प्राचीनकालदेखि हुँदै आएको वाग्मती तीर्थयात्रा चार वर्षदेखि रोकियो — OSNepal

प्राचीनकालदेखि हुँदै आएको वाग्मती तीर्थयात्रा चार वर्षदेखि रोकियो

LC (KTM) April 25, 2023 0

काठमाडौँ-काठमाडौँ उपत्यकाको सभ्यताको स्रोतका रुपमा रहेको वाग्मती नदीको महत्व जनमानसमा उजागर गर्दै यसको पवित्रताका बारेमा चेतना जगाउन प्राचीनकालदेखि हुँदै आएको वाग्मती तीर्थयात्रा चार वर्षदेखि हुन सकेको छैन । प्रत्येक वर्ष वैशाख शुक्ल पक्षमा गरिने वाग्मती तीर्थयात्रा यसवर्ष पनि नहुने भएको हो । विसं २०७७÷२०७८ मा कोरोना सङ्क्रमण तीव्र भएकाले यात्रा स्थगित गरिएको थियो । गत वर्ष २०७९ सालमा पनि तीर्थ गुरु बिरामी भएको भन्दलै वाग्मती तीर्थ यात्रा स्थागित गरिएको थियो ।

प्रत्येक वर्ष वैशाख शुक्लपक्षमा गरिने यो यात्रा तीर्थ गुरुका रुपमा रहनुभएका आगमघरका भट्टको स्वास्थ्य अवस्था बिग्रिएकाले गरिएको थिएन । पशुपति क्षेत्र विकास कोषले गतवर्ष पनि उहाँको स्वास्थ्य अवस्था सुध्रिएमा जात्रा चलाउन सकिने जनाएको थियो । गतवर्ष वैशाख शुक्ल पक्षभर उहाँको स्वास्थ्य अवस्थामा सुधार आउन नसकेकाले जात्रा हुन नसकेको हो ।

यसवर्ष पनि उहाँको स्वास्थ्य अवस्था नसुध्रिएकाले जात्रा गर्न नसकिएको कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । तीर्थयात्राको नेतृत्व गर्नुहुने पशुपतिनाथको आगमघरका भट्ट मदन भट्ट गत वर्षदेखि नै बिरामी पर्नुभएको कोषले जनाएको छ । यात्राका क्रममा मसान सिद्धिको दीक्षा अरुलाई नदिइएकाले यसवर्ष पनि यात्रा स्थागित गर्नुपरेको कोषका कर्मचारीसमेत रहनुभई हाल पशुपति क्षेत्रका जात्राका बारेमा विद्यावारिधि शोध गरिरहनुभएका वरुण खतिवडाले जानकारी दिनुभयो ।
आगमघरका पूजारी मदन भट्टले छोरा महेश भट्टलाई अरु दीक्षा दिनुभए पनि मसान सिद्धिको दीक्षा दिन बाँकी रहेको जनाइएको छ । ‘ने’ मुनिले सुरु गर्नुभएको विश्वास गरिने वाग्मती तीर्थ यात्रा वाग्मती प्रदूषित हुन थालेपछि विसं २०३५ देखि २०७४ सम्म बन्द भएको थियो । कोषका तत्कालीन सदस्य सचिव डा प्रदीप ढकालको विशेष पहलमा विसं २०७५ देखि तीर्थ यात्रा पुनः सुरु भएको हो । करिब ४० वर्षपछि २०७५ सालमा सुरु भएर दुईवर्ष चलेको वाग्मती तीर्थयात्रा नभएको चार भइसकेको छ ।
तीर्थ यात्राका क्रममा कटुवालदहबाट वाग्द्वारसम्मका १६७ तीर्थस्थलमा स्नान, पूजा, आरती, दर्शन, तान्त्रिक साधना, वाग्मती माहात्म्य वाचनलगायत कर्म गरिन्छ । यस्तो यात्राले वाग्मतीको शुद्धीकरणका लागि पनि सहयोग गर्ने विश्वास गरिन्छ । ४० वर्षपछि यात्रा सुरु गर्दा नदीलाई सफा बनाउन जागरण फैल्याउने उद्देश्यसमेत राखिएको थियो । मसान सिद्धिको दीक्षा अरुलाई नदिएकाले अहिले यात्रा गर्न नसकिएको कोष सञ्चालक परिषद्का सदस्य एवं धार्मिक कार्यक्रम जात्रा, पर्व मेला एवम् स्थानीय सरोकार अनुगमन उपसमितिका संयोजक संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोला बताउनुहुन्छ । अर्को वर्षका लागि भने दीक्षालगायत प्राविधिक समस्या नआउने गरी अहिलेदेखि नै तयारी गरिने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।
कोष अन्तर्गतका रैरकमीको पदपूर्ति गर्नुपर्ने कारणले पनि वाग्मती तीर्थयात्रा रोकिएको जनाइएको छ । कोषमा हाल २० जना रैरकमीको पदपूर्ति गर्नुपर्ने छ । यसका लागि परिषद् सदस्य बाँस्तोलाको संयोजकत्वमा समिति गठन भई काम भइरहेको जनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री अध्यक्ष रहेको कोष सञ्चालक परिषद्को आगामी बैठकले यससम्बन्धी निर्णय गर्ने अपेक्षा गरिएको छ ।
पशुपति क्षेत्रमा सनातनदेखि सञ्चालन हुँदै आएका केही जात्रा, पर्व एवं धार्मिक कृत्य बन्द भएकामा त्यसको पुनःस्थापनाका लागि पनि संस्कृति संरक्षण महाशाखाले काम गर्ने जानकारी गराइएको छ । कोषको पहलमा विसं २०५८ देखि हुननसकेको वनकाली यात्रा यसवर्ष भएको छ ।

वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिन वनकालीयात्रा सम्पन्न गरिएको अनुसन्धाता खतिवडाले बताउनुभयो । खतिवडाले विसं २०७५ र २०७६ मा वाग्मती तीर्थयात्राको कर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । खतिवडा पनि हाल बाबुको बरखीका कारण यात्रामा निस्कन नसक्ने अवस्थामा रहेको जनाइएको छ । काठमाडौँ उपत्यकाभित्रका वाग्मती किनारका सबै तीर्थमा पैदल हिँडेर गरिने यो तीर्थ यात्राको मौलिकता हराउनु नहुने भन्दै संस्कृतिप्रेमीले माग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर