काठमाडौं २८ असार । तीन सांसदले नागरिकता विधेयकका विरोध गर्दै सुचना दर्ता गराएका छन् ।
विरोधको सुचना दर्ता गराउनेमा नेकपा एमालेका सांसद भीम रावल ,शेरबहादुर तामाङ र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाल रहेका छन् ।
नेता रावलले राज्य व्यवस्था समितिले व्यापक छलफल गरेर प्रतिवेदन पेश गरिसकेको अवस्थामा पनि विधयेक फिर्ता लिएर नयाँ ल्याउनु राज्य व्यवस्था समितिको अवहेलना भएको बताएका छन् ।
सांसद तामाङले लैंगिक पहिचानसहित आमा वा बाबुको नामबाट नागरिकता प्राप्त गर्ने मर्म विपरित भएको तर्क राखेका छन् ।
त्यसैगरी, सांसद सवालले भने खुला सीमा नियमन गर्नुपर्ने, संघ र प्रदेशको अलग अलग नेपाली नागरिकताको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै विरोध सुचना दर्ता गराएका हुन् ।
सरकारले ल्याएको विधेयकमाथि संसदमा सैद्धान्तिक छलफल गर्नुअघि सांसदहरुले विरोधको सूचना दर्ता गर्न सक्ने व्यवस्था रहेको छ ।