पोखरा विश्वविद्यालयको सत्रौं दीक्षान्त समारोहमा नेकलाई स्वर्ण पदक — OSNepal

पोखरा विश्वविद्यालयको सत्रौं दीक्षान्त समारोहमा नेकलाई स्वर्ण पदक

LC (KTM) February 21, 2022 0

काठमाडौं, फागुन ८ – आज सम्पन्न पोखरा विश्वविद्यालयको सत्रौं दीक्षान्त समारोहमा नेपाल इन्जिनियरिङ कलेज (नेक)का स्नातकोत्तर कार्यक्रममा विद्यार्थी सुभाषकुमार दत्तले स्वर्ण पदक प्राप्त गरेका छन् । नेकका सञ्चालित स्नातकोत्तर कार्यक्रम एम. एस्सि ट्रान्सपोर्टेसन इन्जिनियरिङ एण्ड मानेजमेन्टका विद्यार्थी सुभाषकुमार दत्तले सर्वोत्कृष्ट जि.पि.ए.(४ मा ४) ल्याउन सफल हुनु भएकोमा वहाँलाई उक्त स्वर्ण पदक प्रदान गरिएको हो ।

त्यसैगरी नेकबाट विभिन्न स्नातकोत्तर कार्यक्रमहरूको अध्ययनमा उत्कृष्ट जि.पि.ए. ल्याउन सफल ११ जनालाई डीन लिष्टमा समावेश गरिएको छ । उत्कृष्ट जि.पि.ए.ल्याउन सफल भएता पनि कोभिड महामारीको कारणले शोधपत्र बुझाउन ढिला भएका विद्यार्थीहरूको नामावली डीन लिष्टमा समावेश गरिएको छैन ।

पोखरा विश्वविद्यालयको सम्बन्धनमा नेपाल इन्जिनियरिङ कलेजमा सञ्चालित विभिन्न स्नातक कार्यक्रमहरूमा उत्कृष्ट जि.पि.ए. ल्याउन सफल २६ जनाविद्यार्थीहरूलाई पनि पोखरा विश्वविद्यालयको सत्रौं दीक्षान्त समारोहमा डीन लिष्टमा समावेश गरिएको छ । डीन लिष्ट र स्वर्ण पदक प्राप्त गर्न सफल सबै विद्यार्थीहरूलाई आज काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेश राज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न दीक्षान्त समारोहमा पोखरा विश्वविद्यालयका उपकुलपतिबाट प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रममा पोखरा विश्वविद्यालयका कुलपति प्रधानमन्त्री शेरबहादुर देउवा र सहकुलपति शिक्षा मन्त्रीदेवेन्द्र पौडेल भने अनुपस्थित थिए ।

नेपाल इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङ अध्ययन सकाई प्रमाणपत्रको लागि आवेदन दिने विद्यार्थीहरूको यस वर्ष मात्र संख्या दुई सय ९८ जना थियो । अधिल्लो दीक्षान्त समारोह पश्चात नेकबाट स्नातक र स्नातकोत्तर तह गरी ६ सय २५ जना विद्यार्थीहरूले विभिन्न कार्यक्रमहरूमा इन्जिनियरिङ अध्ययन सकाइसकेका छन् । कयौं विद्यार्थीहरूले नेकबाट इन्जिनियरिङ अध्ययन सकाए पनि विभिन्न कारणले प्रमाणपत्रको लागि समयमै आवेदन नदिएका विद्यार्थीहरूको नाम दीक्षान्त समारोहको जानकारी पुस्तिकामा समावेश नगरिएको कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर