माओवादी केन्द्रद्वारा आइसिटी फोरमको गठन, प्रचण्डले गरे रिमोट थिचेर उद्घाटन — OSNepal

माओवादी केन्द्रद्वारा आइसिटी फोरमको गठन, प्रचण्डले गरे रिमोट थिचेर उद्घाटन

LC (KTM) August 27, 2023 0

काठमाडौँ, १० भदौ : नेकपा (माओवादी केन्द्र)ले आइसिटी फोरम गठन गरेको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिमोट थिचेर आइसिटी फोरमको विधान खोलेर उद्घाटन गर्नुभयो ।

अध्यक्ष प्रचण्डले पछिल्लो समय हल्लाकै भरमा सङ्गठन बनाउने प्रवृत्ति देखिएको भन्दै सकारात्मक काममार्फत पार्टीलाई जनतामा स्थापित गर्ने उद्देश्यले फोरम गठन गरिएको बताउनुभयो । “यो सूचना प्रविधिको युग हो, यसको महत्व हामी सबैले बुझ्न जरुरी छ”, उहाँले भन्नुभयो, “राजनीतिक दल सफल बनाउनका लागि पनि सूचना प्रविधिको प्रयोग अपरिहार्य बनेको छ ।”

पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकको निर्णयअनुसार आइसिटी फोरम गठनको निर्णय भएको जानकारी दिनुहुँदै अध्यक्ष प्रचण्डले फोरम ‘ग्रास रुट’सम्म विस्तार गर्न निर्देशन दिनुभयो । उहाँले समाजवादको आधार तय गर्नका लागि जनतासम्म पुग्ने गरी काम गर्न पनि निर्देश गर्नुभयो ।

“फोरमले पार्टीका नीति, विचार र कामलाई प्रचारप्रसार गरी जनतामाझ पु¥याउन सहयोग गर्नेछ”, उहाँले भन्नुभयो, “फोरम गठनले हल्लाकै भरमा सङ्गठन बनाउने परम्परा तोड्दै विचार, सिद्धान्त र नीतिलाई जनतामा स्थापित गर्नेछ ।” पार्टीको तीन महिने अभियान सफल बनाउन सूचना प्रविधिको प्रयोगमा जोड नवगठित फोरमलाई निर्देशन दिनुभयो । सूचना प्रविधिलाई पार्टीले जुन किसिमको महत्व दिएको छ सोहीअनुरुप काम गर्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रम संयोजक माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द आचार्य आइसिटी फोरमको केन्द्रीय तदर्थ समिति गठन गरिने समेत जानकारी दिनुभयो । कार्यक्रममा अध्यक्ष प्रचण्ड, पार्टीका उपाध्यक्ष एंव प्रवक्ता अग्नि सापकोटा, जनवर्गीय सङ्गठन इन्चार्ज पम्फा भुसाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालागायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर