रुकुम (पूर्व)मा एकै पटक टेलिफोन र विद्युत् सेवा अवरुद्ध — OSNepal

रुकुम (पूर्व)मा एकै पटक टेलिफोन र विद्युत् सेवा अवरुद्ध

LC (KTM) May 03, 2022 0

रुकुम (पूर्व)- रुकुम (पूर्व) मा विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएको छ । जिल्लामा एकै पटक टेलिफोन र विद्युत् सेवा अवरुद्ध हुँदा नागरिक मर्कामा परेका छन् । सोमबारदेखि अवरुद्ध भएको टेलिफोन र विद्युत् सेवा अहिलेसम्म सुचारु हुन नसक्दा सेवाग्राही मारमा परेका छन् । अहिले जिल्लावासीलाई फोन गर्न, इन्टरनेट चलाउन, सुचना आदानप्रदान गर्न, बत्ती बाल्न र विद्युतीय कामकाज गर्न समस्या भइरहेको छ । रुकुम (पश्चिम)को जन्ति बस्ने लेकस्थित टावरमा चट्याङबाट क्षति पुग्दा रुकुुम (पूर्व)मा टेलिफोन सेवा अवरुद्ध भएको दूर सञ्चार कार्यालय रुकुुम (पूर्व)का प्रमुख चन्दनकुमार यादवले जानकारी दिनुभयो । चट्याङ्बाट तार जलेको छ । तार मर्मतको काम सम्पन्न भएको कार्यालयले जनाएको छ । टेलिफोन सेवा पुनः सञ्चालन हुन केही समय लाग्ने यादवले बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र रुकुम(पूर्व)ले हावाहुरीका कारण विद्युत् सेवा अवरुद्ध भएको जनाएको छ । हावाहुरीले सल्यान र रुकुम(पश्चिम)मा रुख ढलेका कार सेवा अवरुद्ध भएको वितरण केन्द्रका प्रमुख सुरेश चौधरीले जानकारी दिनुभयो । रुकुम(पश्चिम) को धैरेनीचौरस्थित सव स्टेसन सञ्चालनमा आएपछि विद्युत् अनियमितको समस्या समाधान हुने बताइएको छ ।

रुकुुम (पश्चिम)ले काममा ढिलासुस्ति गर्दा रुकुम(पूर्व) मा विद्युत् अनियमित हुने समस्या हट्न नसकेको वितरण केन्द्र रुकुम(पूर्व)ले जनाएको छ । टेलिफोन र विद्युत् सेवा अवरुद्ध भएसँगै यहाँका सरकारी तथा गैरसरकारी कार्यालयमा कामकाज गर्न समस्या भएको छ । स्थानीय तह चुनाव नजिकिँदै गर्दा विद्युत् र टेलिफोन सेवा ठप्प हुँदा कामकाजमा बाधा पुगेको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर