कोरोनाविरुद्धको खोप लगाउनै बेवास्ता — OSNepal

कोरोनाविरुद्धको खोप लगाउनै बेवास्ता

LC (KTM) January 05, 2022 0

इलाम, २१ पुस-कोरोनाको महामारीको बेला कोरोनाविरुद्धको खोप लगाउन मारामार हुन्थ्यो । अहिले खोप लगाउन मारामारी गर्नु पर्दैन । तर, सर्वसाधारणले खोप लगाउन बेवास्ता गर्दै आएका छन् ।

इलाममा अझै पनि आधा जनसंख्याले खोप लगाउन बाँकी छ । जिल्लामा १८ वर्षभन्दा माथिको उमेर समूहका दुई लाख ५० हजार पाँच सय जना खोप लगाउन योग्य जनशक्ति छ । तर, हालसम्म एक लाख ३७ हजार ८८ जनाले खोपको डोज पुरा गरेको स्वास्थ्य कार्यालय इलामको तथ्याङ्क छ ।

पहिलो डोज मात्रै पुरा गर्नेको संख्या एक लाख ५१ हजार ७७९ छ । जिल्लामा ९८ हजार सात सय बढिले कोरोना भाइरसविरुद्ध खोप लगाउन बाँकी देखिन्छ । खोप लगाउन बाँकी हुनेको संख्या ठूलो देखिए पनि अहिले खोप प्रतिको बेवास्ता बढ्दो छ ।

जिल्लामा खोप लगाउन आउनेको संख्या कम भएपछि जिल्लामा आएको खोप पनि अन्यत्र लगिएको छ । खोपको प्रयोग नहुने भएपछि एक्सपायर डेट नजिकिएको २० हजार डोज झापा लगायतका जिल्लामा पठाइएको स्वास्थ्य कार्यालय इलामका खोप सुपरभाइजर गंगाधर पण्डितले बताए । ‘यहाँ प्रयोग नहुने भएपछि माग भएका जिल्लामा खोप पठाइएको हो’, खोप सुपरभाइजर पण्डितले भने,‘यहाँबाट लगिएको खोप प्रयोग नै भइसक्यो ।’

कोरोनाको महामारीबाट आर्थिक र मानवीय क्षति भइसक्दा पनि खोप लगाउनुपर्छ भन्ने चेतना नभएकै कारण खोप प्रति बेवास्ता भएको हो । ‘कतिपयलाई अहिले पनि खोप लगाउन पर्दैन भन्ने भान छ’, स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर पण्डितले भने,‘सबैतिर सूचना पनि नपुगेको हुनसक्छ ।’

जिल्लाको चुरे क्षेत्रका पालिकाहरूमा खोप लगाउनेको संख्या कम छ । माङसेबुङ्ग, रोङ चुलाचुली माई नगरपालिका क्षेत्रमा खोप लगाउनेको संख्या कम छ । अहिले जिल्ला अस्पतालमा साताको बिहीबार नियमित रूपमा खोप लगाउन पाइन्छ । आवश्यकता अनुसार पालिकाको केन्द्रमा समेत खोप लगाउन पाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

तर, पालिकाहरूमा पठाइएको खोप पनि स्वास्थ्य कार्यालयमा फिर्ता आउने गरेको छ । अहिले १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइँदैछ । बालबालिकाहरूलाई विद्यालयमानै मोर्डना खोप लगाइँदै गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा १२ वर्षदेखि १८ उमेर समूहका ३२ हजार जनसंख्या रहेको तथ्याङ्क छ ।

कोरोनाको महामारी फेरी फैलिन थालेपछि छिमेकी मुलुक भारतसहित कतिपय देशमा मानिसहरूको भिडभाड नियन्त्रण गर्न थालिएको छ । मानवीय गतिविधि नियन्त्रण गर्न अत्यावश्यक बाहेकका सेवा कटौती, लकडाउन गर्ने, कर्फ्यु लगाउन थालिएको छ ।

नेपालमा भने अनावश्यक भिडभाड मात्रै होइन, स्वास्थ्यको मापदण्ड पनि पालना हुँदैन । कोरोना भाइरसको नयाँ भेरिएन्टको जोखिम बढ्दै जाँदा महामारीप्रतिनै बेवास्ता गर्न थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर