‘जापानिज फुड कल्चर’ लाई नेपालभर विस्तार गरिने — OSNepal

‘जापानिज फुड कल्चर’ लाई नेपालभर विस्तार गरिने

LC (KTM) April 05, 2024 0

काठमाडौँ, २३ चैत : होक्काइडो नेपाल बिजनेस गुप्र (एचएनबिजी) ले ‘जापानिज फुड कल्चर’ लाई नेपालभर विस्तार गर्ने भएको छ । एचएनबिजीले आज पत्रकार सम्मेलन गरी जापानी लगानी, प्रविधि र सीपलाई नेपालमा भित्र्याएर आमनेपालीलाई स्वस्थकर र गुणस्तरीय जापानी खाना खुवाउने उद्देश्यले ‘जापानिज फुड कल्चर’ लाई देशभर विस्तार गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै एचएनबिजीका अध्यक्ष अर्जुन अधिकारीले समृद्ध मुलुक निर्माणका लागि विदेशमा सिकेको ज्ञान, सीप र क्षमतालाई स्वदेशमा प्रयोग गर्न होक्काइडो नेपाल बिजनेस ग्रुपले काम गरिरहेको बताउनुभयो । “देशको समृद्धिका लागि नागरिकलाई पहिला उत्पादनसँग जोड्नुपर्छ भनेर यो गुप्रले काम गरिरहेको छ”, उहाँले भन्नुभयो ।

उहाँले उत्पादनलाई गुणस्तरीय बनाउनका लागि विदेशी प्रविधि, लगानी र सीप भित्र्याउने उल्लेख गर्नुभयो । “पहिला उत्पादनलाई केन्द्रित गर्छाैँ, अनि गुणस्तरीय उत्पादनका लागि सफल प्रविधि र सीपसँगै लगानी भित्र्याउँछौँ”, अध्यक्ष अधिकारीले भन्नुभयो ।

सन् २०१९ देखि नेपाली रेष्टुरेण्ट क्षेत्रमा जापानिज फुड कल्चरलाई प्रवेश गराएको उक्त गुप्रले हाल काठमाडौँका विभिन्न सात स्थानमा जापानिज रेष्टुरेण्ट सञ्चालन गरिरहेको छ । जापानमा आर्जन गरेको व्यावसायिक अनुभवलाई उपयोग गर्दै रेष्टुरेण्ट क्षेत्रमा लगानी र रोजगारी सृजनाको सङ्कल्प गरिएको उहाँले बताउनुभयो ।

रेष्टुरेण्टलाई आवश्यक पर्ने कच्चा पदार्थको उत्पादनका लागि उक्त गुप्रले रुपन्देहीको भैरहवामा देक्काइदो एग्रो फार्मसमेत सञ्चालनमा ल्याएको गुप्रका कार्यकारी निर्देशक खेम शर्माले बताउनुभयो । उहाँले नेपालको पर्यटन प्रवर्द्धनमा जापानिज फुड कल्चरले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्र्नुभयो । विगत चार वर्षदेखि नेपालको रेष्टुरेण्ट क्षेत्रमा सक्रिय उक्त समूहले एक सय ७० जनालाई रोजगारसमेत प्रदान गरेको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर