ट्राफिक कार्यालय सिरहाको राजस्व तीन करोड ८४ लाख ,अघिल्लो वर्षको तुलनामा वृद्धि — OSNepal

ट्राफिक कार्यालय सिरहाको राजस्व तीन करोड ८४ लाख ,अघिल्लो वर्षको तुलनामा वृद्धि

LC (KTM) August 02, 2023 0

सिरहा-आर्थिक वर्ष २०७९/८० मा सिरहाको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले २० प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक कार्यलय प्रमुख मीनबहादुर बस्नेतले दिनुभएको जानकारीअनुसार गत आर्थिक वर्षमा कूल राजस्व सङ्कलन रु तीन करोड ८४ लाख पाँच सय रहेको छ भने आर्थिक अघिल्लो वर्षमा रु तीन करोड १७ लाख ६२ हजार पाँच सय मात्र रहेको थियो । यो रकम अघिल्लो आवको तुलनामा रु ६६ लाख ३८ हजारले बढी हो ।

पूर्वपश्चिम महेन्द्र राजमार्ग तथा अन्य सहायक मार्गमा ट्राफिक जाँच बढाएकाले ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारी साधनमाथि कारबाही गरी अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढी राजस्व सङ्कलन भएको बस्नेतले बताउनुभयो । उहाँका अनुसार ट्राफिक प्रहरीले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

“अघिल्लो वर्षको तुलनामा गत वर्ष हामीले सवारी साधनको नियमित जाँच, कारबाही र अनुगमन बढाइएकाले यो राजस्व सङ्कलन गर्न सफल भएका हौँ”, बस्नेतले भन्नुभयो, “आगामी दिनमा पनि ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिइनेछ । हामीले ट्राफिक सचेतनाका कार्यक्रम गत वर्षमा बढी नै गरेकाले सवारी दुुर्घटनामा पनि कमि आउने अपेक्षा गरेका छौँ ।”

ट्राफिक कार्यालयका अनुसार गत आवमा ट्राफिक नियम उल्लङ्घन गरी चलाउने ५९ हजार चार सय ३५ सवारी साधनमाथि कारबाही गरिएको छ । त्यसैगरी छ सय ७८ सवारी दुर्घटनामा ६६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै सवारी दुर्घटना न्यूनीकरणको लागि ट्राफिक जनचेतनाका कूल पाँच सय २७ कार्यक्रम गरिएका छन् जुन अघिल्लो आवको तुलनामा दुई सय प्रतिशतभन्दा बढी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर