जङ्गली जनावरबाट बाली जोगाउन घण्टी बजाउँदै रातभर जाग्राम बस्दै — OSNepal

जङ्गली जनावरबाट बाली जोगाउन घण्टी बजाउँदै रातभर जाग्राम बस्दै

LC (KTM) January 04, 2023 0

कञ्चनपुर-शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका फिरुवा राना खेतबारीमा लगाएको तरकारी बाली जोगाउन रातभर जाग्राम बस्दै आउनुभएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली जनावरबाट खेतबारीमा लगाएको आलु, गोलभेँडा, काउलीलगायतका तरकारी बाली जोगाउन रानाले बारीमा डोरी बाँधेर ठाउँठाउँमा घण्टी झुण्याइ बजाउने गरेका छन् । चिसोमा खेतमै रातभर बस्न नसकिने भएकाले घण्टी झुण्याइएको लामो डोरी घरबाटै तानेर बजाउने गर्नुहुन्छ ।

“जङ्गली जनावर खेतबारीमा पसेको थाहा पाउने बित्तिकै घण्टी बजाउँछौँ”, उहाँले भन्नुभयो, “घण्टी जोरसँग बजाउन सुरु गरेपछि जनावर भाग्छन्, घण्टी बजाउन छाडेको केही बेरमै जनावर खेतमा पुनः आउने गर्दछन्, परिवारका सबै सदस्यले रातभर पालैपालो घण्टी बजाउने गरेका छौँ ।” रातमा परिवारका सदस्य एक दुई घण्टामात्रै सुत्ने गरेको उहाँले बताउनुभयो । नीलगाई, चित्तल र बँदेलले बढी सताउने गरेको उहाँको भनाइ रहेको छ । रखवारी गर्दागर्दै पनि जङ्गली जनावरबाट बाली जागाउने नसकिएको मानबहादुर रानाले बताउनुभयो ।

“खेतमा लगाएको गहुँबाली नीलगाई र चित्तलले खाएर पूरै नोक्सानी गरेको छ”, उहाँले भन्नुभयो, “रातको चिसोमा पूरै रात खेतमा बस्न सक्दैनौँ, खेतमा रखवारी गर्न नबसेका बेला जनावरले पूरै खाएर फर्कन्छन् ।” निकुञ्जबाट हुलका हुल जनावर आउने भएकाले खेतमा लगाएको बाली जोगाउन निकै मुस्किल भएको पूर्ववडाअध्यक्ष बाले रानाले बताउनुभयो ।

जनावरले बाली खाएर हैरान पारेसँगै पछिल्लो समय हात्तीले पनि सताउन थालेको छ । उहाँले भन्नुभयो, “हात्ती पनि आउन थालेपछि ज्यान जोगाउनै मुस्किल हुन थालेको छ ।” रानाका अनुसार मङ्गलबार दिनभर हात्ती उखुबारीमै बस्यो, धपाउने अनेक उपाय अपनाए पनि गएन, तीन बिघा जग्गामा लगाएको उखुमध्ये १० कट्टाको पूरै तोडेर र खाएर नोक्सानी ग¥यो, राति नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा भगाउन सक्यौँ । उहाँले अगाडि थप्दै भन्नुभयो, “उखुबारीमा हात्तीले पस्नुअघि स्थानीय जीतबहादुर भाटलाई घर भत्काउने क्रममा भाग्न खोज्दा लखेटेर गम्भीर घाइते बनायो, घाइते भाट अहिले बाँच्ने, मर्ने दोसाँधमा बाँकेको कोहलपुरस्थित अस्पतालमा उपचार गराइरहनुभएको छ ।”

हात्ती निकुञ्जमा फर्किए पनि पुनः बस्तीमा आउने डर भएको क्षेत्रका बासिन्दा निकै त्रसित अवस्थामा रहेको उहाँले बताउनुभयो । वडाध्यक्ष नवलसिंह राना जङ्गली जनावरले निकै सताउन थालेकाले निकुञ्ज कार्यालयले नियन्त्रणको प्रयास गर्नुपर्ने बताउनुहुन्छ । “जङ्गली जनावर बस्ती छिर्ने छेउमा मेसवायर जडान गरिनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “निकुञ्जले पहल गर्नुप¥यो, हामी पनि यसका लागि प्रदेश र सङ्घ सरकारलाई गुहार्छौँ, जङ्गली जनावरकै कारण स्थानीय बासिन्दामा भोकमरी हुने सम्भावना बढेर गएको छ ।” खेतबारीमा लगाएको बाली पूरै जङ्गली जनावरले खाएर सखाप पार्ने भएकाले खेतबारी छँदाछँदै अन्नको जोहो गर्नका लागि अन्यत्र जानुपर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ छ ।

“जङ्गली जनावरकै कारण स्थानीय बासिन्दा रातिमा निदाउन पाइँदैन”, उहाँले भन्नुभयो, “जनावर भगाउन घण्टी बजाउनेदेखि टौवाबाट उज्यालो गर्नेसम्मका अनेकौँ उपाय अपनाए पनि जङ्गली जनावर खेतमा पसेर बाली पेटभर खाएर मात्रै फर्कन्छन् ।” हिउँदको बेला मात्रै नभएर निकुञ्जका जनावर स्याली नदीमा बाढी आएका बेलासमेत खेतमा पस्ने गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । धान, गहुँलगायतका बाली पूरै जङ्गली जनावरले सखाप पार्न थालेपछि केही किसानले उखु खेती गर्न थालेका छन् । उखु पनि हात्तीले खान थालेपछि किसान निकै निरास भएका छन् ।

हात्तीको त्रास : बराहक्षेत्र नगरका जनता त्रसित

धरान : धरानको छिमेकी पालिका बराहक्षेत्र नगरपालिका भरौल र नडाहा क्षेत्रमा रातको समयमा हात्तीको जथ्था गाउँ प्रवेश गर्न थालेपछि स्थानीय रातभरि जाग्राम बस्न बाध्य भएका छन् । बीस वटाभन्दा बढी हात्तीको समूह गाउँ प्रवेश गर्न थालेपछि अहिले गाउँले त्रसित भएका भएका छन् । नडाहा क्षेत्रको धना जङ्गलमा दिनभरि बस्ने र साँझ परेपछि मानवबस्ती पसेर खेतीबालीमा नोक्सान पु¥याउँदै आएको नडाहाका स्थानीय महेन्द्र कार्कीले बताउनुभयो ।

“साँझ परेपछि हात्तीको बथान गाउँ प्रवेश गर्ने गरेका छन् । स्थानीयले लगाएको फलफूल, केरालगायत अन्यबाली नोक्सान पु¥याउँदै आएका छन् ।”, भरौलका स्थानीयवासी नीरकुमार कार्कीले भन्नुभयो, “गाउँले साँझ परे पछि हात्ती धपाउन तयार हुनुपर्छ । जङ्गल नजिक घर हुनेहरू रातभरि निदाउन पाउँदैनन् ।” पन्ध्र दिनअघिदेखि रातको समयमा हात्तीको बथान नजिकैको चारकोसे जङ्गलबाट गाउँ प्रवेश गर्ने गरेको स्थानीय बताउँछन् । हात्तीले मानवमाथि नै आक्रमण गर्ने भयले स्थानीय भेला भएर एकै स्थानमा बस्दै आएका छन् । २८ वटासम्म हात्ती आफूले देखेको स्थानीय महेन्द्र कार्कीले बताउनुभयो ।

बराहक्षेत्र नगरपालिका वडा नं ३ का वडाध्यक्ष राजदीप लामाका अनुसार बराह क्षेत्रका १, २, ३ र ५ मा पर्ने चतरा, नडाहा, खोरिया, बिचपानी, विसाल चोक, सिमरवन क्षेत्रमा हात्तीले दुःख दिँदै आएको छ । ३ नं वडामा हालसम्म दुई वटा घरमा क्षेत्र पु¥याएको वडाध्यक्ष लामाले बताउनुभयो । बाक्लो बस्ती छ १, २, ३ र ५ नं वडा जङ्गलसँग जोडिएका घना बस्ती पर्छ । सोही क्षेत्रमा हात्तीको त्रास रहेको छ । यी क्षेत्रका बासिन्दा रातभरि हात्ती खेदाउन जाग्राम बस्नुपर्ने बाध्य भएको स्थानीय बताउँछन् ।

स्थानीय महेन्द्र कार्कीका अनुसार नडाहा क्षेत्रमा पर्ने कालिन्द्र सामुदायिक वन उपभोक्ता समूहले साइरन जडान गरेको गाडी डुलाउने गरेको छ । हात्ती आएपछि साइरन बजाएर खेदाउने गरिएको छ । स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जनप्रतिनिधिले निगरानी गरिरहेको वडाध्यक्ष लामाले बताउनुभयो । दैनिक नाङ्लो ठटाएर हात्ती तर्साउने कामभन्दा अरु केही विकल्प नभएको जनप्रतिनिधि बताउँछन् । क्षति भएको घरधनीलाई भने नगरपालिकाले केही राहत उपलब्ध गराउने नगर प्रमुख रमेश कार्कीले बताउनुभयो । क्षतिको विवरण सङ्कलन गरेर राहत उपलब्ध गराउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर