महिला फुटबल लिगको पहिलो चरणका चितवनमा हुने — OSNepal

महिला फुटबल लिगको पहिलो चरणका चितवनमा हुने

LC (KTM) February 16, 2022 0

चितवन, ४ फागुन-राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करणका पहिलो चरणका खेल भरतपुरमा हुने भएको छ । भरतपुर महानगरपालिका भित्रका दुई खेल मैदानमा यही फागुन १० गतेदेखि खेल हुने भएको हो ।लिगको पहिलो चरणको खेल सञ्चालनका लागि भरतपुर महानगरपालिका र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बीच सम्झौता भएको छ । सम्झौतापत्रमा महानगर प्रमुख रेनु दाहाल र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले हस्ताक्षर गर्नुभएको छ ।

महानगर प्रमुख दाहालले राष्ट्रिय महिला लिग भरतपुरमा आयोजना गर्न पाउनु गर्वको विषय भएको बताउनुभयो । एन्फा अध्यक्ष शेर्पाले भरतपुर देशकै मध्यभागमा रहेकाले राष्ट्रिय महिला लिगको पहिलो चरणका खेल यहाँ आयोजना गर्न लागिएको बताउनुभयो ।

सम्झौताअनुसार लिग सञ्चालनका लागि महानगरले एन्फालाई रु २० लाख आर्थिक सहयोग उपलब्ध गराउनेछ । राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेल भने विराटनगरमा हुनेछ । लिगका ५६ मध्ये २८ खेल चितवनमा हुनेछ । खेल भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित कृष्णपुर खेल मैदान र वडा नं १९ को खेल मैदानमा हुनेछ । केही दिनभित्रै खेल तालिका सार्वजनिक गरिनेछ ।यसपटक महिला लिगमा तीन विभागीय टोली नेपाल प्रहरी क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सहित, वालिङ, विराटनगर, चपुर, धनगढी र ललितपुर भिड्नेछन् । यसअघि पहिलो संस्करणको महिला लिग काठमाडौँमा भएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर