जुम्लामा ८४ हजार भेडा — OSNepal

जुम्लामा ८४ हजार भेडा

LC (KTM) April 05, 2024 0

जुम्ला, २३ चैत ः पछिल्लो समयमा जुम्लाका स्थानीय भेडा पालनमा आकर्षण हुन थालेका छन् । बजारमा भेडाको माग बढ्न थालेपछि स्थानीय भेडा पालनमा आकर्षित भएका हुन् ।

जिल्लास्थित पशु अस्पताल तथा पशुसेवा कार्यालयको तथ्याङ्कअनुसार जिल्लाभर अहिले ८४ हजार तीन सय ८८ भेडा छन् । बाख्राको सङ्ख्या ४६ हजार तीन सय छ रहेका कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले जानकारी दिनुभयो । पाँच वर्षअघि भेडापालनको सङ्ख्या घटेको भन्दै अहिले उक्त सङ्ख्या बढ्दै गएको उहाँको भनाइ छ ।

“भेडापालनमा प्रमुख समस्या भनेको विभिन्न तहले चरन क्षेत्रमा कर लगाउन थालेपछि किसानलाई सास्ती भएसँगै सङ्ख्या घट्दै गएको थियो”, प्रमुख बुढ्थापाले भन्नुभयो, “पहिले यहाँका भेडालाई अछाम, जाजरकोट, कालीकोट, दैलेख, सुर्खेत र दाङसम्म लैजान्थे तर कर लिने गरेका थिएनन् ।” अहिले सङ्घीय, प्रदेश र स्थानीय सरकार भएकाले विभिन्न तहले चरन क्षेत्रमा कर लगाउन थालेपछि भेडा पालक किसान मारमा परेका उहाँको भनाइ छ ।

कार्यालय प्रमुख बुढ्थापाले यहाँ चरन क्षेत्रको कुनै समस्या नभएको भन्दै जिल्लामा ६९ हजार हेक्टर चरन क्षेत्र रहेको जानकारी दिनुभयो । कार्यालयबाट भेडा पालक किसानलाई विभिन्न किसिमका सीपमूलक तथा प्राविधित तालिम दिँदै आइएको उहाँले बताउनुभयो ।

अहिले किसानसँग पशुपालनका नाममा तथा एक पालिबाट अर्को पालिकामा लैजाँदा कर उठाउने गरेकाले समस्या भएको भन्दै किसानको उक्त समस्या समाधान भए भेडापालन अझ फस्टाउँदै जाने कार्यालय प्रमुख बुढ्थापाले बताउनुभयो ।

केही वर्षपहिला यहाँका स्थानीयले घरमा चामल र नुन ल्याउन सुर्खेतबाट जुम्लासम्म भेडाबाट ल्याउने गरेका तिला गाउँपालिका–१ का भेडा पालक किसान लालबहादुर रावतले बताउनुभयो । “अहिले समय परिवर्तन भएको छ । उहीँले एक महिना लगाएर तराईबाट भेडामार्फत खाद्यन्न सामग्रीको दुवानी हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले विकासका पूर्वाधार विस्तार भएसँगै ग्रामीण भेगसम्म सडक निर्माण भएका छन् । यातायातका साधन पुगेका छन् । यसले भेडाको माग बढ्नुका साथै ढुवानीमा सहज बनाएको छ ।”

अहिले भेडामार्फत खाद्यन्न तथा उपभाग्य सामग्री ढुवानी हुन छोडेको स्थानीय बताउँछन् । भेडाको ऊन राडी, पाखी, कोट, कपडा बुन्न प्रयोग हुँदै आएको पशु अस्पताल तथा पशुसेवा कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर