संसद् अवरुद्ध गर्नु प्रतिगमनको नमुना हो : अध्यक्ष नेपाल — OSNepal

संसद् अवरुद्ध गर्नु प्रतिगमनको नमुना हो : अध्यक्ष नेपाल

LC (KTM) December 20, 2021 0

काठमाडौँ, ५ पुस -नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई पुनः प्रतिगमनतर्फ लैजाने प्रयास भइरहेकाले त्यसविरुद्धका शक्ति एकताबद्ध हुन आवश्यक रहेको बताउनुभएको छ ।समाजवादी प्रेस सङ्गठनले आज यहाँ आयोजना गरेको ‘प्रतिगमनको खतरा, लोकतन्त्र र संविधानको रक्षा’ विषयक अन्तक्र्रियामा अध्यक्ष नेपालले संसद् अवरोध प्रतिगमनको एउटा नमुना भएको जिकिर गर्नुभयो । नेकपा (एस)मा सहभागी भएका १४ सांसदमाथि गरिएको कारबाही कार्यान्वयनका विषयमा सभामुखले असहयोग गरेको आरोप लगाउँदै एमालेले संसद् अवरोध गर्दै आएको छ ।

राजनीतिक इतिहासका खलनायकले देशलाई प्रतिगमनतिर लैजान खोजेको आरोप लगाउँदै अध्यक्ष नेपालले पछिल्लो सरकार गठनका विषयमा सांसद स्वतन्त्र हुन पाउने अधिकारलाई सङ्कुचित बनाउन नहुने बताउनुभयो । उहाँले अदालतमा विचारधिन विषयलाई लिएर संसद् गतिरोध गर्नु संविधान विपरित रहेको तर्क गर्नुभयो ।पूर्व प्रधानमन्त्री नेपालले प्रतिगमन विरुद्व निर्माण भएको गठबन्धनको संस्कृतिलाई आगामी निर्वाचन तथा त्यसपछि पनि निरन्तरता दिइने बताउनुभयो । उहाँले निर्वाचनमा एकल पार्टीको बहुमत आउन कठिन रहेकाले पनि गठबन्धनले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकमा निरङ्कुशता लाद्न प्रतिगमनको प्रयास भएकाले त्यसको अन्त्य गर्नका लागि पाँच दलीय गठबन्धन गठन भएको स्पष्ट गर्नुभयो । नेपाली कांग्रेस नेता कार्कीले आगामी दिनमा पनि गठबन्धनको शक्तिलाई थप बलियो बनाइने बताउनुभयो ।

नेकपा(एस)का उपमहासचिव डा विजय पौडेलले जनअधिकार सुनिश्चितताका लागि लोकतन्त्रको विकल्प नरहेको प्रष्ट पार्नुभयो । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जनतामा आएको चेतनाका साथै विश्वव्यापी रुपमा सूचना प्रविधिमा भएको विकासका कारण मुलुकमा कसैले पनि श्वेच्छाचारी रुपमा प्रतिगमन गर्न नसक्ने उल्लेख गर्नुभयो । सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले एक वर्ष अगाडि पार्टीमा कमजोर भएपछि एमाले नेतृत्वले असंवैधानिक ढङ्गबाट संसद् विघटन गरेर देश र जनतालाई धोका दिएको आरोप लगाउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर