रामनगरका होटलमा अस्वस्थकर खाना — OSNepal

रामनगरका होटलमा अस्वस्थकर खाना

LC (KTM) March 12, 2023 0

चितवन-  नारायणगढ–मुग्लिन सडक खण्डको रामनगरका होटलमा खाना अस्वस्थकर भएको पाइएको छ। आकस्मिक रूपमा शुक्रबार राति जिल्ला प्रशासन, खाद्य गुणस्तर कार्यालय, प्रहरी र होटल व्यवसायीको संयुक्त टोलीले अनुगमन गर्दा चर्को शुल्क तर अस्वस्थकर खाना खुवाउने गरेको पाइएको हो।

चितवनको जुगेडी र रामनगर क्षेत्रमा सञ्चालनमा रहेका रात्रि खाना खुवाउने होटलमा अनुगमन गर्दा गुणस्तरीय खाना खुवाएको पाइएन, सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले बताउनुभयो। उहाँले भन्नुभयो, “गत वर्ष हामीले अनुगमन गरेका थियौँ, त्यस समयमा पनि यस्तै समस्या थियो। अहिले हेर्दा पनि उस्तै देखिएको छ। गत वर्ष जुगेडीको एउटा होटलमा अनुगमन गरेर चेतावनी दिएपछि अहिले सुधार भएको पायौँ, अन्यत्र अवस्था उस्तै छ।”

“जुगेडीका केही होटल र रामनगर क्षेत्रका केही होटलमा अनुगमन गर्दा रामनगर क्षेत्रमा समस्या धेरै भएको पाएका छौँ,” सहायक प्रमुख जिल्ला अधिकारीले शर्माले भन्नुभयो । जुगेडीको होटल नमस्ते नेपालमा म्याद गुज्रिएको पेय पदार्थ भेटिएको छ। सरसफाइ कायम नभएको र घरेलु तथा साना उद्योगमा दर्ता भएको प्रमाणपत्रको नवीकरणसमेत नभएको पाइएपछि प्रशासन कार्यालयमा उपस्थितिका लागि निर्देशन दिइएको छ।

जुगेडीकै श्रीनगर होटल एन्ड रेस्टुरेन्टमा खान अयोग्य मासु नष्ट गरिएको छ। यो होटलमा सादा खानाको मूल्य अत्यधिक लिएको पाइएको छ भने सरसफाइमा पहिलाको भन्दा केही सुधार देखिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो। “रामनगरको मिलीजुली होटलमा खाना खाएका यात्रुले बासी खाना खुवाएको गुनासो गरेका थिए। यात्रुलाई बासी खाना खुवाउने, सवारीचालक, सहचालकलाई ताजा खाना खुवाउने गरेको हामीले भेट्यौँ,” सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भन्नुभयो,” “यस्तो व्यवहार गर्न पाइँदैन, सबैलाई एकै प्रकारको खाना खुवाउनुपर्छ, त्यसैले कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छौँ।” गोर्खापत्रमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर