घरघरमा कोसेली पाएपछि खुशीले फुरुगं छन् ताप्लेजुङका सुत्केरी महिला — OSNepal

घरघरमा कोसेली पाएपछि खुशीले फुरुगं छन् ताप्लेजुङका सुत्केरी महिला

LC (KTM) February 25, 2022 0

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाकाले सञ्चालन गरेको ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम प्रभावकारी भएको छ ।

गाउँपालिकाले गत वर्षदेखि गर्भवती तथा सुत्केरीलाई लक्षित गरेर ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम सञ्चालनमा ल्याएको हो । सो कार्यक्रमअन्तर्गत गाउँपालिकाका उपाध्यक्ष रनमाया गुरुङले खाद्यान्न, पौष्टिक आहारसहित कोसेली लिएर सुत्केरीको घरघरमा पुग्ने गरेको छ । “पालिकामा एक सयभन्दा बढी गर्भवती हुन सक्छन् । उनीहरु सबैको घरमा पुग्दा हौसला त हुन्छ नै”, उहाँले भन्नुभयो, “घरपरिवारमा उनीहरुलाई सुत्केरीका बेलामा थप हेरचाह र सहयोग हुनुपर्ने सन्देश पनि प्रवाह गर्ने गरेका छौं ।”

कार्यक्रम गाउँपालिकाका सुत्केरीलाई भेट गर्ने अवसरका रुपमा मात्र नभएर सुत्केरीलाई पौष्टिक खानेकुरा खुवाउनुपर्ने र आवश्यक हेरचाह गर्नुपर्ने सन्देश समेत प्रवाह भएको उपाध्यक्ष गुरुङको भनाइ छ । कार्यक्रमअन्तर्गत प्रत्येक सुत्केरीलाई चार किलोग्राम चनामटर, एक किलोग्राम हर्लिक्ससहित स्वास्थ्य सामग्री र नवजात शिशुका लागि न्यानो कपडा तथा सुत्केरीका लागि साबुन, नङ काट्ने, प्याड र भित्र फेर्ने कपडा सुत्केरी भएको २० दिनभित्र उनीहरुको घरघरमा पु¥याउँदै आएको उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्षको अहिलेसम्म १०४ सुत्केरीको घरमा पुगेर कोसेली उपलब्ध गराइसकेको छ । पाथीभरा याङ्वरक गाउँपालिका–१ मा ३३ सुत्केरीको घरमा पुगेर कोसेली उपलब्ध गराइएको बताइएको छ । त्यस्तै वडा नं २ मा ३३, वडा नं ४ मा १५, वडा नं ५ मा सात र वडा नं ६ मा १६ सुत्केरीको घरमा कोसेली पु¥याइसकिएको उपाध्यक्ष गुरुङले बताउनुभयो । “कोसेलीसँगै स्वास्थ्यकर्मी लिएर आजदेखि वडा नं २ का सुत्केरीका घरमा जाने तयारीमा छु”, उहाँले भन्नुभयो ।

स्वास्थ्यचौकीमा स्वास्थ्य चेकजाँच तथा सुरक्षितरुपमा प्रसूति गराउने उद्देश्यले कार्यक्रम सुरुआत गरेको उपाध्क्ष गुरुङले बताउनुभयो । सुत्केरी भएकाको घरघरमा पुगेर सामग्री वितरण तथा सुरक्षित प्रसूतिबारे जनचेतना जगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको पाथीभरा याङ्वरक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र लिम्बूले बताउनुभयो । सुरक्षित प्रसूति र स्वास्थ्य सन्देशसहित सामग्री वितरण भएको उहाँको भनाइ छ ।

प्रसूति खर्चबापत नेपाल सरकारले उपलब्ध गराउँदै आएको बाहेक थप रु एक हजार गाउँपालिकाले प्रदान गरेको प्रमुख लिम्बूले बताउनुभयो । गाउँपालिकाको प्रत्येक वडामा दुई–दुई महिनामा गर्भवती महिलाको स्वास्थ्य परीक्षणको लागि भिडियो एक्सरे शिविर सञ्चालन गर्दै आएको उहाँको भनाइ छ । स्वास्थ्य परीक्षणपछि थप उपचारका लागि गाउँपालिकाभन्दा बाहिर जानुप¥यो भने प्रतिसुत्केरी रु पाँच हजारको दरले उपलब्ध गराउँदै आएको गाउँपालिकाले जनाएको छ । गत वर्ष सोही कार्यक्रममार्फत ७८ सुत्केरीको घर पुगेर कोसेली पु¥याउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर