जरलहवागाछीका अग्निपीडितलाई बासको आश — OSNepal

जरलहवागाछीका अग्निपीडितलाई बासको आश

LC (KTM) April 30, 2024 0

महोत्तरी, १८ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवागाछीका एक सय १० परिवार अग्निपीडितलाई सुरक्षित बासको टडकारो आवश्यकता छ । अग्निपीडितका लागि खानेकुरा, खाद्यान्न (चामल, दालसहित), लत्ताकपडा र भाँडाकुडा जुटेपनि सुरक्षित बसोबासको व्यवस्था भने हुन सकेको छैन ।

पीडितको अबको आवश्यकता सुरक्षित बसोबास नै हो । उनीहरु एक सातादेखि राम्रोसँग सुत्न पाएका छैनन् । “जेनतेन खानेकुरा त जुटेकै छ, तर घटनायता हामी राम्रोसँग सुत्न सकेका छैनौँ”, अग्निपीडित सीताराम पासवान भन्नुहुन्छ–“बालबालिका, बुढाबुढी, सुत्केरी र बिरामीको कन्तविजोग छ ।”

अग्निपीडितका लागि तत्काल बासको प्रबन्ध गर्नुपर्ने मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले बताउनुभयो । “एक सयभन्दा बढी परिवारको व्यवस्थापनको कुरा छ, यो प्रबन्ध मिलाउन केही समय लाग्छ”, उहाँले भन्नुभयो ।

पीडित बस्तीमा पुग्नुभएका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बासको प्रबन्ध गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुएको छ । यसैगरी सङ्घीय सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विज्ञ टोली यहाँको स्थलगत अवस्था बुझेर फर्केको छ ।

बस्तीमा छाप्रो बनाउन बाँस, जस्तापाता, चुलो र ग्यास, खाट, ओढ्ने÷ओछ्याउने लुगा, बालबालिकाका लागि झोला, कापी, कलम, पेन्सिललगायत सामग्रीको आवश्यकता छ । बालबालिका घटनापछि विद्यालय जान सकेका छैनन् । उनीहरुलाई पोसाक, पुस्तक, कापी÷कलमजस्ता सामग्रीको अभाव भएको छ । नगरप्रमुख मण्डल जिल्लास्थित विपद् व्यवस्थापन समिति, रेडक्रससहितका सामाजिक सङ्घ संस्था र सम्पर्कमा रहनुभएका दाताहरुसँग सहयोगका बारेमा छलफल भइरहेको बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर