बिवादको बारेमा प्रकाश सपुतले लेखेका छन् ‘पिर’ प्रतिको शुभेच्छाका लागि तपाईंहरु सबैलाई धेरै-धेरै धन्यबाद ! सवैको अपेक्षा अनुसारको सिर्जना गर्न सम्भव नहुँदो रहेछ। सधैं कसैको मन नबिझाइ सवैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने रहेछ। त्यसैले मेरो नयाँ गीत ‘पिर’का कारण केही दर्शकस्रोतालाई मर्का परेको मैले महशुस गरेको छु ! गीतले भन्ने चाहेको कुरा यहाँलाई अवगत भइसकेको छ। एउटा सर्जक भएका नाताले आफ्नो सिर्जनालाई लिएर गरिएका अपेक्षा र टिप्पणीहरुको उपेक्षा गर्न हुन्न भन्ने मलाई महशुस भएको छ। मैले सवै खालका प्रतिक्रिया र टिप्पणी हेरिरहेको छु। यतिबेला आफ्नै सिर्जना तपाईंहरुका नजरबाट नियालिरहेको छु। मैले गल्ती गरेको हो कि ? तपाईंहरु (केही)ले गलत बुझ्नुभएको हो, समिक्षा गर्दैछु।
‘पिर’बाट मैले युद्धकै जग/ बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको हो । समानताको लागि एकसाथ लडेका कमरेडहरु बिचमा बढ्दै गएको असमान दूरी देखाउन खोजेको हो । एक आमनागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोशिस गरेको हो । मलाई लागेको – यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरुमा हेर्दै आएको होइन र? पत्रपत्रिकाहरुमा त्यसबारे लेखिदै / पढिँदै आएको होइन र? छर्लङ्गै देखिएको विषय होइन र ? स्वीकारिएको विषय होइन र?
जसरी यसअघिका गीतहरु ‘बोल माया’, ‘दोहोरी ब्याटल’, ‘गल्बन्दी’, ‘बदला बरिलै’, ‘फुटेका चुरा’ , ‘मेरो पनि हैन र यो देश’ , ‘कुरा बुझ्न पर्छ ‘ गीतहरुमा कथा बुन्थें, पात्र बनाउथें , टुक्का टिप्थे, लय हाल्थे र रेकर्ड / छायाङकन गर्थें । यसमा पनि त्यही प्रक्रिया छ ।
गीतको पृष्ठभूमिका बारेमा केही अवगत गराउन चाहन्छु। ६ वर्ष अगाडि करिब ४ वर्ष दोहोरी साँझमा काम गर्दा गाउने/बजाउने/ पकाउने/ पस्कने मध्यका थुप्रै सहकर्मीहरु पुर्व लडाकु थिए। उनीहरु चरम निराशाबादी कुरा गर्थे। त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ। संयोगले अहिले निस्क्यो। यसबाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको स्पस्ट पार्न चाहन्छु। प्रतीकात्मक रुपमा दृष्यहरु निर्माण गरेर बनाएको एउटा कमरेडको कथा हो ‘पिर’। यो बिचमा मैले यस्ता पात्रहरुको अवस्था, स्वभाव, सोचको अध्ययन गरें। केही पात्रहरुसँग भेटेर कुराकानी पनि गरें। केहि पात्रहरु पढें । आम मानिसका भोगाई र संवेदनाहरु बुने र भिडियो बनाएँ। मेरो पेशा र पहिचान यहि हो। भिडियो हेर्नुस