सरकारमा रहेका गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिनुपर्छ — OSNepal

सरकारमा रहेका गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिनुपर्छ

LC (KTM) December 20, 2021 0

काठमाडौँ, ५ पुस- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले हाल सरकारमा रहेका गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिनुपर्ने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठनले आज आयोजना गरेको कार्यक्रममा जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्षसमेत रहनुभएका भट्टराईले देशभित्र र बाहिर प्रतिगामी शक्तिको खतरा भएकाले गठबन्धनको निरन्तरतामा जोड दिनुभएको हो । उहाँले एमसिसीलगायतका मुद्दामा गठबन्धनमा रहेका दलहरुबीच साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सानासाना समस्याका कारणले पनि गठबन्धन भत्काउने खतरा छ ।”

अहिलेसम्मको हासिल भएको उपलब्धिको रक्षा गर्नुपर्नेमा पूर्वप्रधानमन्त्री भट्टराईको जोड छ । उन्नत समाज निर्माणका लागि सुशासन, लोकतन्त्र, समृद्धि हासिल गर्नुपर्ने उहाँले बताउनुभयो । कोही पनि निजी स्वार्थमा लम्पसार भएमा अमेरिकादेखि छिमेकी दक्षिणपन्थी शक्तिसमेत हाबी हुने खतरा रहेको उहाँले औँल्याउनुभयो ।

गत वर्ष पुस ५ गते भएको संसद् विघटन प्रतिगामी कद्म भएकाले त्यसको विरोध गरेको र अझै पनि प्रतिगमन पूर्णरुपमा अन्त्य नभएको पूर्वप्रधानमन्त्री भट्टराईको आरोप थिभयो । विगतमा पनि पटक–पटक लोकतन्त्रमाथि प्रहार भएको र त्यसविरुद्ध नेपाली जनता लड्दै आएको उहाँको भनाइ छ । गत वर्ष पुस ५ गते भएको संसद् विघटनविरुद्ध दल, नागरिक समाज र पत्रकारलगायतले आवाज उठाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अझै पनि सबै मिलेर खबरदारी गर्न लाग्नुपर्छ ।”

केही शक्ति अहिले नै उपलब्धि हासिल भइसकेको भनेर त्यसलाई जोगाउनमा जोड दिइरहेको पूर्वप्रधानमन्त्री भट्टराईले बताउनुभयो । समाज यथास्थितिमा नबस्ने हुँदा उपलब्धि रक्षा गर्दै थप उपलब्धि हासिल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर