स्थानीय उत्पादनमा आधारित उद्योग स्थापनामा जोड दिनुपर्ने — OSNepal

स्थानीय उत्पादनमा आधारित उद्योग स्थापनामा जोड दिनुपर्ने

LC (KTM) February 19, 2022 0

ताप्लेजुङ ७ फागुन । प्रदेश नं १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले स्थानीय उत्पादनमा आधारित उद्योग स्थापनामा जोड दिनुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ ताप्लेजुङले आज बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले स्थानीय उत्पादनमा वृद्धि गरी उद्योग स्थापनामा जोड दिनुपर्ने बताएका हुन् । “स्थानीय रुपमा पाइने कच्चापदार्थलाई सदुपयोग गर्न सके सर्वसाधरण नागरिकको आयआर्जनमा वृद्धि हुनाका साथै रोजगारका अवसरसमेत सिर्जना हुन्छ”, उनले भने, “विभिन्न समयमा राज्यबाट सीप र अनुदान लिएर चुपचाप बसेकालाई घच्घच्याउने र अवसरको सिर्जना गर्नसमेत स्थानीय उत्पादनमा आधारित उद्योग स्थापना गर्नुपर्छ ।”

मन्त्री हाङ्गामले प्रदेशभरका घरेलु तथा साना उद्योगलाई दर्ता र नवीकरणको प्रक्रियामा ल्याइने उल्लेख गर्दै हिमाल, पहाड र तराईको भूभागलाई समेटेको प्रदेश १ मा कच्चापदार्थको उपलब्धता र औद्योगिकीकरणको प्रशस्त सम्भावना भएकाले ठाउँ र आवश्यकतालाई हेरेर योजना बनाउने प्रतिवद्धता व्यक्त गरे ।

यहाँ उत्पादन हुने अलैँची, चिया, अदुवा, जडीबुटीजन्य पदार्थ, बाँस आदिको व्यावसायिक उत्पादन र प्रशोधनमा ध्यान दिने उनको भनाइ छ ।

उनले स्थानीय रुपमा उत्पादन हुँदै आएको घरेलु मदिरा )रक्सी) लाई ब्रान्डिङ गरेर बजारीकरण गर्न सकिने सम्भावनाको खोजी गर्नेसमेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर