गरिबी न्यूनीकरण गर्न समाजवादी अर्थव्यवस्थाको खाँचो छ : अध्यक्ष नेपाल — OSNepal

गरिबी न्यूनीकरण गर्न समाजवादी अर्थव्यवस्थाको खाँचो छ : अध्यक्ष नेपाल

LC (KTM) September 20, 2022 0

काठमाडौँ-नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान गरिबी न्यूनीकरण गर्न समाजवादी अर्थव्यवस्थाको खाँचो रहेको बताउनुभएको छ । नेपाल मगर सङ्घ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलामा अध्यक्ष नेपालले गरिबी, अभाव र बेरोजगारीलाई समाप्त पार्न आर्थिक समानता तथा सामाजिक न्याय कायम गर्नुपर्नेमा जोड दिँदै गरिबी निवारण गर्ने आफ्नो पार्टीको चाहना भएको बताउनुभयो ।

देशमा सुशासन कायम गरी जनतालाई आर्थिक समृद्धितर्फ लैजान सकिने बताउँदै उहाँले भन्नुभयो, “हामी गरिबी निवारण गर्न चाहन्छौँ ।” समाजमा रहेका विकृति र विसङ्गतिहरूलाई पनि अन्त्य गर्ने आफूहरूको चाहना रहेको प्रस्ट पार्नुभयो । देशमा रहेको साधन, स्रोतको अधिकतम सदुपयोग गरी सामाजिक विकास तथा जनताको आर्थिक सशक्तीकरण गर्न आफ्नो पार्टी देश हितको रक्षा, जनताको सेवामा समर्पित हुने र समाजको परिवर्तन गर्ने उद्देश्य लिएर राजनीतिमा आएको उहाँको भनाइ थियो ।

कार्यकर्तालाई त्याग, समर्पण र समाज रूपान्तरणको भावनाले राजनीतिमा लाग्न आग्रह गर्दै अध्यक्ष नेपालले मुलुकमा विभिन्न जातजाति, भाषा, धर्म, संस्कृतिमा भएको विविधताको संरक्षण गरिने भन्दै कुनै पनि जातजातिका बीचमा हुने भेदभावलाई अन्त्य गर्नुपर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले जातजाति, भाषा धर्म संस्कारमा भएको विविधता नै नेपालको गहना भएको भन्दै त्यसको संरक्षण आजको आवश्यकता भएको औँल्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर