राजनीतिक दाउपेचमा मदन भण्डारी राजमार्ग, ठेक्का लागेन ! — OSNepal

राजनीतिक दाउपेचमा मदन भण्डारी राजमार्ग, ठेक्का लागेन !

LC (KTM) November 25, 2021 0

झापा, ९ मंसिर- चुरे क्षेत्रको ‘लाइफलाइन’ मदन भण्डारी राजमार्ग राजनीतिक दाउपेचको सिकार भएको छ । चरे क्षेत्रका नागरिकको भविष्यसँग जोडिएको मदन भण्डारी राजमार्गको सुनसरी चतरादेखि पूर्वमा मेचीनगरको मेचीडाँगी खण्डअन्तर्गत दमकदेखि शान्तिपुरसम्मको भागमा दलगत स्वर्थका कारण ठेक्का प्रक्रियाअघि बढ्न सकेको छैन ।

यो खण्डमा पर्ने इलामको तल्लो भाग केही इलाम क्षेत्र नम्बर २ पर्छ । जुन नेकपा एमाले नेता सुवास नेम्वाङको निर्वाचन क्षेत्र हो । यसको केहीमाथि चुरेको बीच भने इलामको क्षेत्र नम्बर १ पर्छ । जुन नेकपा (एस)का नेता झलनाथ खनालको निर्वाचन क्षेत्र पर्छ । मदन भण्डारी राजमार्गको रेखांकनका समयमा माई नगरपालिकास्थित दानाबारीबाट लैजाने उल्लेख थियो । जुन क्षेत्र खनालको निर्वाचन क्षेत्रपर्छ ।

तर, एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा रेखांकनलाई केही तल सारेर नेम्वाङको निर्वाचन क्षेत्रबाट लैजाने तयारी गरेपछि विवाद उत्पन्न भएको हो । उक्त विवादका कारण इलाम जिल्लामा पर्ने यो क्षेत्रबाहेक अन्य क्षेत्रमा तीन खण्डमा ठेक्का लगाएर धमाधम काम हुँदा पनि यसको ठेक्का प्रक्रियाअघि बढ्न सकेको छैन ।

रेखांकनमा राजनीतिक विवाद हुँदा ठेक्कालगायतका प्रक्रिया अघि बढ्न नसकेको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख सुवोधकुमार देवकोटाले जानकारी दिए । ‘करिब ३५ किलोमिटर सडकमा राजनीतिक विवाद छ । यो विवाद समाधान गरेर कामअघि बढ्छ । यहाँ अनुगमन भएको छ । कसरी राजनीतिक रूपले स्थिर हुन्छ । त्यहीअनुसार निणर्य गर्छौँ’, उनले भने, ‘महेन्द्र राजमार्ग छेउमा आयो । अलिक माथि लानुपर्छ भनेर विवाद हो । हामी यसको एलाइनमेन्ट गर्दा नागरिकलाई जसरी सुविधा, जीवीका गर्न फाइदा, आर्थिक र सामाजिक रूपान्तरण हुने ठाउँबाट सडक जान्छ । त्यहीअनुसार हामी एलाइनमेन्ट बनाउँछौँ ।’

याेबाहेक अन्य ठाउँमा भने धमाधम काम भइरहेको छ । धरानको चतरादेखि मेचीनगरस्थित मेचीडाँगीसम्म तीन खण्डमा ठेक्का लगाएर धमाधम काम भइरहेको प्रमुख देवकोटाले जानकारी दिए । चतरादेखि पूर्व खण्डकमा १२५ किलोमिटर सडक बन्नेछ । मदन भण्डारी राजमार्गअन्तर्गत धरान-झापा खण्डमध्ये धरानदेखि झापाको दमकस्थित बेलडाँगीसम्म ५३ किलोमिटर र मेचीडाँगीदेखि पश्चिम शन्तिपुरसम्म १० किलोमिटरमा अहिले धमाधम काम भइरहेको प्रमुख देवकोटाले बताए । तीन खण्डमा ठेक्का लगाएर धमाधम काम भइहेको छ ।

पहिलो खण्डअन्तर्गत धरानदेखि भलुवासम्म २५ किलोमिटरमा काम भइरहेको छ । ९३ करोड ३३ लाख रुपैयाँमा २९ असारमा निर्माण सम्झौता भएको यो सडक ३० महिनाभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकले जनाएको छ ।

यस्तै, दोस्रो खण्डअन्तर्गत भालुवा खोलादेखि झापाको दमकसम्मको करिब २८ किलोमिटर सडकको काम भइरहेको छ । एक अर्ब चार करोड रुपैयाँमा ठेक्का लागेको हो । यस्तै, अर्को खण्ड शान्तिनगरदेखि मेचीडाँगीसम्म १० किलोमिटर छ । यो सडक ३७ करोड ९५ लाख रुपैयाँमा ठेक्का लागेको हो । यी तीनै खण्डको काम श्रेष्ठ-मोतीदान जेभीले गरिरहेको छ । ठेक्का लागेर काम भइरहेको ठाउँमा कामको गति बढाइने आयोजना कार्यालय दमकका प्रमुख देवकोटाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर