य — OSNepal

सरकारले बंगुर पाल्न नदिने भएपछि बंगुर व्यवसायी चिन्तामा, करोडौको लगानी डुब्ने भएपछि पर्पुरोमा हात समाउन बाध्य

LC (KTM) November 07, 2021 0

भक्तपुर, १५ कात्तिक-फाँटमा आँखैले नभ्याउने जस्ताको टहरा, टहराभित्र राखिएका छन् बंगुरहरू । त्यही टहरा (बंगुरको खोर)भित्र बंगुरका पाठा नाच्दै छन् त कुनैमा माउ बंगुर आफ्ना पाठालाई सुम्सुम्याउँदै । कसैले केही खानेकुरा दिन्छन् कि भनेर हेरिरहेका बंगुर । यो दृश्यलाई नजिकैबाट नियाल्दै छन्, सुरेश लामा ।
विगत पाँच वर्षदेखि बंगुर फार्म सञ्चालन गर्दै आएका उनले अहिले करिब २५ लाखभन्दा बढी लगानी गरिसकेका छन् । चाँगुनारायण नगरपालिका–९ ताथलीका चुनदेवीमा उनीसँगै ३५ वटा परिवारले बंगुर पाल्दै आएका छन् ।

उनको हरेक दिन बंगुरको स्याहारसुसारमा समय बित्ने गर्छ । उनलाई मानिसले भन्दा पनि बंगुरले बढी चिन्न थालिसकेको छ । तर, अब ती बंगुरलाई पनि कहिले छोडेर जानुपर्ने हो, कुनै टुंगो छैन । उनी भन्छन्, ‘चाँगुनारायण नगरपालिकाले केही दिन अगाडि बंगुर फार्म बन्द गर्न सूचना जारी गरेको छ । सूचना अनुसार हामीले बंगर पाल्न नपाइने भयौँ ।’

अनुहार मलिन पार्दै उनले भने, ’जीवनभरीको पसिनाको कमाइ यसैमा लगानी गरेका छौँ । यतिधेरै लगानी छाडेर हामी कहाँ जाउँ, कसरी जाउँ । भर्खर जन्मिएका पाठाहरू छन् । उनीहरूलाई कहाँ कसरी स्थानान्तरण गरौँ ?’

केही दिन अगाडि चाँगुनारायण नगरपालिकाले बंगर पालन बन्द गर्न निर्देशन दिएको छ । सूचनाअनुसार ३० दिनभित्र बंगुर फार्म नहटाए पालिकाले कारबाही गर्नेछ । तर, पालिकाले गरेको सो निर्णय अपरिपक्व रहेको व्यवसायीहरूको दाबी छ । पालिकाले कृषकलाई प्रोत्साहनको लागि सहयोग र अनुदान दिनुको साटो स्थापित भएका व्यवसायीहरूलाई नियमविपरीत उठाउन खोजेको उनीहरूको गुनासो छ ।

वैदेशिक रोजगारीबाट कमाएको पैसा फार्ममा लगानी गरेको र फार्मको ऋण अझ तिर्न बाँकी रहेको सुरेश लामा दुखेसो पोख्छन् । उनीसँगै कुमार लामाले पनि सोही क्षेत्रमा बंगुर पालन गरेका छन् । उनका फार्ममा सयभन्दा बढी बंगुरहरू छन् । मलेसियाको तातो खडेरीमा पसिना बगाएर कमाएको पैसा बंगुर फार्ममै खन्याए । नगरपालिकाको उक्त सूचना देख्नेबित्तिकै उनले भने, ’गरिबको पीडा बुझ्ने को नै छ र ? ’ उनले नगरपालिकाले पटकपटक बंगुर पाल्ने व्यवसायीलाई मर्कामा पार्दै आएको गुनासो गरे ।

‘हामीलाई नगरपालिकाले गैरनागरिक जस्तो व्यवहार गरेको छ । तर, हामी पनि यही देशको नागरिक हौँ । हाम्रो बंगुरबाट स्थानीयलाई असर गरेको छैन । नगरपालिकालाई मात्र कसरी ग¥यो ?’, उनले भने, ‘लगानी उठेको छैन । ऋणमै छौँ । त्यो पैसा कसरी चुक्ता गर्ने ? हामीमाथि नगरपालिकाले अन्याय गरेको छ ।’

करिब ४० रोपनी क्षेत्रफलमा फैलिएको सो फार्ममा करिब १७ करोड लगानी गरिएको दाबी उनीहरूको छ । नगरभित्र मात्रै करिब पाँच सयवटा फार्म सञ्चालनमा रहेको अनुमान पालिकाको छ । स्थानीय जनस्तरबाट बंगुर फार्मबाट फोहोर भएको र स्वास्थ्यमा नकरात्मक असर परेकोले पालिकाले सो सूचना जारी गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए ।

मानववस्ती र बंगुर पालन सँगसँगै बस्न नहुने भएकोले पटकपटक बंगुर फार्म सार्नको लागि निर्देशन गर्दै आएको बताए । तर, नगरपालिकाको निर्णयलाई नै चुनौती दिएकोले अहिले बन्द गर्न निर्देशन गरेको उनले बताए ।

नगरपालिकाको सार्वजनिक सूचनाअनुसार ५ मंसिरभित्र नगरभित्रका सबै बंगुर व्यवसायीले फार्म पूर्ण रुपमा बन्द गर्नुपर्ने छ । नगरसभाबाट नै नगरभित्रका बंगुर फार्म बन्द गर्ने निर्णय गरेको उक्त सूचनामा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर