नवौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा गण्डकीलाई पहिलोपटक पदक — OSNepal

नवौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा गण्डकीलाई पहिलोपटक पदक

LC (KTM) October 20, 2022 0

दमौली-गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला बास्केटबलमा पहिलोपटक पदक जितेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मा सम्पन्न महिला बास्केटबलमा फाइभ अन फाइभ र थ्री बाइ थ्रीतर्फ गण्डकी प्रदेशले कांस्य पदक जितेको हो । गण्डकी प्रदेशले महिला बास्केटबलमा हालसम्म पदक जित्न सकेको थिएन । गण्डकी प्रदेशले यसपटक ऐतिहासिक कीर्तिमान कायम गरी पदक जित्न सफल भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिनुभयो ।

फाइभ अन फाइभ र थ्री बाइ थ्रीतर्फ दुवै खेल जित्दै गण्डकीले दुई कांस्य पदक जितेको हो । तेस्रो स्थानका लागि गण्डकी प्रदेशले फाइभ अन फाइभमा सुदूरपश्चिम प्रदेश र थ्री बाइ थ्रीमा बागमती प्रदेशसँग प्रतिस्पर्धा गरेको थियो । फाइभ अन फाइभमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ४६–२४ अङ्कले पराजित गरेको थियो । गण्डकीले पहिलो क्वाटरमा १६–९, दोस्रो क्वाटरमा १०–४, तेस्रो क्वाटरमा १२–७ र चौथो क्वाटरमा ८–४ अङ्क जोडेको थियो ।

गण्डकीको जितमा सीमा गर्बुजाले व्यक्तिगत १९ अङ्क जोड्नुभएको थियो भने सुदूरपश्चिमका तर्फबाट सम्झना शाहीले सात अङ्क जोड्नुभएको थियो । थ्री बाइ थ्रीमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ९–७ ले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मकरूपमा भएको खेलमा गण्डकीले बागमतीलाई पराजित ग¥यो । असोज २८ गतेदेखि सुरु महिला बास्केटबलको फाइभ अन फाइभमा त्रिभुवन आर्मी, सुदूरपश्चिम प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ सहभागी थिए । थ्री बाइ थ्रीतर्फ त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नं १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सहभागी थिए ।

महिला बास्केटबलमा छ पदकको टुङ्गो-नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत तनहुँमा सम्पन्न महिला बास्केटबलमा छ पदकको टुङ्गो लागेको छ । असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म सम्पन्न बास्केटबलको फाइभ अन फाइभमा तीन र थ्री बाइ थ्रीमा तीन पदकको टुङ्गो लागेको हो । महिला बास्केटबलको फाइभ अन फाइभमा एक विभागीय र पाँच प्रदेश गरी छ टोलीको सहभागिता रहेको थियो । थ्री बाइ थ्रीमा दुई विभागीय र छ प्रदेशसहित आठ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा दुवैतर्फ गरी त्रिभुवन आर्मी क्लबले एक स्वर्णसहित दुई, सशस्त्र प्रहरीले एक स्वर्ण, बागमती प्रदेशले एक रजत र गण्डकी प्रदेशले दुई कांस्य पदक जितेको नेपाल बास्केटबल सङ्घका केन्द्रीय सचिव फणिन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताको फाइभ अन फाइभमा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ । बागमती प्रदेशले रजत पदक जित्दा गण्डकी प्रदेशले कांस्य पदक जितेको छ । थ्री बाइ थ्रीतर्फ सशस्त्र प्रहरीले स्वर्ण पदक जितेको छ । त्रिभुवन आर्मी क्लबले रजत जित्दा गण्डकी प्रदेशले कांस्य पदक जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर