शेख रसेल कप चेसको उपाधि बंगलादेशलाई, नेपाल तेस्रो स्थानमा — OSNepal

शेख रसेल कप चेसको उपाधि बंगलादेशलाई, नेपाल तेस्रो स्थानमा

LC (KTM) October 21, 2022 0

काठमाडौं, ४ कात्तिक:

शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपको उपाधि बंगलादेशले जितेको छ । बिहीबार सम्पन्न सुपर लिगको अन्तिम खेलमा नेपाललाई ४–० ले पराजित गर्दै आयोजक बंगलादेश च्याम्पियन बनेको हो । समान तीन-तीन म्याच प्वाईन्ट बनाएको श्रीलंकालाई गेम प्वाईन्टमा पछि पारेको बंगलादेशले ४ हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेको छ । दोस्रो स्थानमा रहन सफल श्रीलंकाले ३ हजार अमेरिकी डलर पाउँदा तेस्रो भएको नेपालले २ हजार अमेरिकी डलर हात पारेको छ । लिग चरणमा चौथो स्थानमा रहेको पाकिस्तानले नगद १ हजार अमेरिकी डलर पुरस्कार हासिल गरेको छ ।

बंगलादेशको राजधानी ढाकामा गत अक्टोबर १२ देखि शुरु भएको च्याम्पियनशीपमा नेपाल, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स र पाकिस्तानको सहभागिता थियो । राउण्ड रोविन प्रणालिबाट अंकतालिकाको शीर्ष स्थानमा रहन सफल ३ टोलि सुपर लिगमा प्रवेश गरेका थिए । नेपाली टिम सुपर लिगका दुबै खेलमा पराजय व्यहोर्न पुग्यो । च्याम्पियनशीपको अन्तिम खेलमा बंगलादेशले नेपालविरुद्ध ३ ग्रान्डमास्टर र १ ईन्टरनेशनलमास्टरलाई प्रतिष्पर्धा गराएको थियो ।

पहिलो बोर्डमा ग्रान्डमास्टर ईनामुल हुसेनले नेपाली फिडेमास्टर रिजेन्द्र राजभण्डारीलाई हराए । दोस्रो बोर्डमा बिलमलाल श्रेष्ठलाई अर्का ग्रान्डमास्टर जिउर रहमानले पराजित गरे । तेश्रो बोर्डमा खेलेका सिंगेश्वर दासलाई ग्रान्डमास्टर नियाज मुर्सीदले हार चखाए भने चौथो बोर्डमा प्रतिष्पर्धा गरेका राजेन्द्र बज्राचार्य बंगलादेशी ईन्टरनेशनलमास्टर मोहमद फहाद रहमानसँग अंक गुमाउन पुगे ।व्यक्तिगत विधातर्फ पहिलो बोर्डमा रिजेन्द्र, दोश्रो बोर्डमा बिलमलाल र तेश्रो बोर्डतर्फ सिंगेश्वर दासले काँस्य पदक प्राप्त गरे । ६ सदस्यीय नेपाली टोली शुक्रबार स्वदेश फर्किने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर