नेपाल–भारत खुला सीमा नियमनमा नयाँ बहस सिर्जना — OSNepal

नेपाल–भारत खुला सीमा नियमनमा नयाँ बहस सिर्जना

LC (KTM) July 09, 2022 0

काठमाडौं । नेपाल र भारतबीच खुला सीमा नियमन र तारबारको कुरा बेलाबेलामा उठे पनि यो विषय व्यावहारिक कार्यान्वयनमा भने आउन सकेको छैन ।नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहले तयारी पारेको रिपोर्टमा पनि खुला सीमा नियमन र त्यसअन्तर्गत तारबारको कुरा उल्लेख गरिएको छ ।

तथापि उक्त रिपोर्ट दुवै देशले स्वीकार नगरेको अवस्थामा रिपोर्टमा उल्लेख गरिएको विषय कार्यान्वयनमा आइहाल्ने देखिँदैन । नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनलाई सुदृढीकरण गर्न नेपाली सेना तथा सीमा अनुगमन तथा सर्भे निर्देशनालय आयोजना गरेको दुई दिवसीय सेमिनारमा प्रधानसेनापति प्रभुराम शर्माले सीमा क्षेत्रमा बारबन्देजको कुरा उठाएपछि यो विषय पुनः बहसमा आएको छ ।

सरोकारवाला मन्त्रालय, विभाग तथा अन्य सुरक्षा निकायका प्रतिनिधि तथा विज्ञहरू सम्मिलित ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनको वर्तमान अवस्था र सुरक्षाका क्षेत्रहरू’ विषयक सेमिनारको समापन समारोहमा प्रधानसेनापति शर्माले बलियो बारबन्देजले बलियो छिमेकी बनाउने अभिव्यक्ति दिएका थिए ।

सीमा सुरक्षाको जिम्मासमेत पाएको निकाय नेपाली सेनाका प्रमुखको यो अभिव्यक्तिले नेपाल–भारत खुला सीमा नियमनमा नयाँ बहस सिर्जना गरिदिएको हो । सामान्यतया नेपाली सेनाले यस्ता विषयमा सरकारको धारणालाई नै आफ्नो धारणा भएको बताउने गरेको छ ।यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

कार्यक्रममा प्रधानसेनापति शर्माले नेपाली सेनालाई प्राप्त जिम्मेवारीहरूमध्ये सीमा सुरक्षाको विषयलाई हर्दम राष्ट्रिय सुरक्षा र भौगोलिक अखण्डतासँग जोड्दै निरन्तर अध्ययन तथा अनुसन्धान गर्दै आइरहेको पनि बताएका थिए । उनले समस्या जस्तोसुकै विकराल र जटिल भए पनि राष्ट्रको सुरक्षा अवस्था सुदृढ तुल्याउन सीमा क्षेत्रमा हुने अवाञ्छनीय गतिविधिको निगरानी तथा नियन्त्रण गर्न सम्बद्ध सबै पक्ष चनाखो भई प्रयासरत रहनुको विकल्प नभएको पनि बताएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर