नारायणगढ–मुग्लिन सडकका नौवटा पुल सञ्चालनमा आउँदै — OSNepal

नारायणगढ–मुग्लिन सडकका नौवटा पुल सञ्चालनमा आउँदै

LC (KTM) March 17, 2023 0

भरतपुर-   सडकसँगै रहेका घर–टहराको क्षतिपूर्ति दिन मन्त्रिपरिषद् बैठकले बजेट व्यवस्था गरेसँगै नारायणगढ–मुग्लिन सडकका नौवटा पुल सञ्चालन तयारी भइरहेको छ। निर्माण सम्पन्न भएर पनि सञ्चालनमा ल्याउन नसकिएका यी पुलका लागि बजेट व्यवस्था भएसँगै सञ्चालन तयारी गरिएको नागढुङ्गा–मुग्लिन सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यले जानकारी दिनुभयो। उहाँले सरकारले सडक क्षेत्रभित्रका घर–टहराको क्षतिपूर्ति दिने गरी बजेट व्यवस्था गरेको जानकारी दिँदै प्रक्रिया मिलाएर अब पुल सञ्चालनमा ल्याइने बताउनुभयो।

उहाँका अनुसार गत मङ्गलबारको मन्त्रिपरिषद् बैठकको निर्णयले घर–टहराको क्षतिपूर्ति दिन बजेट व्यवस्था गरेको छ। अब अर्थ मन्त्रालयबाट प्रक्रिया मिलाएर बजेट निकासा भएसँगै निर्माण सम्पन्न भएका पुल सञ्चालनमा ल्याइनेछन्।

क्षतिपूर्तिका लागि बजेट नहुँदा झन्डै एक वर्षदेखि निर्माण सम्पन्न भएका नौवटा पुल सञ्चालनमा आउन सकेका थिएनन्। यससम्बधी समाचार गत असार ३१ गतेको गोरखापत्र दैनिकमा प्रकाशित भएको थियो। क्षतिपूर्तिका लागि मन्त्रिपरिषद् बैठकले एक करोड रुपियाँ उपलब्ध गराउने निर्णय गरेको उहाँले जनाउनुभयो।

विश्व बैङ्कको ऋण सहयोगमा निर्माण भएका ती पुल नजिकै सडकमा जोडिएका घर–टहरालाई नेपाल सरकारले क्षतिपूर्ति दिनुपर्ने हो तर पुल निर्माण सम्पन्न हुने बेलासम्म पनि बजेट निकासा नहुँदा समस्या भएको थियो। नारायणगढ–मुग्लिन सडकमा अहिले थप छवटा पुल निर्माण भइरहेको छ। सरकारले क्षतिपूर्ति उपलब्ध गराएपछि निर्माण सम्पन्न पुल सडक विभागलाई हस्तान्तरण गरेर सञ्चालनमा ल्याइने भएको छ।

अहिले पुलवरपर रहेका २५ वटा घर–टहराधनीलाई क्षतिपूर्ति दिन एक करोड १८ लाख रुपियाँ आवश्यक थियो। निकासा भएको एक करोड रुपियाँले पनि क्षतिपूर्तिका लागि नयाँ मापदण्डअनुसार पूरा गर्न सकिने भएको छ। नारायणगढ–मुग्लिन सडक पुनर्निर्माण सकिएको दुई वर्र्षपछि मात्रै २०७७ असारबाट १५ वटा पुल निर्माण प्रक्रिया सुरु भएको हो।

सडक विस्तारसँग पुल निर्माण गर्नुपर्ने भए पनि विभिन्न कानुनी अन्योलका कारण पुल निर्माण सुरु गर्नमा ढिलाइ भएको थियो। सरकारले पुल निर्माणका लागि कानुनी अड्चन फुकाएर २०७६ चैत १० गते पुल ठेक्का सम्झौता गरेको थियो।

निर्माण भएका पुलको चौडाइ नौदेखि ११ मिटरसम्मका छन्। एक अर्ब २७ करोड पाँच लाख रुपियाँमा ठेक्का सम्झौता भई निर्माण भइरहेका १५ पुलमध्ये नौवटा सम्पन्न भए पनि सञ्चालनमा ल्याउन नपाउँदा सडक सञ्चालनमै समस्या छ। नारायणगढदेखि मुग्लिनसम्मको झन्डै ३६ किलोमिटर सडकमा रहेका १९ वटा पुलमध्ये चारवटाको भने यसअघि नै निर्माण सम्पन्न भई सडक विभागलाई हस्तान्तरण गरेर सञ्चालनमा ल्याइसकिएको छ।

सन् २०१५ को अप्रिलमा सम्झौता भई चार वर्ष पुनर्निर्माण सकिएको नारायणगढ–मुग्लिन सडक दुई लेनको विस्तार भइसकेको छ। यो सडक पुनर्निर्माणका लागि विश्व बैङ्कले तीन अर्ब ३६ करोड रुपियाँ खर्च गरेको थियो । गोर्खापत्रमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर