मौलिक जरोकिलो पार्टीद्धारा युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोध — OSNepal

मौलिक जरोकिलो पार्टीद्धारा युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोध

LC (KTM) February 25, 2022 0

युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोधमा नेपाल सरकारले जारी गरेको वक्तव्यको मौलिक जरोकिलो पार्टीले समर्थन गरेको छ । कुनै पनि परिस्थितिमा राष्ट्रको सार्वाभौमसत्ता र क्षेत्रीय अखण्डताको प्रतिकूल हुने गतिविधिको पार्टीले खुलेर बिरोध गरेको छ । यसैक्रममा युक्रेन र रुस बीच उत्पन्न विवादको शान्तिपूर्ण समाधान खोज्न पार्टीले आग्रह गरेको छ ।

त्यस्तै, एमसीसी परियोजनाको सम्बन्धमा छिमेकी चीन र अमेरिका एकअर्कालाई आरोप प्रत्यारोपमा उत्रिने अवस्था आउनु नेपालको निम्ति चिन्ताजनक विषय भएको पार्टीले बताएको छ । नेपालको सत्तावृत्तमा रहेका दलहरूको अकर्मण्यता र अदुरदर्शिताको कारण एमसीसी परियोजना गिजोलिएर नेपालको अन्तरराष्ट्रिय छवि बिग्रिने र मित्र राष्ट्रहरूसँगको सम्बन्धमा तिक्तता आउने अवस्था सृजना भएको जनाएको छ ।
एमसीसी, बिआरआई र रिभरलिंक जस्ता रणनीतिक परियोजना नेपालको निम्ति आवश्यक नभएको कुरा पार्टीले स्थापनाकाल देखि उठाउँदै आएको प्रष्ट पारेको छ । तर मित्रराष्ट्रहरूबाट हुँदैआएको विकास सहयोग विशुद्ध द्विपक्षीय समझदारीबाट मात्रै ग्रहण गर्नु नेपालको हितमा हुने पार्टीले बताएको छ ।

कुनै पनि परियोजनाको सम्बन्धमा नेपालको हितलाई केन्द्रमा राखेर निर्णय गर्नुपर्ने साथै मित्र राष्ट्रहरूको सुरक्षा तथा अन्य संवेदनशीलतालाई सम्बोधन गरेर आश्वस्त पार्ने कुटनीतिक चतुर्याईं नेपालले देखाउनु अति आवश्यक रहेको छ । नेपालको विकासको निम्ति रणनीतिक परियोजना होइन, पूँजीगत बजेटको पूर्ण सदुपयोग हुने संरचनागत सुधार र विकासको मौलिक ढाँचाको अवलम्बन आवश्यक रहेको कुरा मौलिक जरोकिलो पार्टीले स्पष्ट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर