थारु समुदायको मुख्य पर्व माघीमा बाँकेका गाउँमा मेलाको तयारी तिब्र — OSNepal

थारु समुदायको मुख्य पर्व माघीमा बाँकेका गाउँमा मेलाको तयारी तिब्र

LC (KTM) January 08, 2023 0

बाँके-थारु समुदायको मुख्य पर्व माघीको अवसरमा बाँकेका गाउँ–गाउँमा माघी मेलाको तयारी गरिएको छ । राप्ती सोनारी गाउँपालिका–३ भुवर भवानी मन्दिर परिसरमा यही पुस २९ देखि आगामी माघको ४ गतेसम्म लाग्ने माघी मेलाको धमाधम तयारी भएको मूल आयोजक समितिका संयोजक सुरज परियारले जानकारी दिनुभयो ।
उहाँका अनुसार माघी मेलामा यस वर्ष राष्ट्रियस्तरका ख्याती प्राप्त थारु कलाकारको प्रस्तुतिसँगै थारु गाउँको पनि कक्ष रहने छ । यसवर्ष नयाँ अभ्यासका रुपमा थारु गाउँको छुट्टै कक्ष राखेर थारु गाउँ सञ्चालनमा ल्याउने तयारी भएको छ । मेलामा करिब पाँच सय कक्ष राखेर महोत्सवकै रुपमा लैजाने तयारी भएको स्थानीय कलाकार विश्वसागर परियारले जानकारी दिनुभयो ।

महोत्सवस्थलमा रहेको भुवरभवानी मन्दिर रङ्गरोगन, मैदान ममर्त र प्रदर्शनी कक्ष दर्ताको काम भइरहेको उहाँले बताउनुभयो । माघी पर्वका अवसरमा थारु गाउँमा सञ्चालन भएका माघी मेलामा भक्तजनको उल्लेख्य सहभागिता रहेको राप्तीसोनारी–३ का अगुवा तुलसीराम थारुले बताउनुभयो ।उहाँका अनुसार राप्तीसोनारी–३ बैजापुरस्थित भुवरभवानी मन्दिर परिसरमा प्रत्येक वर्ष माघी पर्वका अवसरमा लाग्ने माघी मेलामा बाँकेका साथै छिमेकी जिल्ला र भारतबाट समेत भक्तजन आउने गरेका छन् ।

“भुवरभवानी मन्दिर नेपाल र भारतमा प्रचलित भएकाले यसको अझ प्रचारप्रसार गर्नसके आस्थाको गन्तव्य बन्न सक्छ”, उहाँले भन्नुभयो, “धर्म र आस्थाको संरक्षणका लागि बाहिरी पर्यटन भित्र्याउन मेला सहयोगी बन्दै आएको छ ।” विसं २०१३ मा स्थापना भएको भुवरभवानी मन्दिरमा वर्षमा तीन पटक विशेष पूजासँगै लाग्ने मेलामा व्यापार व्यवसायका साथै मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुने गरेको मेलाका संरक्षक एव राप्तीसोनारी वडा नंं ३ का वडाध्यक्ष मिनकुमार थारुले बताउनुभयो ।

मेलामा थारू समुदायको कला संस्कृति झल्कने सांस्कृतिक प्रस्तुतिसमेत हुने गर्दछ । भुवरभवानी मन्दिरको ऐतिहासिक महत्व रहेको बताउँदै पुर्खौंदेखि लाग्दै आएको मेलाको महत्व अझै बढ्दै गएको उहाँको भनाइ छ । माघी पर्वका अवसरमा नेपालगञ्जमा पनि यही पुस २७ र २८ गते लुम्बिनी प्रदेशस्तरीय माघी महोत्सवको तयारी गरिएको छ ।

थारु कल्याण कारिणी नगरसभाको आयोजना र विभिन्न थारु सङ्घ संस्थाको समन्वयमा हुने कार्यक्रममा थारुको पहिचान झल्कने वेषभुषा र सांस्कृतिक झाँकी प्रदर्शनका साथै विविध सांस्कृतिक कार्यक्रम हुने थारु पत्रकार सङ्घ बाँकेका अध्यक्ष भगतराम थारुले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर