अर्थतन्त्र बलियो बनाउन नेपाली उत्पादन निर्यात गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ — OSNepal

अर्थतन्त्र बलियो बनाउन नेपाली उत्पादन निर्यात गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

LC (KTM) January 07, 2023 0

काठमाडौँ-उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले देशको अर्थतन्त्र बलियो बनाउन नेपाली उत्पादनलाई वृद्धि गर्ने र विश्व बजारको मागअनुसार निर्यात गर्नुपर्ने बताउनुभएको छ ।नेपाल निर्यात परिषद्को २५औँ वार्षिक साधारणसभा तथा सातौँ निर्यात दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले देशको व्यापार घाटा कम गर्न स्वदेशी वस्तु उत्पादनमा वृद्धि गर्ने र नेपाली सामान निर्यात गर्नुपर्ने धारणा राख्नुभयो ।

देशमा भएका युवाशक्तिलाई विदेशी भूमिमा पठाउँदा देश विकासमा घाटा हुने धारणा राख्नुहुँदै मन्त्री श्रेष्ठले स्वदेशी उत्पादन वृद्धिमा हामीले ध्यान दिए देशको अर्थतन्त्र पनि बलियो हुने र युवा स्वरोजगार बन्न सहयोग पुग्ने बताउनुभयो ।

राजनीतिक स्थायित्व दिन सके देश विकास र समृद्धिको बाटोमा अघि बढ्ने उहाँको विश्वास थियो । उपप्रधानमन्त्री श्रेष्ठले देशमा सुशासनको समस्या देखापरेको भन्दै यस समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

नेपाल निर्यात परिषद्का अध्यक्ष रेशमबहादुर पोखरेलले नेपालमा उत्पादन भएका वस्तुको सरकारले अनुगमन तथा नियन्त्रण गर्नुपर्ने बताउनुभयो । नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष उर्मिला श्रेष्ठले नेपालले कृषि र जरीबुटीलागयत क्षेत्रलाई विशेष ध्यान दिएर वस्तु निर्यात गर्दा राम्रो हुने धारणा राख्नुभएको थियो । नेपाल हस्तकला महासङ्घका उपाध्यक्ष दीपेन्द्र शाक्यले स्थानीय व्यापारीलाई प्रोत्साहन गरी प्रदेश सरकार र स्थानीय सरकारले विशेष ध्यान दिएमा हस्तकलाका सामान उत्पादनमा वृद्धि हुने धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर