क्यान्सरपीडित मीनाकुमारीका लागि आयो पाँच लाख सात हजार आर्थिक सहयोग — OSNepal

क्यान्सरपीडित मीनाकुमारीका लागि आयो पाँच लाख सात हजार आर्थिक सहयोग

LC (KTM) April 05, 2022 0

गलकोट-लामो समयदेखि स्तन क्यान्सरबाट पीडित बागलुङ नगरपालिका–८ का मीनाकुमारी हमाललाई रु पाँच लाख सात हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । जापानमा रहनुभएका नेपालीहरुबाट र नेपालमामा समेत चलाइएको सहयोग सङ्कलन अभियानबाट जुटेको उक्त रहम क्यान्सरपीडित मीना हमालको घरमै पुगेर आज हस्तान्तरण गरिएको हो । आर्थिक रुपमा कमजोर रहेको ५५ वर्षीया मीनाको आर्थिक अभावमै उपचारमा समस्या भएपछि सहयोग सङ्कलन अभियान चलाइएको थियो ।

भरतपुर क्यान्सर अस्पतालमा उहाँको उपचार भइरहेको भए पनि आर्थिक समस्याले अहिले गाउँमै हुनुहुन्छ । हमालको उपचारका लागि गलकोटमा जन्मेर जापानमा कर्मथलो बनाएका नेपालीहरुबाट सङ्कलित रु तीन लाख ८१ हजार ८९७ र नेपालमा सङ्कलित रु एक लाख १८ हजार ११० गरी पाँच लाख सात हजार रकम हस्तान्तरण गरिएको छ ।

गलकोट समाज जापानअन्तर्गतको मानवीय सेवा विभागअन्तर्गतका संयोजक रतनसिंह भण्डारी, जापानमै रहनुभएका मीनराज खत्री मिलन, श्याम शर्मा, गीता सुवेदी तथा खरुवा समाजका अध्यक्ष गगन सिंह खत्रीको सक्रियता र समन्वयमा उक्त रकम सङ्कलन गरी पठाइएको थियो । नेपालमा सञ्चालन गरिएको सहयोग अभियानमा गोविन्दप्रसाद शर्मा, शर्मिला मल्ल शर्मा र उजेली खड्का मल्लले सक्रिय रुपमा सहयोग गर्नुभएको थियो । सहयोग अभियानको स्थानीय संयोजन गलकोट समाज बागलुङका सदस्य ललिता थापा र राज थापाले गर्नुभएको थियो ।

उक्त सहयोग रकम बागलुङ नगरपालिका–८ सिगानाका वडाध्यक्ष जितबहादुर जिसी राजनको प्रमुख आतिथ्यतामा हस्तान्तरण गर्नुभएको थियो । सहयोग हस्तान्तरणपछि बोल्दै वडाध्यक्ष जिसीले माइती गाउँलेहरुको सक्रियतामा सङ्कलन गरिएको रकमले पीडितको उपचारमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । आर्थिक सहयोग पाएसँगै मीना हमाल पुनः भरतपुर क्यान्सर अस्पताल जाने तयारीमा रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर