महिला र पुरुष खेलाडीको पुरस्कार राशिमै विभेद् — OSNepal

महिला र पुरुष खेलाडीको पुरस्कार राशिमै विभेद्

LC (KTM) December 27, 2022 0

रुकुम (पूर्व)-महिलाको हकअधिकारका लागि विभिन्न आवाज उठिरहेकै छन् र, नीतिगत रुपमा सुनिश्चित गर्ने प्रयास पनि भइरहेकै छ । तर कार्यान्वयनको पाटोमा हेर्दा उपलब्धि खासै देखिँदैन् । महिला पुरुष एक रथका दुई पाङ्ग्रा हुन भनी उदाहरण मात्र दिने गरिए पनि व्यवहारमा कार्यान्वयन भएको भने देखिन्न । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकाकी सोनिसा शाही क्षेत्रीय भलिबल गेमको प्लेयर हुनुहुन्छ । उहाँ जिल्लाका विभिन्न ठाउँमा हुने भलिबल प्रतियोगितामा भाग लिन टिम बनाएरै पुग्नुहुन्छ । जसमध्ये अधिकांश प्रतियोगितामा उहाँको टिमले सफलता प्राप्त गरेको छ । तर ती प्रतियोगिता जितेर प्राप्त गर्ने पुरस्कार राशिमा भने महिला र पुरुषबीचमा विभेद् हुने गरेको उहाँको अनुभव छ ।

“रुकुम(पूर्व)सँगै अन्य विभिन्न छिमेकी जिल्लामा पनि भलिबल प्रतियोगिताको लागि पुगेको छु”, उहाँले भन्नुभयो, “सहभागी भएको ठाउँमा प्रथम पनि भएका छौँ तर पुरस्कार वितरणमा विभेद् भइरहेको छ ।” उहाँका अनुसार एउटै प्रतियोगितामा प्रथम हुने पुरुष समूहले ५० हजार पाउँदा पहिलो हुने महिला समूह भने आधा मात्रै २५ हजार पुरस्कार दिने गरिएको छ । यस्तै भूमे गाउँपालिका– ९ चुनवाङ्की भलिबल राष्ट्रिय खेलाडी सङ्गीता रोकाको अनुभव पनि शाहीकै जस्तै छ । जिल्ला, प्रदेश हुँदै राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिइसक्नुभएका रोकाले पनि स्थानीयस्तरमा हुने थुप्रै प्रतियोगितामा सहभागिता जनाउनु भएको छ । तर अहिलेसम्म भाग लिएका प्रतियोगितामा आफूहरुले पुरुष खेलाडी सरहको पुरस्कार राशि प्राप्त नगरेको बताउनुभयो ।

“समाजमा महिला र पुरुषमाथि हुने विभेद् कायमै छ”, रोकाले भन्नुभयो, “पुरस्कार राशिमा विभेद् त थियो नै, हुँदाहुँदा महिला र पुरुषलाई प्रदान गरिने कपमा पनि प्रष्ट विभेद् देखिने गरेको छ ।” महिला पुरुषलाई पुरस्कार राशिमा आधा फरक हुने भन्दै कप पनि पुरुषको लागि ठूलो र महिलाका लागि सानो हुने गरेको उहाँको भनाइ छ । खेलाडी राष्ट्रका गहना हुन भन्दै गर्दा महिला र पुरुषमा दखिने पुरस्कार राशिको भिन्नताले आफूहरुमा निराशापन उत्पन्न हुने गरेको पुथा उत्तरगङ्गा गाउँपालिका– ८ की अर्का खेलाडी ममता सेनले बताउनुभयो ।

खेलाडी महिला वा पुरुष जे भए पनि आप्mनो ठाउँमा दुःख, क्षमता प्रदर्शन उत्तिकै गरेको हुने भन्दै सेनले पुरस्कार राशिमा देखिएको भिन्नता अन्त्य गर्दै जानुपर्नेमा जोड दिनुभयो । पृत्तिसतात्मक सोचका कारण पनि महिला र पुरुषलाई हेर्ने दृष्टिकोण फरक हुन नसकेको भूमे गाउँपालिका– ७ का युवा सुनिल रोका मगरको भनाइ छ । आफूले केही समयअघि भूमे गाउँपालिकाको युवा विकास केन्द्रको नेतृत्व गर्दै गर्दा महिला पुरुषमाथिको विभेद् अन्त्य गरिनुपर्छ भन्ने उद्देश्यले महिला र पुरुष खेलाडीको पुरस्कार राशि समान राखेको पनि उहाँले सुनाउनुभयो । एउटाले मात्र प्रयास गरेर नहुने भन्दैसबैलाई आ-आफ्नो ठाउँबाट यस्ता विभेद् अन्त्य लागि आवाज उठाउनुपर्ने उहाँको भनाइ छ ।

जिल्ला खेलकूद विकास समितिका अध्यक्ष नामेन्द्र सुनारले महिला र पुरुष खेलाडीमा हुने पुरस्कार राशिको भिन्नतालाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । परापूर्वकालदेखि नै महिला र पुरुषमाथि गरिने विभेद्को कारण त्यही विभेद् पुरस्कार राशिमा पनि झल्कने गरेको उहाँको भनाइ छ । पछिल्लो समयमा भने जिल्लामा सञ्चालन गरिने विभिन्न प्रतियोगितामा महिला पुरुष खेलाडीको पुरस्कार राशि समान हुनुपर्छ भन्ने खालको पहल गरिरहेको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर