दिपायल जोड्ने बोगटान सडक सम्पन्न भएपछि बस्ती विस्तारमा तीव्रता — OSNepal

दिपायल जोड्ने बोगटान सडक सम्पन्न भएपछि बस्ती विस्तारमा तीव्रता

LC (KTM) December 12, 2021 0

डोटी, २६ मङ्सिर-सहजपुर–बिपीनगर–बोगटान हुँदै दिपायल जोड्ने बोगटान सडक सम्पन्न भएपछि अहिले यहाँका बिभिन्न ठाउँमा बस्ती विस्तार निकै तीव्र भएको छ । केही सयम पहिले सुनसान रहेका यहाँका विभिन्न ठाउँमा सडक सञ्जाल जोडिएपछि बस्ती विस्तार हुने क्रम तीव्र बनेको स्थानीयवासी बताउँछन् । सडक निर्माणको सुरुआती समयमा सुनसान रहेका यहाँका बस्ती अहिले सडक जोडिएपछि क्रमशः बाक्लिँदै गएका बडिकेदार गाउँपालिका–१ का प्रेमबहादुर देउवाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सडक नजोडिँदा यहाँ सुनसान थियो, अहिले सडक सञ्जाल जोडिएपछि धमाधम बस्ती विस्तार हुँदै छ, अहिले सहरभन्दा यहाँ बढी चहलपहल छ ।” बस्ती विस्तारसँगै यहाँका घरजग्गाको मूल्य बढेर कारोबार पनि बढ्दै गइरहेको सञ्चारकर्मी हिक्मत बमले बताउनुभयो । पहिले यहाँ व्यापार पनि खासै थिएन, अहिले सडक जोडिएपछि जग्गा कारोबारदेखि अन्य व्यापार व्यवसाय समेत फस्टाएको बमले बताउनुभयो । वर्षौँपछि उक्त सडक जाडिएपछि कैलालीको हाटखोली, शिवनगर, चिम्चे, निगाली, डोटीको बिपीनगर, बर्छैन, घोडीलास, कापडीगाड, पात चिउरी, रुमाइल, अत्तरकाडालगायतका दर्जनौँ स्थानमा बजार विस्तार भएका छन् भने केही ठाउँमा बजार विस्तारको तयारी भइरहेको स्थानीयवासी बताउँछन् ।

यसअघि यी गाउँमा जग्गाको कारोबार खासै नहुने गरेको भए पनि उक्त सडक जोडिएको कम्तीमा पनि चार महिनामा जग्गाको कारोबारमा एकाएक वृद्धि भएको बडिकेदार–५ का स्थानीयवासी पदमसिंह बडैलाले बताउनुभयो । उहाँका अनुसार सडक आसपास क्षेत्रमा जग्गाको मूल्य आकाशिएको छ । सडक बनेपछि ग्रामीण भेग दिनहुँ व्यापारिक केन्द्रमा परिणत हुँदै गएका छन् ।

सहजपुर–बिपीनगर–बोगटान हुँदै दिपायल जोड्ने सडक खुलेपछि ग्रामीण क्षेत्र व्यापारिक केन्द्र बन्न थालेकाले स्थानीयवासीको जीवनस्तरमा परिवर्तन हुन थालेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बताउनुभयो । यहाँका बिपीनगर, भक्तपुर, खड्यौली, बर्छैन, कापडीगाड तथा शिवनगर क्षेत्रमा ठूला पसल तथा होटल निर्माण भई सञ्चालनमा समेत आउन थालेका छन् । पछिल्लो समय ती स्थानमा घरजग्गाको मूल्य आकाशिएको छ । सडक आसपासमा धमाधम घर निर्माण भइरहेका छन् । यहाँको बिपीनगर तथा शिवनगर क्षेत्रमा विगतमा रु दुई लाखमा पाइने घडेरी दुई वर्षयता तीन गुणाले बढेको स्थानीयवासी बताउँछन् ।

गाउँका जग्गा सस्तोमा बेचेर सहरी क्षेत्रमा गएकाहरु समेत सडक खुलेपछि पुनः गाउँ फर्कन थालेको बडिकेदार गाउँपालिका–१ बिपीनगरका रोजबहादुर कलेलले बताउनुभयो । सदरमुकामका प्रतिष्ठित व्यापारीले समेत यहाँका बिपीनगर तथा शिवनगर क्षेत्रमा लगानी गर्न थालेको बताइएको छ । हावापानी अनुकूल हुनु र गाउँमै यातायात पहुँच पुगेपछि लगानी भित्रिन थालेको स्थानीयवासीको बुझाइ छ । यही कारण पसल, होटल तथा कृषि फार्म गाउँमै खुल्न थालेको उनीहरूको बुझाइ छ ।
(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर