किसानलाई गहुँ भित्र्याउने चटारो, उत्पादन बढ्ने अनुमान — OSNepal

किसानलाई गहुँ भित्र्याउने चटारो, उत्पादन बढ्ने अनुमान

LC (KTM) April 09, 2023 0

बेदकोट-कञ्चनपुरका किसानलाई गहुँ भित्र्याउने चटारो छ । कोही पाकेको गहुँ काट्नमा व्यस्त छन् भने कोही चुटाइमा । भीमदत्त नगरपालिका–१३ का गङ्गादत्त भट्ट केही दिनयता खेतखलियानमै व्यस्त हुनुहुन्छ । उहाँले एक बिगाह जमिनमा गहुँ खेती गर्नुभएको छ । “गहुँ पाकिसक्यो, अचेल कटाइ चलेको छ”, उहाँले भन्नुभयो, “अब गहुँ आधा काट्न बाँकी छ, हामी घरपरिवारसहित छिमेकीहरु गहुँ काट्नमै लागेका छौँ ।”

बेदकोट नगरपालिका–४ का रामेश्वर बोहराले गहुँ कटाइ गरिसक्नुभएको छ । उहाँ गहुँ चुट्नका लागि ट्र्याक्टरको पर्खाइमा हुनुहुन्छ । “केही वर्षयता हामी ट्र्याक्टरले नै गहुँ चुट्ने गर्छौँ, गाउँमा जताजतै गहुँ चुटाइ चलेकाले ट्र्याक्टर पाउनै गाह्रो छ”, उहाँले भन्नुभयो, “दुई÷तीन भयो, ट्र्याक्टर पाएको छैन ।”

यसपटक गहुँ राम्रो फलेको लालझाडी गाउँपालिका–३ का धर्मसिंह बडायकले बताउनुभयो । उहाँले भन्नुभयो, “गहुँको बाला राम्रै छ, उत्पादन विगतभन्दा राम्रै हुने अनुमान गरेका छौँ ।”

जिल्लाका अधिकांश किसान गहुँ भित्र्याउन व्यस्त रहेका छन् । अहिलेसम्म करिब २० प्रतिशत गहुँ चुटाइ सकिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी हरि जोशीले बताउनुभयो । “अहिले गहुँ भित्र्याउने समय हो, किसान खेतमै व्यस्त छन्”, उहाँले भन्नुभयो, “अहिलेसम्म करिब २० प्रतिशत गहुँ चुटाइ सकिएको छ ।”

यसपटक कञ्चनपुरमा गहुँको उत्पादन बढ्ने अनुमान गरिएको छ । समयमै खेती, सिँचाइ र उन्नत बीउबिजनको प्रयोगले यसपटक गहुँको उत्पादन बढ्ने अनुमान रहेको सूचना अधिकारी जोशीले बताउनुभयो ।

“यसपटक तुसारो पनि परेन, बालीलाई त्यस्तो क्षति गरेको छैन”, उहाँले भन्नुभयो, “समयमै सिँचाइ र उन्नत बीउको प्रयोग भएकाले यसपटक उत्पादन बढ्ने अनुमान गरेका छौँ ।”

यस वर्ष तीनदेखि साढे तीन मेट्रिक टन प्रतिहेक्टर गहुँ उत्पादन हुने कृषि ज्ञान केन्द्रको अनुमान छ । कञ्चनपुरमा ३१ हजार दुई सय १० हेक्टर जमिनमा गहुँ खेती हुने गरेको छ ।

गत वर्षको औसत उत्पादन तीन मेट्रिक टन प्रतिहेक्टर रहेको थियो । गत वर्ष ९४ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो । कञ्चनपुरको भीमदत्त, बेदकोट, दोधारा चाँदनी, शुक्लाफाँटा, कृष्णपुर, बेलडाँडी, बेलौरी, पुनर्वास र लालझाडीमा गहुँ खेती हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर