• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

नेपालकै पहिलो लक्ष्मी हयग्रीव नारायण मन्दिर क्षेत्रमा १०० गुर्जोको बिरुवा रोपियो

नेपालकै पहिलो लक्ष्मी हयग्रीव नारायण मन्दिर क्षेत्रमा १०० गुर्जोको बिरुवा रोपियो


  • ओएसनेपाल
  • असार २० २०७८, आइतबार
  • ३:३२ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < ७ मिनेट
  • 3.2K
    SHARES

    काठमाडौँ, २० असार – कागेश्वरी मनोहरा नगरपालिका–४ कोलमतेश्वरस्थित नेपालकै पहिलो लक्ष्मी हयग्रीव नारायण मन्दिर क्षेत्रमा गुर्जो रोपण गरिएको छ । गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटको पहलमा मन्दिर क्षेत्रको २० रोपनी क्षेत्रफलमा करिब १०० बिरुवा रोपिएको हो । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जो कोरोना सङ्क्रमण हुन नदिन उपयोगी मानिएको छ । कार्यक्रमको शुभारम्भ गर्दै मन्दिरका संरक्षक रुरु पीठाधीश स्वामी जगदीश प्रपन्नाचार्यले मानिसलाई निरोगी बनाउने गुण हाम्रो वरपर रहेका जडीबुटीमा भए पनि त्यसलाई बिर्सँदै गएका बेला गुर्जो रोपण अभियानले पुनर्जागरण गरेको बताउनुभयो ।

    योग शिक्षक अच्युत अर्यालले समुन्द्र मन्थन हुँदा निस्किएको अमृत देवता र राक्षसबीच खोसाखोस हुँदा गुर्जोमा परेकाले यसलाई संस्कृतमा वनस्पति भनिएको उल्लेख गर्नुहुँदै त्यसैकारण यसले रोग प्रतिरोधी क्षमता बढाउनसक्ने बताउनुभयो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद सिम्खडाले गत वर्षसम्म यस क्षेत्रको जङ्गलमा गुर्जो भए पनि विसं २०७६ चैतमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएपछि उजाडिएको बताउनुभयो । उहाँले गुर्जो उजाडिएको क्षेत्रमा अभिायनकर्मी राजलवटको सहयोगमा पनि फेरि फस्टाउने अवसर प्राप्त भएकामा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा अभियानकर्मी राजलवटले मानव शरीरबाट विभिन्न किसिमका टक्सिन निकाल्न गुर्जोबाट बनेको धुलो र चिया उपयोगी हुने बताउनुभयो ।

    आन्तरिक राजश्व कार्यालय धुलिखेलको कार्यालय प्रमुख रहनुभएका राजलवटले कोरोना महामारी शुरु भएपछि विसं २०७६ देखि नै निःशुल्क गुर्जो रोपण अभियान चलाउँदै आउनुभएको छ । आन्तरिक राजश्व कार्यालय लहानको कार्यालय प्रमुख हुँदा त्यहाँको सरकारी आवास गृह परिसरमा उत्पादन गरिएको गुर्जोका बिरुवा उहाँले गत वर्ष देशभर निःशुल्क बाँड्नुभएको थियो । गुर्जो मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने वनस्पति भएकाले यसबाट बनेको चिया र धुलो उपयोगी मानिन्छ । यसको डाँठ र रस पनि सेवन गरेर आरोग्यता प्राप्त गर्न सकिने जनाइएको छ । गुर्जोका विषयमा ५०० भन्दा बढी अनुसन्धान गरिएकामा यो बहुउपयोगी वनस्पति पुष्टि भएको जनाइएको छ ।

    उच्च रक्तचाप, मधुमेह, कब्जियतलगायत रोगका लागि फाइदा गर्ने गुर्जो गर्भवती र पाँच वर्षमुनिका बालबालिकाले भने खान नहुने जनाइएको छ । न्यून रक्तचाप भएकाले भने बिरेनुन वा नुन मिलाएर खान सकिने अभियानकर्मी राजलवट बताउनुहुन्छ । नयाँ भेरियन्टसहितको कोरोना महामारी फैलिएपछि राजलवटले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जोबाट बनेको चिया र धुलो ३६ जिल्लाका १२१ केन्द्रबाट निःशुल्क वितरणको व्यवस्था मिलाउनुभएको छ ।

    विसं २०७६ चैतमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरेदेखि नै उहाँले गुर्जोका बिरुवा र यसबाट बनेको चिया र धुलो निःशुल्क वितरण गर्दै आउनुभएको थियो । विसं २०७६ मा एक लाख ६० गुर्जोका बिरुवा निःशुल्क वितरण गर्नुभएका उहाँले यस वर्ष पनि करिब ११ हजार बिरुवा निःशुल्क बाँड्नुभएको छ । एक घरमा एक गुर्जोको बिरुवा हुर्काएर विभिन्न रोगबाट बच्ने शक्तिका लागि औषधि बनाउन सकिने राजलवटको विश्वास छ ।

    आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो ः तस्य तद् औषधं हितम्’ अर्थात् मानिस जुन स्थानमा जन्मन्छ उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने वचनका आधारमा प्रत्येक घरमा एउटा गुर्जोको बिरुवा रोपाउने अभियानमा आफू लागेको उहाँ बताउनुहुन्छ । घरसँगै सार्वजनिक स्थलमा पनि गुर्जो रोपेर मानवलाई आवश्यक परेका बेला औषधिका रुपमा उपयोग गर्न सकिने विश्वास लिइएको छ ।

    लक्ष्मी हयग्रीव नारायण मन्दिरको उत्पत्ति र महत्व- घाँटीभन्दा माथिको भाग घोडा र घाँटीमुनिको भाग मान्छेको जस्तो भएकोलाई हयग्रीव भनिन्छ । हयग्रीव भगवान् विष्णुका २४ अवतारमध्येको एक हो । हयग्रीव अवतार लिएर भगवान् विष्णुले वेदको रक्षा गर्नुभएको थियो । वेद रक्षा गरेर भगवान् विष्णुले ब्रह्मालाई दिनुभएको वर्णन विभिन्न वैदिक ग्रन्थमा गरिएको छ ।

    ब्रह्माबाट मधुकैटभ दैत्यले वेद हरण गरी लगेपछि भगवान् विष्णुले हयग्रीव रूप धारण गरी उद्धार गरेर ब्रह्मालाई फिर्ता गर्नुभएको विषय विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको । हयग्रीव रूपधारण गरेर भगवान् विष्णुले वेदको उद्धार गर्नुभएको सन्दर्भ श्रीमद्भागवतको द्वितीयस्कन्ध सात अध्यायको ११ औँ श्लोकमा वर्णन गरिएको छ । महाभारतको शान्ति पर्वमा पनि यस विषयमा चर्चा गरिएको लक्ष्मी हयग्रीव मन्दिरका संस्थापक रुरु पीठाधीश स्वामी जगदीशले राससलाई जानकारी दिनुभयो ।

    भगवान् विष्णुले हयग्रीव अवतार लिनुको अर्को कारण श्रीमद्देवी भागवतमा पनि वर्णन गरिएको छ । हयग्रीव नाम गरेका एक दैत्यले मेरै नाम गरेकाले मात्र मलाई मार्न सकुन् भनी वर मागेकाले भगवान् विष्णुले हयग्रीव रूप धारण गर्नुभएको हो । भगवान् हयग्रीवको नेपालमा अन्यत्र मन्दिर नभएकाले यहाँ निर्माण गरिएको हो । भगवान् विष्णुले हयग्रीव अवतार लिनुभएको सन्दर्भसँग कोलमतेश्वर क्षेत्रको सम्बन्ध रहेको स्वामी जगदीश प्रपन्नाचार्य बताउनुहुन्छ ।

    स्कन्द पुराण अन्तर्गतको हिमवत्खण्ड (नेपालमाहात्म्य) वाग्मती नदीको तीर वर्णन क्रममा १२८ नं अध्यायमा कोलमती तीर्थ र कोलमतीघाटका बारेमा वर्णन गरिएको छ । “कोलमतीघाटमा भाद्रकृष्ण पञ्चमीमा स्नान र दर्शन गरेमा करोडौँ गोदान गरे बराबरको फल मिल्ने वर्णन धार्मिक ग्रन्थमा गरिएको छ, कोललाई बराह भनिने भएकाले श्वेतबाराहीबाट बगेर आएको नदीलाई कोलमती भनिएको हो”, उहाँले भन्नुभयो ।

    कोलमती वाग्मतीमा मिसिने घाटलाई कोलमतीघाट भनिन्छ । कोलमती र वाग्मती मिसिने स्थानमा चैलमतीसमेत मिसिएर त्रिवेणीघाट बनेकाले यो स्थलको महत्व पौराणिक एवं शास्त्रीय ग्रन्थमा वर्णन गरिएको छ । वामन अवतार लिनुभएका भगवान् विष्णुलाई सृष्टिकर्ता ब्रह्माले जल चढाउँदा कपडामा परेर खसेकाले चैलमती नाम रहेको वर्णन ती ग्रन्थमा गरिएको स्वामी जगदीश बताउनुहुन्छ । चैलमतीलाई हाल शब्द अपभ्रंश भई चौलमती पनि भनिन्छ ।

    यहाँ ब्रह्माले वामनरूपी भगवान् विष्णुलाई जल चढाउँदा खसेको शिलालाई अहिले पनि चौलनारायणका रुरूपमा पूजा आराधना गरिन्छ । नेपाल माहात्म्यको ३२ औँ अध्यायमा सुन्दराचल क्षेत्रको वर्णन छ । त्यो क्षेत्र हालको सुन्दरीजल हो भन्ने स्वामी जगदीशको विश्वास छ । सुन्दरीजलको तल्लो भागमा पर्ने यो स्थल सुन्दराचलकै आधुनिक रूप हो ।

    नेपाल माहात्म्यको ३२ औँ अध्यायको २८, २९ र ३० औँ श्लोकमा सुन्दराचल क्षेत्रमै भगवान् हयग्रीव बस्नुहुन्छ भनी वर्णन गरिएकाले यहाँ नेपालकै पहिलो लक्ष्मी हयग्रीव मन्दिर निर्माण गरिएको हो । कोलमती, चैलमती र वाग्मती गरी तीन नदी मिसिएर त्रिवेणी सङ्गम बनेको कोलमतीघाटमा सत्य युगमा भगवान् विष्णुसमेत आएर स्नान गर्नुभएको प्रसङ्ग पनि विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको छ । धार्मिक महत्व भए पनि गोकर्णेश्वर उत्तरवाहिनी क्षेत्र नजिकै रहेकाले कोलमतेश्वर क्षेत्र लामो समयदेखि ओझेलमा परेको थियो । यहाँको प्राचीन महत्व थाहा पाएपछि स्थानीयवासी मन्दिर निर्माणमा जुटेका हुन् । यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न स्थानीयवासी जुटेका छन् ।

    जाल्पादेवीमा १०० बोट गुर्जो रोपण- यसैगरी शनिबार नै टोखा नगरपालिका–३ स्थित जाल्पादेवी मन्दिर क्षेत्रमा पनि गुर्जोका १०० बिरुवा रोपिएको छ । रोपिएका सबै बिरुवालाई संरक्षण गर्ने प्रतिबद्धता मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले व्यक्त गर्नुभएको छ । गुर्जो रोपणमा स्थानीयवासीको उत्साहजनक उपस्थिति थियो । धार्मिक क्षेत्रमा गुर्जो रोपणलाई प्राथमिकता दिने अभियानकर्मी राजलवट बताउनुहुन्छ ।(रासस)

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend