नेपाल भारत जमुनाहा नाकामा कोरोना संक्रमण घट्यो — OSNepal

नेपाल भारत जमुनाहा नाकामा कोरोना संक्रमण घट्यो

LC (KTM) February 25, 2022 0

नेपालगञ्ज, मुलुकमा कोरोना भाइरस सङ्क्रमण घटेसँगै सीमानाकामा पनि घटेको पाइएको छ ।बाँकेस्थित नेपाल भारत जमुनाहा नाका र कैलालीस्थित धनगढी नाकाबाट स्वदेश फर्कनेमा कोभिड–१९ परीक्षण गराउँदा सङ्क्रमण घटेको पाइएको हो । सङ्क्रमणको तेस्रो लहर सुरु हुँदा भारतबाट आउने नेपालीमा सङ्क्रमण बढेकोमा अहिले घटेको पाइएको छ ।

मुलुकमा नै कूल परीक्षण गराएकामध्ये ४।१ प्रतिशतमा मात्र सङ्क्रमण रहेको छ । हिजो फागुन १२ गते सात हजार ७४३ जना परीक्षण गराउँदा ३१८ मा कोरोना भाइरस सङ्क्रमण देखिएको थियो । भारतको विभिन्न प्रान्तबाट फर्किएकाको परीक्षण गर्दा सङ्क्रमण घटेको पाइएको हो । फागुनयता सङ्क्रमित हुने सङ्ख्यामा कमी आएको जमुनाहा सीमानाकाका स्वास्थ्य सहयोग कक्षका प्रमुख गीता शाहीले जानकारी दिनुभयो ।

फागुन १ गते नमूना परीक्षण गरिएका ३६७ मध्ये आठ जनामा सङ्क्रमण देखिएको थियो भने फागुन ५ मा ३२६, फागुन १० गते १५७ र फागुन १२ गते ३१७ जनामा एन्टिजेन परीक्षण गर्दा कसैलाई पनि सङ्क्रमण नदेखिएको उहाँले बताउनुभयो । यस्तै फागुन २ गते २९५ मा तीन, फागुन ३ गते १६३ मा दुई, फागुन ४ गते ३४० मा तीन, फागुन ६ गते ३१५ मा चार, फागुन ७ मा २३२ मा एक, फागुन ८ गते २८३ मा तीन, फागुन ९ गते १७५ मा एक र फागुन ११ गते ३१७ मा परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको थियो ।

तेस्रो लहर सुरु भएसँगै नाकामा सबैभन्दा बढी पुस १८ गते ६६० को परीक्षण गर्दा ४९ जनामा सङ्क्रमण देखिएको थियो । सिनियर अनमी शाहीले अहिलेसम्म सङ्क्रमण देखिएकामध्ये दुई जनालाई मात्र लक्षण देखिएको बताउनुभयो । सहायता कक्षले भारतबाट नेपाल आउनेलाई कोरोना भाइरसविरुद्धको खोप पनि लगाउने गरेको छ । उहाँका अनुसार दैनिक ४० देखि ५० जनालाई खोप लगाउने गरिएको छ । नेपाल फर्केकालाई पहिलो, दोस्रो र बुस्टर डोज दिइने थालिएको उहाँले बताउनुभयो । यही फागुन ९ गतेदेखि यता १९८ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । सहायता कक्षले सीमानाकामा स्वदेश फर्कनेलाई अहिले जोन्सन एण्ड जोन्सन खोप लगाइरहेको छ ।

यस्तै कैलाली–कञ्चनपुरको भारत नाका जोड्ने त्रिनगर स्वास्थ्य सहायता कक्षका प्रमुख गणेशबहादुर साउँदले पनि भारतबाट आउने नेपालीमा सङ्क्रमण कम देखिने गरेको बताउनुभयो । उहाँका अनुसार हिजो फागुन १२ गते २०१ जनाले परीक्षण गराउँदा कसैमा पनि सङ्क्रमण नदेखिएको बताउनुभयो । उहाँले भारतबाट नेपाल फर्कने नेपालीको कोभिड–१९ परीक्षण गर्दा दुई हप्तादेखि सङ्क्रमण घटेको बताउनुभयो । फागुन ११ गते ३७३ मा एक, फागुन १० गते ४०८ मा तीन, फागुन ९ गते २१६ मा तीन, फागुन ८ गते ३२० मा एक र फागुन ७ गते ४०२ मा पाँच जनामा सङ्क्रमण देखिएको छ । यस्तै फागुन ६ गते ३९१ मा दुई, फागुन ५ गते ४६४ मा एक, फागुन ४ गते ३९० मा तीन, फागुन ३ गते २५६ मा तीन, फागुन २ गते ४९९ परीक्षणमा दुई र फागुन १ गते ४४० मा तीन जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य सहायता कक्षका प्रमुख साउँदका अनुसार तेस्रो लहरको सङ्क्रमण हुँदा एकै दिन नाकामा १३७ जनामा पनि सङ्क्रमण देखिएको थियो । पुस ३० गते एकै दिन १३७ मा सङ्क्रमण देखिएको थियो । यस्तै पुुुस २९ गते ८६२ मा परीक्षण गर्दा १३५ जनामा सङ्क्रमण देखिएको थियो । कोरोना भाइरसको तेस्रो लहर सुरु भएपछि सीमा नाकामा पुस १७ गतेदेखि माघ २० गतेसम्म सङ्क्रमण सङ्ख्या बढेको उहाँले बताउनुभयो ।

उक्त नाकाबाट दैनिक भारतको महाराष्ट्र, मुम्बई, दिल्ली, बैङ्लौर, पुनालगायत प्रान्तबाट दैनिक ४०० देखि ५०० मानिसहरु स्वदेश फर्किरहेका छन् । उहाँले स्वदेश आउने नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप पनि प्रदान गरिरहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर