बजेटमा दाङका योजना समेटिए — OSNepal

बजेटमा दाङका योजना समेटिए

LC (KTM) June 01, 2022 0

दाङ-सङ्घीय सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९÷८० को बजेटमा दाङका योजनासमेत प्राथमिकतामा परेका छन् । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आवका लागि संसदमा प्रस्तुत बजेटमा पुरानो टरिगाउँ विमानस्थलको स्तरवृद्धि तथा पहुँचमा विस्तार गर्न बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । उहाँले टरिगाउँ विमानस्थलसहित डढेलधुरा, बागलुङको बलेवा, टीकापुर, चौरजहारी विमानस्थल लगायतकोस्तरवृद्धि तथा उदयपुर विमानस्थलको निर्माणकार्य सुरु गर्न संयुक्तरुपमा १२ अर्ब २४ करोड बजेट विनियोजन गरिएको जानकारी गराउनु भएको हो ।

त्यस्तै राप्ती राजमार्ग अन्तर्गत अमेलिया– तुलसीपुर, सल्यानहुँदै रुकुमको मुसिकोट र शहीद मार्गअन्तर्गत घोराही–रोल्पा थवाङहुँदै मैकोट जोड्ने सडकका लागि रु ३ अर्ब बजेट विनियोजन भएको छ । देउखुरीको प्रगन्ना र बडकापथ सिँचाइ आयोजनाको मूलनहर विस्तार गर्नसमेत बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी नेपाल भारत सिमास्थित दाङको कोइलावासमा भन्सार कार्यालय सञ्चालनका लागि भौतिक पूर्वाधार निर्माण गर्न पनि बजेटमा प्राथमिकता दिइएको छ । यस्तै वृहत दाङ उपत्यका सिँचाइ आयोजनाका लागि पनि बजेट विनियोजन गरिएको छ । रोल्पादेखि दाङ डाइर्भसनका लागि सम्भाव्यता अध्ययन गर्न बजेट छुट्याइएको छ । प्यूठान, माडीको पानी दाङमा ल्याई त्यसबाट ३५ मेघावाट जलविद्युत् उत्पादन गर्नका लागि समेत बजेट विनियोजन भएको छ । त्यस्तै बुटवल–लमही ४०० केभि विद्युत् लाइनकार्य सुरु गर्न पनि बजेटमा व्यवस्था गरिएको छ ।

यसैबीच लामो समयदेखि अवरुद्ध भई हाल सञ्चालनमा रहेको टरिगाउँ विमानस्थलको स्तरवृद्धिका लागि सरकारले बजेट विनियोजन गरेकोमा यहाँका नागरिक खुसी भएका छन् । उनीहरुले समयमा नै कार्यान्यवनमा लाग्नुपर्ने बताएका छन् । उक्त विमानस्थललाई सरकारले बजेट विनियोजन गरेपछि अब विमानस्थलको स्तरवृद्धि हुनेमा आफू ढुक्क भएको तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष बिमल रिजालले बताउनुभयो ।

उहाँले विमानस्थलको स्तरवृद्धि भएसँगै यहाँ निजी क्षेत्रका ठूला विमानले दैनिक उडान भर्न सुरु गरेपछि आम नागरिकको हवाई सेवामा पहुँच पुग्ने विश्वास व्यक्त गर्नु भयो । तुलसीपुर उद्योग वाणिज्य सङघले उक्त विमानस्थलको स्तरवृद्धि गर्न दबाब दिने उद्देश्यले स्वतःस्फूर्तरुपमा आर्थिक सङ्कलन अभियानसमेत सुरु गरी र दुई लाखबढी रकम सङ्कलन भएको जनाएको छ । हाल सो विमानस्थलबाट नेपाल वायुसेवा निगमको जहाजले हप्तामा दुई दिन उडान भर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर