१५ लाखभन्दा बढीको नक्कली नोटसहित दुई जना पक्राउ — OSNepal

१५ लाखभन्दा बढीको नक्कली नोटसहित दुई जना पक्राउ

LC (KTM) September 23, 2023 0

इनरुवा- : सुनसरीको इटहरी उपमहानगरपालिकाबाट १५ लाख रुपैयाँभन्दा बढीको नक्कली नेपाली नोटसहित पक्राउ परेका दुई जनालाई शुक्रबार सार्वजनीक गरिएको छ । पक्राउ पर्नेमा सङ्खुवासभा पाँचखपन नगरपालिका–५ का विवेक राई र सोही जिल्ला मकालु गाउँपालिका–६ का अजय राई रहेको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो ।

पक्राउ परेकाको साथबाट प्रहरीले एक हजार दरका १५ लाख ८७ हजार रुपैयाँ नक्कली नोटसहित तीन थान मोबाइल बरामद गरेको उहाँले जानकारी दिनुभयो । पक्राउ परेका दुई जनाले काठमाडौँबाट नक्कली नोट छपाई गरी पूर्वी बजारमा ल्याएको प्रहरीको भनाइ छ । पक्राउ परेको नक्कली नोट जाँचका लागि फरेन्सीक ल्याबमा पठाइएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो ।

इटहरी बजारमा नक्कली नोटको कारोबार भएको गोप्य सूचनाको आधारमा इटहरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । चाडपर्व नजिकिँदै गर्दा नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ । गिरोहमा सङ्लग्न रहेका अन्य व्यक्तिको खोजी तथा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।

पक्राउ परेकाको बयानको आधारमा प्रहरीले अर्का एक जनालाई शुक्रबार बिहान काठमाडौँबाट पक्राउ गरेको छ । यसअघि पनि भारतीय सीमावर्ती क्षेत्रका जिल्ला झापा, मोरङ र सुनसरीका विभिन्न ठाउँमा पाँच सय र एक हजार रुपैयाँका नक्कली नोट फेला परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर