बेनीमा स्नातक तहमा कम्प्युटर र सूचना प्रविधिको पठनपाठन — OSNepal

बेनीमा स्नातक तहमा कम्प्युटर र सूचना प्रविधिको पठनपाठन

LC (KTM) February 18, 2022 0

बेनी- म्याग्दी सदरमुकाम बेनीमा अवस्थित म्याग्दी बहुमुखी क्याम्पसले समयसापेक्ष रूपमा अध्यापन हुने विषयको दायरालाई बढाउँदै लगेको छ । क्याम्पसले पहिलोपटक स्नातक तहमा सेमेस्टर प्रणालीअन्तर्गत कम्प्युटर र सूचना प्रविधि विषयमा अध्यापन गराउने तयारी गरेको हो ।बिहीबार क्याम्पसमा आयोजित अन्तक्र्रिया कार्यक्रममा समय सुहाउँदो प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले जुनसुकै विषय लिएर प्लस टु उत्तीर्ण गरेका विद्यार्थीले अध्ययन गर्न सक्ने गरी स्नातक तहमा कम्प्युटर र सूचना प्रविधि विषय (बिआइसिटीई)को अध्यापन गराउन लागिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्याम्पसले स्नातक तहमै शिक्षा सङ्कायमा विज्ञान विषयमा समेत अध्यापन गराउने भएको छ । जिल्लामा अत्यावश्यक र रोजागरको सम्भावना भएकाले कम्युटर र सूचना प्रविधि तथा विज्ञान विषयको अध्यापन गराउन लागिएको उहाँको भनाइ छ । अध्ययनका लागि कक्षा १२ मा न्यूनतम २.०१ ‘सी’ जिपिए प्राप्त र विज्ञान विषय लिएर पढेको वा विज्ञान सङ्कायमा अध्ययन गरेका विद्यार्थीले आवेदन दिनसक्ने क्याम्पसले जनाएको छ ।

स्थानतक तहमा कम्प्युटर र सूचना प्रविधि विषयमा धवलागिरिमै पहिलोपटक म्याग्दी क्याम्पसले अध्यापन गराउन लागेको क्याम्पसका निमित्त क्याम्पस प्रमुख श्रीधर सुवेदीले जानकारी दिनुभयो । यस वर्ष ३५ जनाको कोटा रहेकामा अहिलेसम्म १२ जना सम्पर्कमा आइसकेका र यही फागुन १० गतेसम्म नियमित तथा फागुन १५ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने उहाँले बताउनुभयो ।

अध्ययन गर्न आउने विद्यार्थीलाई सुविधासम्पन्न छात्राबास भएकाले रोजगारमा कार्यरत र बाहिर जिल्लाबाट अध्ययनका लागि आउनेले समेत आवेदन दिएर भर्ना हुन सक्नेछन् । आठ सेमेस्टरमा चारवर्षे शैक्षिक कार्यक्रममा विद्यार्थीलाई सैद्धान्तिक विषयसँगै प्रयोगात्मक अध्ययन अध्यापन गराइने क्याम्पसले जनाएको छ ।

विश्वविद्यालय अनुदान आयोगबाट (क्युएए) को प्रमाणपत्र प्राप्त क्याम्पसले यस अगाडि व्यवस्थापन सङ्कायमा स्नातकोत्तर तहको पठनपाठन गर्दै आएको छ भने शिक्षा र मानविकी विषयमा स्नातकोत्तर तहको पठनपाठन गराउने तयारीसमेत गरेको छ । क्याम्पस सञ्चालक समितिले क्याम्पसको भौतिक तथा शैक्षिक व्यवस्थापन र थप प्रभावकारी बनाउन विभिन्न उपसमिति गठन गरी कार्यविधि बनाएर अघि बढेको सञ्चालक समितिका उपाध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । विसं २०४८ पुस १८ गते स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा हाल प्लस टु र स्नातक तहमा शिक्षा, मानविकी र व्यवस्थापन सङ्कायमा स्नातकोत्तर तहको पढाइ हुँदै आइरहेको छ । यहाँ करिब एक हजार ३०० विद्यार्थी अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर